अर्थ र ब्यापारकृषि र सहकारीमुख्य समाचारसमाचार

गाँउमा बाँदर आतङ्क- आँखा जुधाउदा रिसाउछन्

दोलखा/पछिल्ला केही बर्ष यता बाँदर आतङ्कबाट दोलखाका किसानहरु प्रताडित बन्दै आएका छन् । लगाएको बालि नष्ट गर्नेमात्र हैन मानिसलाईनै आक्रमण गर्ने तहमा बाँदरका हुल घर केरेसामै छिर्न थालेपछि समस्या चुलिदै गएको दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ साखल्पुका किसान दिलबहादुर आचार्यको गुनासो छ ।
पाक्न ठिक्क भएको मकै बाँदरबाट जोगाउन हरेक दिन सखारै गौडा रुघ्न बनाईएको टहरामा धर्ना कस्ने गरेका दिलबहादुर असार– साउन र माघ– चैत्रमा दिनभरी घरमा बस्ने फुर्सद नपाईने बताउछन् । असार– साउनमा मकै जोगाउन र माघ– चैत्र आलु जोगाउन बाँदर हिड्ने गौडामा धर्ना कस्नैपर्ने दिलबहादुरको भनाई छ ।
अरु बेला धर्नै दिनुपर्ने हुदैन तर मकै र आलुलाई बाँदरले निक्कै क्षति पु¥याउने भएकोले धर्ना दिनुको बिकल्प छैन– दिलबहादुरले भने । अझ बाँदले महिलाहरुलाई घर करेसामै आएर आक्रमणनै गर्न थालेपछि थप समस्या भएको दिलबहादुरको भनाई छ ।
कालिञ्चोक वडा नम्बर ८ कै गोपीनी सार्कीको दिनचर्या पनि दिनभरी बाँदर रुघेरै वित्ने गरेको छ । तर उनी पुरुषले जसरी ढुक्कले बाँदर रुघ्न समेत सक्दिनन् । पुरुषलाई त बाँदरले अहिलेसम्म भौतिक आक्रमण गरिहालेको छैन गोपीनीले भनिन्– हामी महिलालाई त खालीहात देख्यो भने भौतिक आक्रमणमै उत्रने भएकोले लौरो बोकेरमात्र गौडा पुग्नुपर्छ ।
कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ साखल्पु क्षेत्रमामात्र दुईसय बढी बाँदर रहेको स्थानीयको भनाई छ । बाँदरले मकै र आलुको अलवा गहुँ, फापर, कोदो, धान लगायतका बालिमा समेत क्षति पु¥याउने स्थानीय कृष्ण खड्काले बताए । अहिले वडा नम्बर ८ को डेढ– दुई सय घरका स्थानीयको दिनचर्या बाँदर रुघेरै वित्ने गरेको कृष्ण खड्का बताउछन् ।
बाँदरबाट बालिनालीमा हुने नोक्सानी र आक्रमक रुपमा मानिस माथिनै जाईलाग्ने बाँदरको स्वभावबाट पीडित समुदाय दोलखाको एउटा गाँउमामात्र नभै नेपाल र भारतको धेरै ठाँउमा ठूलो समस्याको रुपमा देखिएको वन विज्ञान अध्यन संस्थान हेटौडाको जीवविज्ञान विभागका उपप्राध्यापक बिष्णुप्रसाद पाण्डे बताउछन् ।
चितुवाको संख्यामा कमि आएपछि बाँदरको संख्या बढ्दै गएको र उनीहरुलाई खानेकुराको समस्या भएर गाँउ नजिक पस्न थालेको उपप्राध्यापक पाण्डेको भनाई छ । बाँदरलाई देखेपछि मानिसले उसको अनुहारमा हेर्ने भएकोले उनीहरु बढी आक्रामक बनेको उपप्राध्यापक पाण्डे बताउछन् ।
बाँदर आफ्नो अनुहारमा कसैले हेरेको रुचाउदैनन्, मानिसले डरले वा अरुकुनै कारणले बाँदरको अनुहारमा हेर्न थालेपछि उनीहरु आक्रामक बन्छन् र भौतिक आक्रमणमा उत्रन्छन्– उपप्राध्यापक पाण्डेले भने । बाँदरले यस्तो अवस्थामा कम्जोर मानिसलाई बढी आक्रमण गर्ने र उसको बुझाई महिलाहरु कम्जोर हुन्छन् भन्ने भएकोले महिलाहरु बाँदरको आक्रमणमा बढी पर्ने गरेको पाण्डेको बुझाई छ ।
बाँदरबाट बाली जोगाउन र मानिस जोगिन उसको प्रतिकुल बालि लगाउने, बाँदरको अगाडि परेर आँखा नजुधाउने र बाँदरको संख्या नियन्त्रणको बैज्ञानिक उपाए खोज्नेमात्र विकल्प देखिएको सरोकारवालाहरु बताउछन् ।

सम्बन्धित समाचार