दोलखा/प्रेस चौतारी नेपालको बागमति प्रदेश सदस्य, दोलखाका सक्रिय पत्रकार शेर बहादुर भुजेलको मंगलवार विहान ३८ बर्षको उमेरमा निधन भएको छ ।
सदरमुकाम चरिकोटमा बस्दै आउनु भएको भुजेल आईतवार होली पर्वको छुट्टीमा दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर १ पवटी स्थित घरमा जानु भएको थियो । घरमा सुतेकै अवस्थामा मंगलवार विहान ३ बजेतिर उहाँको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
पत्रकारिता, साहित्य लेखन तथा सामाजिक अभियानमा सक्रिय भुजेल मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेकमा कार्यरत रहनु भएको थियो । उहाँ ईदैनिक खबरको सम्पादक, कालिञ्चोक एफएमको समाचार सम्पादक तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाको पूर्व कोषाध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
भुजेलको पार्थिव शरिरलाई मंगलवारनै चर्नावती घाटमा अन्त्यष्टि गरिएको थियो । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईले पत्रकार महासंघको झण्डा ओढाएर अन्तिम श्रदाञ्जली व्यक्त गर्नु भएको थियो ।
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलले मंगलवार एक शोक बक्तव्य जारी गर्दै भुजेलको निधनले प्रेस चौतारी नेपाल दोलखालाई अपुरणीय क्षति पुगेको जनाएका छन् । शोक बक्तव्यमा भुजेलको निधनको खबरले संगठनका सदस्यहरु लाई स्तब्ध बनाएको उल्लेख छ । त्यसैगरी प्रेस सेन्टर नेपाल दोलखाका अध्यक्ष सुरज वस्नेत (अविरल) ले शोक बक्तव्य जारी गर्दै भुजेलको निधनले दोलखाको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्