दोलखा/बागमति प्रदेश प्रहरी कार्यालयको प्रमुख डिआईजी किरण राणाले प्रहरी संख्याको कमीका कारण दरबन्दी अनुसार प्रहरी पठाउन समस्या रहेको बताउनु भएको छ ।
जिल्ला भ्रमणको क्रममा दोलखा आउनु भएका डिआईजी राणासंग भएको सुरक्षात्मक अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाले उठाएका विषयहरुको जवाफ दिनुहुदै राणाले सबैको सहयोग र सहकार्यकै कारण शान्ति सुरक्षा कायम राख्ने कुरामा प्रहरी सफल भै रहेको बताउनु भयो । डिआईजी राणाले प्रहरी संख्या थप भै रहेकोले चाँडैनै आवश्यकता अनुसार जिल्ला, इलाका तथा पोष्टहरुमा प्रहरी पठाईने बताउनु भयो ।
अहिले साईबर अपराध मुख्य चुनौती रहेको उल्लेख गर्नुहुदै डिआईजी राणाले जिल्ला तहमा समेत साईबर युनिट राख्न सके त्यसको नियन्त्रणको लागि महत्वपूर्ण हुने बताउनु भयो । त्यसको लागि आफ्नो तहबाट सम्भव रहेसम्मको प्रयत्न गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नु भएको छ ।
सहभागिहरुले उठाएका बिभिन्न विषयको बारेमा प्रदेश प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, राप्रपा दाेलखाका अध्यक्ष राजनबहादुर शिबाकाेटी, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दिपक खड्का, पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्