धर्म/संस्कृतिबागमतीमुख्य समाचारसमाचार

चर्नावती धाममा महायज्ञ प्रारम्भ

दोलखा/दोलखाको पवित्र चर्नावती धाममा आईतवारबाट श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ । चर्नावती धाममा रहेको जेष्ठ नागरिक सेवाकेन्द्र सञ्चालनको लागि आयोजना गरिएको महायज्ञको मुख्य वाचक संस्कृतविद् विदुषी प्राध्यापक डाक्टर कान्ता भट्टराई रहनु भएको आयोजकले जनाएका छन् ।
चर्नावती त्रिवेणी विकास तथा प्रवद्धन संघले आयोजना गरेको महायज्ञको प्रारम्भ संस्कृतविद् जगमान गुरुङले गर्नु भएको थियो । सोही अवसरमा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले जेष्ठ नागरिक सेवाकेन्द्रको उद्घाटन समेत गर्नु भएको छ । पूर्व मन्त्री पोखरेलको विशेष पहलमा महिला तथा बालबालिका मन्त्रालय अन्र्तगत प्राप्त झण्डै तीन करोड रुपैयाको लागतमा चर्नावती त्रिवेणी विकास तथा प्रवद्धन संघले जेष्ठ नागरिक सेवा केन्द्र निर्माण गरेको हो । महायज्ञको समापनसंगै नयाँ आर्थिक बर्षबाट जेष्ठ नागरिक सेवाकेन्द्र सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनु भयो । आईतवारनै नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले महायज्ञ स्थल तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको अवलोकन गर्नु भएको छ ।
आयोजक समितिका संयोजक बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न महायज्ञ प्रारम्भ कार्यक्रममा संस्कृतविद् जगमान गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, बागमति प्रदेश सांसद भरत बहादुर केसी, प्राध्यापक डाक्टर कान्ता भट्टराई, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, कांग्रेस नेता ताराबहादुर कोईराला, समाजसेवी शोभित उप्रेती, एमाले नेता बालकृष्ण शिवाकोटी, मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार थोकर, शैलुङ गाँउपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ७ चर्नावती धाम स्थित चर्नावती सामुदायीक बनको ४० रोपनी खाली पर्ती जग्गामा १६ वटा आवास कोठा, एक वटा भान्सा कोठा, तीन वटा हल र पाँच वटा सौचालय कोठा रहेको जेष्ठ नागरिक सेवा केन्द्र भवन सहित बिभिन्न संरचना निर्माण भै रहेको अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
तामाकोशी नदि किनारमा अवस्थित चर्नावती धाम रहेको ठाँउमा तेत्रा युगमा राम– सिताको पाईला परेको विश्वास गरिन्छ । किंवदन्ति अनुसार बनवासको समय राम– सिता चर्नावती धाममा आएका थिए । चर्नावती धाम आसपास राम– सिताले खाना पकाएर खाएको चार मुखे ढुङ्गाको ठूलो चुलो, चौलानी जस्तो पानी बग्ने चामल पखाल्ने खोला र सिताको पाईला रहेको ढुङ्गा रहेको स्थानीय माधव उप्रेतीले बताउनु भयो । पछिल्ला समय सिताको पाईला भएको ढुङ्गा हराएको र चामल पखाल्ने खोलामा चौलानी जस्तो पानी नदेखिने उहाँले बताउनु भयो ।
अर्को किंवदन्ति अनुसार अयोध्यामा रामको राज्यभिषेकको बेला श्रृङ्गी ऋषि चाहिने भएपछि चर्नावती धाम आसपास रहेको अधेरी खोलाको सीरमा तपस्या गरिरहेका श्रृङ्गी ऋषिलाई लगिएको र पछि राम– सिता आफ्नो राज्यभिषेक गर्ने ऋषिको तपस्या स्थल हेर्न आउदा चर्नावती धाममा समेत बसेका थिए ।

सम्बन्धित समाचार