दोलखा/दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारबाट छैठौ अन्तराष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगीता सुरु भएको छ । दोलखा चेस होमले आयोजना गरेको प्रतियोगीताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्व सांसद जीपछिरीङ शेर्पाले गर्नु भएको थियो ।
दोलखा चेस होमका अध्यक्ष गोविन्दमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व सांसद जीपछिरीङ लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमति प्रदेश सांसद कुन्दनराज काफ्ले, एमाले नेता एवं बागमति प्रदेश सांसद भरत बहादुर केसी, नेपाली कांग्रेस दोलखाका सभापति एवं स्व. भीमबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष बर्मा लामा, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा थोकर, राप्रपाका सचिव रामबहादुर तमाङ, राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ, पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, दोलखा चेस होमका उपाध्यक्ष प्रकाश श्रेष्ठ र भोजराज चौलागाईले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
स्व. भीमबहादुर तमाङको स्मृतिमा आयोजना गरिएको अन्तराष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगीतामा नेपाल, भारत, श्रीलङ्का, अमेरीका र फ्रान्सका एक सय ५६ जना खेलाडिको सहभागिता रहेको दोलखा चेस होमका अध्यक्ष गोविन्दमान श्रेष्ठले बताउनु भयो ।
नौ राउण्डसम्म सञ्चालन हुने अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीताकोे पहिलो दिन एक राउण्ड खेल सम्पन्न भएको दोलखा चेस होमले जनाएको छ । प्रतियोगीतामा पाँच जना नेपाल च्याम्पियनको समेत सहभागिता रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
प्रतियोगीता उद्घाटनको अवसरमा बुद्धिचाल (चेस) का नेपाल च्याम्पियन रुपेश जैसवाल र सुजना लोहनी, पत्रकार चिरञ्जीवी मास्के, मेलुङ गाँउपालिकाका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हिरा थोकर, जिल्ला भलिवल संघका अध्यक्ष रोहीत खड्का र पौराणीक बाजाका संरक्षक पूर्णनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्