बागमतीमुख्य समाचारराजनितिसमाचारसुचना

आर्थिक समृद्धिको लागि राजनीतिक क्रान्ति

दोलखा/प्रेस सेन्टर नेपाल दोलखा को छैठौ साधारण सभा आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य गंगा कार्कीले आर्थिक समृद्धिको लागि पनि राजनीतिक क्रान्ति पुरा हुनुपर्ने बताउनु भयो । प्रतिनिधिसभा सदस्य कार्कीले गणतन्त्र र संघियता परीपक्को भै नसकेकोले राजनीतिक क्रान्ति पुरा भयो भन्ने अवस्था नरहेको उल्लेख गर्नुहुदै आर्थिक क्रान्ति र राजनीतिक परिपक्वताको अभियान संगसंगै अगाडि बढाउन सकेमात्र मुलुकमा समृद्धि सम्भव हुने बताउनु भयो ।
प्रेस सेन्टर दोलखाका अध्यक्ष शिव कुमार भुजेलको सभापतित्वमा सम्पन्न साधारणसभा उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व महान्याधिवक्ता मुक्ति प्रधान, बागमति प्रदेशका पूर्व मन्त्री विशाल खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, निर्मल ज्ञवाली, प्रेस काउन्सिल नेपालको सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालका बागमति प्रदेश अध्यक्ष यदु गौतम, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठ, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी, प्रेस सेन्टर दोलखाका उपाध्यक्ष सिर्जना गोले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । साधारणसभाको अवसरमा प्रेस सेन्टर दोलखाका संस्थापक लक्ष्मण खड्का, शिव भुजेल, सन्तोषी कार्की, तेन्जीङ शेर्पा र शिवजी प्रधानलाई सम्मान गरिएको थियो ।
स्व. भेषकुमारी स्मृति पुरस्कार
दोलखाबाट प्रशारण हुदै आएको हाम्रो रेडियोले सावित्री खड्काको संरक्षकत्वमा स्थापना गरेको स्व. भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कार चार जना पत्रकारहरुलाई प्रदान गरेको छ । हरेक बर्ष एक जना सक्रिय पत्रकारलाई प्रदान गरिने उक्त पुरस्कार कोरोनाका कारण विगत चार बर्षदेखि स्थगीत रहेकोले यो बर्ष चारजनालाई प्रदान गरिएको हाम्रो रेडियोको स्टेशन मेनेजर लक्ष्मण खड्काले बताउनु भयो । उक्त पुरस्कार २०७६ सालको लागि पत्रकार दिलबहादुर केसीलाई, २०७७ सालको लागि पत्रकार सन्तोषी कार्कीलाई, २०७८ सालको लागि पत्रकार चिरञ्जीवी मास्केलाई र २०७९ सालको लागि फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिएको थियो ।
पुरस्कृति पत्रकारहरुलाई प्रतिनिधि सभा सदस्य गंगा कार्कीले नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो । समाजसेवी सावित्री खड्काले आफ्नो स्वर्गीय माता भेषकुमारी खड्काको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नु भएको थियो ।
सेन्टरमा नयाँ नेतृत्व
प्रेस सेन्टर नेपाल दोलखाको छैटौं साधारणसभाले सेन्टरको जिल्ला समन्वय समिति पूर्नगठन गरेको छ । साधारण सभाले सुरज बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । पुर्नगठित नयाँ नेतृत्वमा उपाध्यक्ष प्रमिला नेपाली, सचिव केदार दहाल, कोषाध्यक्ष गोविन्द थामी चयन भएका छन् । यस्तै सदस्यहरुमा ईश्वर विश्वकर्मा, प्रकाश कौशल, भुपेन्द्र प्रसाद भण्डारी, ईश्वरी बुढाथोकी, मिलन थामी, जेनी तमाङ, सविना थापा, नविन सुनुवार र सुमित्रा थामी चयन भएका छन् । यसैबीच प्रेस सेन्टर नेपाल दोलखाले जिल्लाको ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा पालिकास्तरीय कमिटी गठन गरेको छ । जसमा गौरीशंकर गाउँपालिकामा प्रकाश कौशलको अध्यक्षतामा कमिटी गठन भएको छ भने भीमेश्वर नगरपालिकामा ईश्वर विश्वकर्माको अध्यक्षतामा कमिटी गठन गरिएको छ । यस्तै मेलुङ गाउँपालिकामा भुपेन्द्र प्रसार भण्डारी, जिरी नगरपालिकामा नविन सुनुवार, वैतेश्वर गाउँपालिकामा सविना थापा, शैलुङ गाउँपालिकामा ईश्वरी बुढाथोकी, कालिञ्चोकमा मिलन थामी र विगु गाउँपालिकामा जेनी तमाङको अध्यक्षतामा कमिटी गठन गरिएको हो ।

सम्बन्धित समाचार