दोलखा/दोलखाको शैलुङ क्षेत्रमा पनि यार्सागुम्बा भेटिएको छ । तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङ क्षेत्रमा केही बर्षदेखि यार्सागुम्बा भेटिएको स्थानीय दिपेश श्रेष्ठले बताए ।
यहाँका स्थानीयले केही बर्षदेखि यार्सागुम्बा सङ्कलन गर्दै आएका छन्, दिपेशले भने– तर अन्य हिमाली जिल्लामा जस्तो यसको बिक्रि वितरण गर्ने र हुल बाँधेर यार्सागुम्बा टिप्न जाने प्रचलन यता देखिदैन ।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ महादेवथान सामुदायीक बन, मेलुङ गाँउपालिकाको वडा नम्बर ३ जुरेढुङ्गा र रामेछाप जिल्लाको शैलुङ दोरम्बा गाँउपालिका वडा नम्बर १ र ४ को खोलाखर्क, पानीचौरमा पर्ने शैलुङ क्षेत्रमा यार्सागुम्बा भेटिएको स्थानीयले बताएका छन् । शैलुङ क्षेत्रमा भेटिएको यार्सागुम्बा धेरै ठूलो र मोटो आकारको नभएकोले पनि यो व्यवसायीक कारोबारको लागि सङ्कलन नगरिएको स्थानीय बताउछन् ।
बिशेषगरी तीन देखी छ हजार मिटरको उँचाईमा यार्सागुम्बा भेटिने गरेको छ । बैशाख, जेठ र असारमा यसको सङ्कलन हुने गरेको स्थानीय बताउछन् । शैलुङ क्षेत्रमा गत बर्ष र यो बर्ष केही संख्यामा यार्सागुम्बा सङ्कलन गरिएको स्थानीय दिपेश श्रेष्ठले बताए । सङ्कलित यार्सागुम्बा स्थानीयले आफै प्रयोग गरेको दिपेशको भनाई छ ।
नेपाल र तिब्बतको हिमाली क्षेत्रमा पाईने यार्सागुम्बा एक प्रकारको झुसिलिकिराको टाउकोमा ढुसी उम्रीएर बन्ने यसका विज्ञहरु बताउछन् । तिब्बती भाषामा यसलाई र्याचागुन्बु भनिने र त्यहि अपभ्रम्स भै नेपालीमा यार्सागुम्बा भएको भनाई छ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ जसलाई यार्सागुम्बा भनिने विज्ञहरु बताउछन् । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुने बताईन्छ । यार्सागुम्बामा वनस्पति र जीव दुबै हुने र यो कहिल्यै नमर्ने विज्ञहरुको भनाई छ ।
गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने दोलखाकै लामाबगर र रोल्वालिङ क्षेत्रबाट समेत यार्सागुम्बा सङ्कलन हुने गरेको छ । यो क्षेत्रबाट ०६८÷०६९ मा ८६ केजी, ०७२÷०७३ मा ३४ केजी, ०७४÷०७५ मा ३९ केजी र ०७७÷०७८ मा १० केजी यार्सागुम्बा सङ्कल भएको तथ्याङ्क रहेको गौरीशङ्कर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसिप्रसाद दहालले बताए ।
प्रतिक्रिया दिनुहोस्