बागमतीसमाचारस्वास्थ्य

आयुर्वेद सेवा प्रवर्धन कार्यक्रम

दोलखा/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाले आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय पत्रकारहरु संग विहिवार अन्र्तक्रिया गरेको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाको समन्वयमा उक्त अन्र्तक्रिया सम्पन्न भएको थियो ।
सो अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका प्रमुख डा. मनोज चौधरीले आयुर्वेद उपचारको महत्व र दोलखामा आयुर्वेद स्वास्थ्य केन्द्रले प्रवाह गरिरहेको सेवाको बारेमा जानकारी दिनु भएको थियो ।
दोलखामा सदरमुकाम चरिकोटमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मेलुङ गाँउपालिकाको भेड्पु र कालिञ्चोक गाँउपालिकाको लापिलाङमा रहेको आयुर्वेद औषधालय तथा तामाकोशी, विगु, शैलुङ र गौरीशङ्कर गाँउपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्र मार्फत आयुर्वेदीक उपचार सेवा प्रदान भै रहेको डा. चौधरीले बताउनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्रहरु बाट बिभिन्न २३ थरीका आयुर्वेद औषधिहरु निशुल्क वितरण भै रहेको र अन्य केही सेवा भने न्युन शुल्कमा उपलब्ध गराईएको डा. चौधरीको भनाई छ ।
कार्यक्रममा डा. सुकृती ढङ्गानाले आयुर्वेद स्वास्थ्य केन्द्रको नीतिगत तथा व्यवस्थापकीय संरचनाको बारेमा जानकारी गराउनु भएको थियो भने दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेल र नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाईले आयुर्वेद उपचार पद्धतिको महत्व र प्रभावकारीता बारे आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका प्रमुख डा. चौधरीले १२ रोपनी जग्गा उपलब्ध भए दोलखामा ५० बेडको सुविधा सम्पन्न आयुर्वेद अस्पताल सञ्चालनको लागि प्रकृया सुरु गर्न सकिने भएकोले त्यसमा सहयोग गर्न प्रमुख जिलला अधिकारी, नागरिक समाज, पत्रकार र राजनीतिक दलका प्रतिनिधिहरु लाई आग्रह गर्नु भएको थियो ।
यसै बीच सदरमुकाम चरिकोटमा नीजि लगानीमा सञ्चालन भएको च्छो– रोल्पा जनरल अस्पतालले आफ्नो १७ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ । बार्षिक उत्सवको अवसरमा अस्पतालले न्युन शुल्कमा इन्डोसकोपी सहितको विशेषज्ञ सेवा प्रदान गरेको थियो भने च्छो– रोल्पा स्मारिका प्रकाशन तथा अस्पतालमा रहेर उत्कृष्ठ कार्यगर्ने स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी बिभिन्न संघ– संस्थालाई सम्मान गरेको थियो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्बी बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर डा. बिनोद दंगालले अस्पतालको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार