दोलखा/दोलाखको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दाँया–बाँया भुकम्प पछि बनेका दुई तले जस्ताको छाना भएको चिटिक्कको यो टोलको अधिकांश घरहरु भने खाली छन् ।
झण्डै ३६ घरधुरी रहेको घिमिरे टोलको २२ घर खाली रहेको स्थानीय सिता सुवेदीले बताउनु भयो । भूकम्पले क्षतिग्रस्त यो टोलको सबैघरहरु पुर्ननिर्माण भएका छन् तर जम्मा १४ घरमा मात्र मानिसको बसोबास रहने गरेको सिताको भनाई छ ।
खाली घरका अधिकांश छिमेकीको अहिले काठमाडौँ मै स्थायी रुपमा बसोबास रहेको र देवालीमा भने गाँउमा फर्कने गरेको स्थानीयको भनाई छ । कोही– कोही छिमेकी भने दशै– तिहारमा समेत गाँउ फर्कने गरेको स्थानीय बताउछन् ।
६० को दशकसम्म घिमिरे टोलका अधिकांश घरहरु भरीभराउनै थिए । केही द्वन्द्वको कारण र केही भुकम्पको कारण विस्तापित बनेपनि अधिकांश भने पानीको पिरलोको कारण विस्थापित बन्नु परेको सिता सुवेदी बताउनु हुन्छ । यो टोलमा पानीको लागि एक विहान नै माया पारेर हिलेपानी संस्कृत विद्यालय भएको टोलमा जानुपर्छ सिताले भन्नु भयो– त्यहि पिरलोले पनि सहरमा (काठमाडौँ तिर) छोराछोरी स्थापित भएपछि परिवारका जेष्ठ सदस्यहरुले समेत गाँउ छोडेर जानुभयो ।
घिमिरे टोलमा भुकम्प पछि बनेका दुई कोठे अधिकांश घरमा अहिले ताला लाग्ने गरेका छन् । घरवरपर सिस्नो र बिभिन्न झारहरु पलाएर करेसा र आगन छोपेका छन् । ताला लागेका सुनसान घरहरु देख्दा र पानीको अभाव खेप्नुपर्दा हामीलाई पनि विरक्त लाग्ने गर्छ स्थानीय राजकुमार कार्कीले भन्नु भयो – तर जाउँ पनि कहाँ ? समस्या खेपेरै भएपनि गाँउमै बस्नुको विकल्पै छैन ।
हिलेपानीको घिमिरे टोलमा विगत देखिनै केही उब्जनि नहुने र पानीको सधै समस्या खेप्नुपर्ने भएकैले मानिसहरु विरक्तिएर बसाई सर्न बाध्य हुने गरेको स्थानीय बताउछन् । यो टोलमा पानीको अभावका कारण जमिननै सुख्खा छ, गहत र झुसेतील बाहेक अरु चिज उत्पादननै हुदैन – सिता सुवेदीले भन्नु भयो । पिउने पानी र अन्य घर धन्दाको लागि ठूलो पधेँरो पुगेर पानी ल्याउदा एक घण्टै वित्ने सिताको भनाई छ । अन्य कृषि उत्पादनमा मेहेनत गरेपनि युग अनुसार त्यसको आम्दानिलेमात्र नपुग्ने भएपछि पनि छिमेकी बसाई सरेर गएको स्थानीय बताउछन् ।
गाँउमा सडक र विजुलीको पहँच पुगेकोले स्थानीय सरकार (गाँउपालिका) ले पहल गरेर पानीको समस्या समाधान गरिदिने हो भने गाँउबाट बसाई सरेका अधिकांश छिमेकी फेरी गाँउमै फर्कने सिता बताउनु हुन्छ । हामी त एक दिन यो गाँउ फेरी पहिलेकै जस्तो भरीभराउ हुन्छ, सबै छिमेकी फर्कनु हुन्छ भन्ने अपेक्षामै बाँचिरहेका छौ – सिताले भन्नु भयो ।
प्रतिक्रिया दिनुहोस्