दोलखा/दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबनधनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की ३६ हजार सात सय ९९ मत सहित विजयी भएका छन् ।
कार्कीले निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका उम्मेदवार बागमति प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटीलाई तीन सय १७ मतान्तरमा पराजित गरेका हुन् । शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरेका थिए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल तीन हजार सात सय ९३ मत सहित तेस्रो भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले एक हजार पाँच सय ६१ मत प्राप्त गरेका छन् ।
एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको दोलखामा प्रतिनिधि सभा तर्फ ८४ हजार चार सय ४८ मत खसेको थियो भने तीन हजार चार सय ७९ मत बदर भएको थियो ।
मंसिर चार गतेको निर्वाचनमा गठबन्धनले आठ मतदान केन्द्रमा बुथ कब्जा गरेर एकलौटि मत खसालेको भन्दै नेकपा एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेपछि निर्वाचन आयोगले चार मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन गराएको थियो । पुनः मतदान भएकै कारण दोलखामा निर्वाचन परिणाम आउन ढिला भएको थियो ।
प्रदेश सभामा काफ्ले र केसी
दोलखाको प्रदेश सभा क मा बाम लोकतान्त्रि गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले २३ हजार दुई सय ३१ मत सहित विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठलाई सात हजार आठ सय ७५ मतान्तर सहित पराजित गरेका हुन् । श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर तमाङले एक हजार एक सय ९२ मत प्राप्त गरी तेस्रो भएको छ ।
प्रदेश क मा ८१ हजार एक सय ३३ मतदाता रहेकोमा ४२ हजार सात सय १९ मत खसेको थियो भने एक हजार दुई सय ४९ मत बदर भएको थियो ।
त्यसैगरी प्रदेश ख मा नेकपा एमालेका उम्मेदवार बागमति प्रदेश कमिटी सदस्य भरत बहादुर केसी १९ हजार चार सय १४ मत सहित विजयी भएका छन् । उनको प्रतिद्वन्द्वि बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पार्टी सभापति बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरेका थिए । केसी एक हजार आठ सय १९ मतान्तर सहित विजयी भएका हुन् ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन बहादुर शिवाकोटी एक हजार सात सय २३ मत सहित तेस्रो भएका छन् । ८० हजार तीन सय १७ मतदाता रहेको प्रदेश ख मा ४२ हजार एक सय ५४ मत खसेको थियो भने एक हजार पाँच सय ७६ मत बदर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्