बागमतीमुख्य समाचारराजनितिसमाचार

बुथ कब्जाको आरोपबाट बदनाम दोलखा

दोलखा/लगभग तीस बर्ष भयो निर्वाचनमा बुथ कब्जा हुने गरेको आरोप खेप्दै आएको दोलखाले । २०५१ सालको संसद सदस्य निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर १ को केही मतदान केन्द्रमा अमूक राजनीतिक दलले बुथ कब्जा गरेर एकलौटी मतदान गरेपछि दोलखामा बुथ कब्जाको बिकृति सुरु भएको थियो ।
२०५१ सालमा सुरु भएको बुथ कब्जाको बिकृति भित्राउने कुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकले अर्कोलाई आरोप लगाउदै आएको छ । नेकपा एमालेका अध्यक्ष नरबहादुर श्रेष्ठ २०५१ सालमा स्व. भिमबहादुर तमाङ क्षेत्र नम्बर १ को संसद सदस्यमा उम्मेदवार बन्दा नेपाली कांग्रेसले बुथ कब्जाको सुरुवात गरेको बताउनु हुन्छ ।
२०५१ यता प्रतिनिधि सभा सदस्य (संसद, संविधानसभा) को लागि भएको ६ वटा निर्वाचन र २०५४ यताको स्थानीय तहको हरेक निर्वाचनमा दोलखा सधै बुथ कब्जाको लागि बद्नाम बन्यो । २०७० को प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रचार– प्रसारको क्रममा भएको झडममा एक युवाको ज्यान गएको थियो भने २०७४ को स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागि एक मतदाताको मृत्यु भएको थियो ।
नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा दोलखामा २०५१ सालमा नेपाली कांग्रेसले नभै नेकपा एमालेले बुथ कब्जाको सुरुवात गरेको र त्यसैको निरन्तरता अहिलेसम्म चलिरहेको बताउनु हुन्छ ।
हरेक पटकको निर्वाचनमा बुथ कब्जाको भय रहने गरेको दोलखा जिल्लामा मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण बनाउन निर्वाचनको अघिल्लो दिन मंसिर ३ गते निर्वाचन आयोगका आयुक्तको नेतृत्वमा आयोगका सचिव, गृहमन्त्रालयका सचिव, प्रहरी प्रमुख र शसस्त्र प्रहरीका प्रमुखले दोलखाको संवेदनसिल भनिएका मतदान केन्द्रहरुको स्थलगत अनुगमन समेत गर्नु भएको थियो । तर मंसिर ४ को निर्वाचन झन अशान्त बन्यो ।
निर्वाचन आयोगले दिएको प्रचार समयमा कुनै अप्रिय घट्ना नभएपनि मंसिर ४ गते मतदानको बेला जिल्लाको ८ भन्दा बढी मतदान केन्द्रमा अशान्ति भएको र लाईनमा बसेका मतदाताको मत समेत बुथ एजेण्टहरुले नै हालिदिएको स्थानीयको गुनासो छ ।
नेकपा एमाले दोलखाले जिल्लाको बैतेश्वर गाँउपालिकाको वडा नम्बर २ गैरीमुदी, वडा नम्बर ३ मिर्गे, वडा नम्बर ६ नाम्दु, गौरीशङ्कर गाँउपालिकाको वडा नम्बर २ जुँगु, तामाकोशी गाँउपालिकाको वडा नम्बर ३ हेल्थपोष्ट भवन जफे, मेलुङ गाँउपालिकाको वडा नम्बर ४ भेड्पु, शैलुङ गाँउपालिकाको वडा नम्बर २ भुषाफेदा र कालिञ्चोक गाँउपालिकाको वडा नम्बर १ कालिञ्चोकमा गरी ८ वटा मतदान केन्द्रमा गठबन्धन दलले बुथ कब्जा गरी एकलौटि मत खसालेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो ।
एमाले दोलखाको उजुरीको सुनवाई गर्दै निर्वाचन आयोगले आईतवार दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर २, ३ र ६ तथा तामाकोशी गाँउपालिका वडा नम्बर ३ को मतदान केन्द्रमा १५ गते भित्र पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको थियो । आयोगको निर्देशन अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सोमवार मंसिर १५ गते चार मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका सभापति लामा भने दोलखामा मंसिर चारको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको बताउनु हुन्छ । कुनै मारकाट, झै–झगडा नभै शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन दोहोराउने निर्वाचन आयोगको निर्णय पुर्वाग्रहरी रहेको लामाको आरोप छ ।
नेकपा माओवादी केन्द्र दोलखा जिल्ला समन्वय समितिका संयोजक कुल बहादुर बुढाथोकी पनि दोलखाको केही मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरोधाभाषपुर्ण रहेको उल्लेख गर्दै विवादीत मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र मुख्य निर्वाचन अधिकृतको गैरजिम्मेवारीका कारण दोलखामा समस्या देखिएको बताउनु हुन्छ ।
नेकपा एमाले दोलखाका अध्यक्ष श्रेष्ठ भने निर्वाचन आयोगको निर्णयले अब दोलखामा निर्वाचनको बेला राम्रो संस्कृतिको सुरुवात हुने विश्वास लिएको बताउनु हुन्छ ।
दोलखाका मुख्य तीन दलका प्रमुखहरुले जिल्लामा बुथ कब्जाको सुरुवात गर्ने परम्पराबारे एक अर्कोलाई दोषारोपन गरेपनि यसको अन्यको लागि सबै राजनीतिक दलहरुले इमान्दारीता पूर्वक समिक्षा र प्रतिवद्धता जनाउनु पर्ने कुरामा भने सहमति जनाउनु भएको छ ।

सम्बन्धित समाचार