चिरञ्जीवी मास्के
क्षणमा हुस्सुले छपक्क छोपिदिन्छ बजारलाई । विस्तार हुस्सु फाट्दै गएपछि बजार खुल्दै जान्छ । बरण्डामा बसेर पर– पर बारीको गराहरु नियाल्दै पानीको तप्केनीमा हात भिजाएर म अतित नियाली रहेको छु । मेरो आनीबानी, जीवन स्तर, उठबस सबै उस्तै छ । फेरीएको छ त चरिकोटको वस्ति र बनावट, छिमेकी अनि मेरो उमेर ।
दुई तले, तीन तले ढुङ्गा माटोको घर, ऋतु अनुसार मौसमको सुगन्ध, रुख, बुट्यान र पोथ्राहरुमा ऐशेलु, काफल, चोथ्रो, घङारु, अलुबाख्रा, आलुचा, आरु जस्ता फलफुल र सानो सुन्दर वस्ति । चरिकोटको विशेषता थियो त्यो ।
लामाचौर (हाल कालिञ्चोक माध्यामिक विद्यालय भएको ठाँउ) मा हरेक हप्ता शनिवार लाग्ने हाटमा सेतो फुरर परेको सेरगेम, कुराउनी जस्ता चौरीको दुधको परिकार खान खल्तीमा सुका– मोहर बोकेर दौडन्थ्यौ हामी । लस्करै बेच्न राखिएका गाँउका अर्गानीक तरकारीले चरिकोटका भान्साहरु झ्वाई….. गर्थे ।
शरद ऋतुमा चरिकोटहुदै जिरी उक्लिएर सगरमाथाको आधार शिविर पुग्ने विदेशी पर्यटकहरु एक रात चरिकोटको लामाचौरमा पाल हालेर बास बस्थे । हामी चरिकोटका केटाकेटी साँझपख विदेशीहरुको पालआश्रम लामाचौरमा भेला हुन्थ्यौ । अनि विदेशी पर्यटक हामीलाई चक्लेट, पेन जस्ता उपहार दिनेगर्थे । उनीहरुसंग टुटेफुटेका अंग्रेजी छाड्दै कुरागर्दा आफुलाई सर्वश्रेष्ठ विद्यार्थी भएको गौरवानुभूतिले छाति निक्कै चौडा भएको भ्रम हुने गथ्र्यो ।
अनि शिशिर ऋतुको त कुरै नगरौ । निरन्तर झरीरहने भुवादार हिउँका तप्केनीले चरिकोटका प्रायः सबै घरका करेसाहरु सेताम्य हुन्थे । सबै घरमा फल्याकको छाना भएकोले एक पटक हिउँ पर्दा हप्तौसम्म हरेकको घरको छाना सूर्यको किरणसंगै चम्कने गथ्र्यो । रातभरी हिउँ पर्दा भोलीपल्ट विहान घरको ढोका खोलेर बाहिर निस्कन समेत कठिन, हिउँले घरको करेसा र आागन समेत भरीने भएकोले ।
विस्तारै चरिकोटका घरहरुमा जस्ता र ढुङ्गाको छानो हाल्न थालिए पछि हिउँ पग्लने समय छोटिदै गयो । हुदाहुदा चरिकोटको वस्ति विस्तारले हिउँ पर्नै मुश्किल । एकाध बर्षको अन्तरालमा हिउँ परिहाले पनि बढ्दो सहरीकरणले निमेषभरमै हिउँ त पानी बनेर बग्न थालेको छ ।
चरिकोटको मुख्य वस्ति त पहिले टुटेपानी (अहिलेको पुरानो बजार) मा पो थियो । अहिले त टुटेपानीको अस्थित्व कता हो कता । अहिले त सातदोबाटोमा मात्र केन्द्रीत छ चहल पहल । चरिकोटको पुरानो परिवेश अब किंवदन्तिबाट समेत हराउने त्रास छ । त्यसैले पनि म यो संस्मरण कोरिरहेको छु । मेरा अग्रजहरुबाट सुनेको किंवदन्ति र मैले झण्डै ४०÷४५ बर्ष अघिबाट देखेको, भोगेको र महशुस गरेको चरिकोटको परिवेश शब्दमा उधिनेर ।
मैले भोगेको परिवेशबाटै धेरै अघि बढेको छ चरिकोट । कति सकारात्मक परिर्वतन भएका छन् । अनि कति राम्रो कुराहरु विस्थापित पनि भएका छन् । कमसेकम मैले मेरा बाजे, बजै, बाबु, आमा, मामा, माईजुले भोगेको, देखेको र सुनेको चरिकोटलाई शब्दमा लयबद्ध गर्न खोजेको छु यहाँ ।
दोलखा बजार निक्कै पुरानो हो । किराँतकाल अघिदेखिनै दोलखामा बस्ति थियो भनिन्छ । नेपाल भारत र चिन बीचको ब्यापारीक मार्ग सिल्करोड दोलखा बजार हुदै अघि बढेको किंवदन्ती रहेको छ । यहि किंवदन्तीसंग प्रसिद्ध भीमेश्वर मन्दिरको किंवदन्ती समेत जोडिएको छ । झण्डै चार सय बर्ष पुरानो घर त अहिले पनि छ दोलखा बजारमा । नेपालमा बाईसे– चौबिसे राज्य भएको बेला दोलखा पनि छुट्टै राज्य थियो रे । सायद हायहाय राजाले राज्य गर्थे त्यतिबेला । दोलखाबाटै नेपालमा पहिलो मुद्रा प्रचलनमा आएको हो ।
सदरमुकाम चरिकोटमा भने निक्कै पछि बस्ति बसेको रहेछ । नारायणकृष्ण श्रेष्ठ मामा, रामदास मामा जस्ता जेष्ठजनको संस्मरण अनुसार चरिकोट बजारमा १९३०÷०३२ सालबाट घरहरु बन्न थालेका हुन्, झण्डै एक सय ५० बर्ष अघिबाट । चरिघ्याङको इतिहास भने दोलखा राज्यसंगै जोडिएको छ ।
रामदास मामा भन्दै हुनुहुन्थ्यो उहाँले आफ्ना अग्रज बाबु बाजेबाट सुनेको किंवदन्ति– चरिघ्याङमा एकजना लामा थिए रे, चरिघ्याङ गुम्बामा तपस्या गरेर बस्ने । एकाग्र कतिसम्म भने बढेका दाह्रीमा चरीले गुड लगाउदासम्म पनि वास्ता छैन । लामाको दाह्रीमा चरीले गुड लगाएकैले उनलाई चरी लामा भन्न लागियो । अनि सायद त्यो ठाँउको नाम चरिघ्याङ र यो ठाँउ चरिकोट भएको हुनुपर्छ ।
चरिघ्याङमा चरी लामाको आगमनको पनि रोचक किंवदन्ति छ । दोलखा राज्यमा असिना रोक्न उनलाई बोलाईएको थियो, तर उनले दोलखा बजारमा बस्न मन गरेनन् । ढपक्क जङ्गल भएको र उँचाईमा समेत रहेकोले उनले चरिघ्याङमा बस्ने मन गरे । हायहाय राजाले पनि ढुङ्गामा कुँदेको दोलखा भीमेश्वर र भीमेश्वरको माताको प्रतिमा सहित चरिघ्याङ डाँडामा बस्ने अनुमति दिए ।
चरिघ्याङ गुम्बामा अहिले पनि ढुङ्गामा कुँदेको भीमेश्वर र माताको प्रतिमा देख्न सकिन्छ । तर उचित संरक्षण भने हुन सकेको छैन ।
चरिकोट पुरानो बजारमा पहिले ७÷८ वटा घर रहेछन् । बबुरमानको दुई वटा, हरिकृष्णको माझघर दुई वटा र काजीवीर, भक्तबहादुर, धननारायण, बुद्धिमानको एक÷एक वटा घर थिए रे । त्यसपछि क्रमशः पुरानो बजारमा अरु घरहरु थपिदै गए । अनि बजार विस्तार भएर बीच बजारतिर ठाकुरदास लगायतले घर बनाउनु भयो ।
चरिकोटमा सुरुको ताका, झण्डै ढेड दुई सय बर्ष अघि हुलाक अफिस रहेछ । त्यसपछि सेनाको जंगी परेड मिलिसिया र अदालत थपिएको नारायणकृष्ण मामाले सुनाउनु भयो । २०१९ सालमा स्थानीय विकास अफिस, २०२४ सालमा सिडियो अफिस अस्थित्वमा आएको थियो रे । उहाँले सम्झेसम्म दोलखाको पहिलो सिडियो दान बहादुर जोशी (काठमाडौँको ठमेल घर भएको), पहिलो स्थानीय विकासको हाकीम माधवप्रसाद नेपाल र मालपोत कार्यालयको पहिलो हाकीम जगत बहादुर श्रेष्ठ हुनुहुन्थ्यो । २०२०÷०२१ सालबाट चरिकोटमा अस्पताल पनि बस्यो । अहिले पशुपति कन्या मन्दिर मावि रहेको ठाँउमा २०१६ सालबाट महेन्द्र प्राईमरी स्कूल सुरु भएको रहेछ । कन्या मन्दिर स्कुलमा हमाल सर, पण्डित लक्ष्मी प्रसादहरुले पढाउनु हुन्थ्यो रे ।
चरिकोटमा सुरुवातिताका नेवार समुदायको बाहुल्यता थियो । त्यसैले बिभिन्न चाँडपर्वको रोनकसंगै जात्राहरु पनि सुरु भए । यो २०१५÷०१६ साल तिरको कुरा हो । घण्टाकर्णको दिन नाट्यस्वरीको पुजा गरेर लाखे नाच प्रर्दशन गर्न थालियो । गाईजात्रामा बिभिन्न ब्यङ्गेत्मक प्रर्दशनहरु गरीए । सुरुमा डम्बर बहादुर श्रेष्ठले लाखे नाच्नु भयो । त्यसपछि भक्तबहादुर श्रेष्ठ, हिरालाल श्रेष्ठ, देवकुमार श्रेष्ठ, दान बहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, रामदास श्रेष्ठ, नारायणलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ लगायत धेरै अग्रजहरुले यसलाई निरन्तरता दिनु भयो । अहिले लालिगुँरास युवा क्लबको अगुवाईमा नयाँ पुस्ताका युवाहरुले लाखेनाचलाई निरन्तरता दिई रहेका छन् ।
म अझै सम्झन्छु त्यो समय, लाखेनाचको अवधिमा हामी दुई÷तीन बजेपछि पुरानो बजारतिर दौडन्थ्यौ । अनि साँझसम्मै ढोलक र झ्याम्टाको तालमा लाखे र झुम्रेको पछि लाग्थ्यौ । अझ राजेन्द्र र म त आफै लाखे तथा झुम्रेको मुकुट बनाएर बीच बजारको केही घरहरुमा नाच्न समेत भ्याउथ्यौ । कृष्ण अस्टमी, आईजात्रा जस्ता पर्वहरुमा त लाखे नाच हेर्ने मानिसको लर्को पुरानो बजारबाट सातदोबाटो चोकसम्मै तन्किएको हुन्थ्यो । गाईजात्रामा पुरानो बजार र चरिघ्याङका अग्रजहरुले बिभिन्न ब्यङ्गेत्मक प्रर्दशन गरेर जात्रामा सहभागि जिल्लाको बिभिन्न भेगबाट आएका मानिसलाई गज्जबको मनोरञ्जन दिने गर्थे । गाईजात्रामा पुरानो बजारबाट रत्नबहादुर श्रेष्ठ, हर्कसुन्दर श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, रत्ननारायण श्रेष्ठ, अमृत बहादुर श्रेष्ठ, अर्जन बहादुर श्रेष्ठहरु र चरिघ्याङबाट झ्याम्बर लामा, सुन्दोर्जे लामा, शम्भु लामा, रामकोटको भीम प्रसाद न्यौपाने लगायतले बिभिन्न ब्यङ्गेत्मक प्रर्दशनहरु गर्नुहुन्थ्यो रे ।
२०१६ साल तिरबाटै चरिकोटमा एकाङ्की र पूर्णाङ्की नाटकहरु समेत प्रर्दशन गरिन्थ्यो । मेरा गुरु कृष्ण बहादुर गौतम भन्दै हुनुहुन्थ्यो – छिमेकी, परालको आगोमात्र हैन आफैले तयार गरेको शहनसिला शुसीला, कलंक जस्ता नाटक प्रर्दशन गर्दा चरिकोटको रौनकनै फेरिएको थियो रे ।
चरिकोटको सेरोफेरोमा हुर्कीएको उतीबेलाको त्यो सत्य किंवदन्ती अहिले पौराणीक कालको कथा कहानी महाभारत, रामायण, स्वस्थानी ब्रत कथाहरुमा उल्लेख भएको जस्तै बन्न लागिसक्यो । खै ती आत्मीयता, मौलिकता र प्राकृतिक सुन्दरता ! अब त आधुनिकताले प्राकृतिक सुन्दरतामात्र हैन मौलिकता र आत्मीयतालाई समेत स्खलीत गरिदिएको छ ।
पुष माघमा पशुपति डाँडामै टाँसिएको जस्तो लाग्ने गौरीशङ्कर हिमाल त कालो– कालो हुदै गएको छ भने अब चरिकोटमा हप्तौ नबिलाउने हिमपातको परिकल्पना गर्नु फगत सपनाको क्षणीक खुुशीमात्र होला । चरिकोटमा अब त न सगरमाथा आरोहिको लर्कोलाई साँझपख लामाचौरमा भेट्न सकिन्छ, न लस्करै गाँउको अर्गानीक तरकारी र फुरर परेको सेरगेम फिजाएर ग्राहक कुरीरहेका ब्यापारीलाई देख्न सकिन्छ ।
उतीबेला चरिकोटमा थोरै घर थिए, चौर, चोथ्रा, ऐशेलु, घँगारुहरु थिए, सानो खुला बाटो थियो तर सुन्दर थियो । अहिले गगनचुम्बी घरहरु छन्, चिल्लो सडक र सहरी वातावरण छ तर सुन्दरता हराउदै गएको छ । भनौ भने अहिलेको चरिकोट चारु (सुन्दरता) हराएको जस्तो भएको छ, निरश निरश ! चरिकोटको सभ्यता र सुन्दरतालाई युग अनुसार व्यवस्थापन गर्ने इच्छाशक्ति अँह कसैसंग रहेनछ ।
प्रतिक्रिया दिनुहोस्