दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ७ मकैवारीमा रहेको कालिज फार्ममा शनिवार राति चितुवा पसेर एक हजार भन्दा बढी कालिज मारेको सञ्चालक मिङ्गुर शेर्पाले बताउनु भयो ।
झण्डै दुई बर्ष पुगेका ती कालिज मर्दा फार्मलाई ३० लाख भन्दा बढी क्षति पुगेको सञ्चालक शेर्पाले बताउनु भयो । अहिले ती कालिजहरु २५ सय रुपैयामा बिक्रि हुदै आएको थियो । फार्ममा शनिवार राति दुई बजेतिर चितुवा पसेको अनुमान गरिएको छ । विहान फार्मका मजदुर कालिजलाई दाना हाल्न जाँदा केही कालिज मरेको भेटेका थिए । त्यसपछि के भएको भनि हेर्न जाँदा चितुवाले आक्रमण प्रयास गरेको थियो ।
वाईल्ड लाईफ एग्रो विथ रिर्सोटको नामबाट झण्डै तीन बर्ष अघि २५ रोपनी जमिनमा फार्म सञ्चालन गरिएको थियो । फार्मको दुई भागमध्य एक भागमा चितुवा पसेको हो । उक्त भागमा १६ सय ५० वटा कालिज रहेकोमा अब एक ढेड सयवटा कालिजमात्र देखिएको सञ्चालक शेर्पाको भनाई छ । अर्को भागमा दुई हजारवटा कालिज रहेको र चितुवालाई उज्यालोमै समाउन नसकिए त्यता समेत नोक्सान गर्न सक्ने संभावना रहेको सञ्चालक शेर्पाले बताउनु भयो ।
उक्त कालिज फार्ममा तारवार लगाईएकोले चितवा बाहिर निस्कन नसकेको र जिल्ला वन कार्यालयको टोलिले समेत नियन्त्रणमा लिन नसकेपछि काठमाडौँबाट विज्ञ टोलि आउन लागेको जिल्ला वन कार्यालय दोलखाका प्रमुख थिरबहादुर कार्कीले बताउनु भयो ।
विज्ञ र वन कार्यालयको टोलिले संयुक्त रुपमा डाटिङ विधि (गोलि हानेर वेहोस बनाउने) बाट चितुवालाई समातेर उसको सुरक्षित वासस्थानमा लगेर छोडिने जिल्ला वन कार्यालयका प्रमुख कार्कीले बताउनु भयो ।
चितुवा हेर्न पुगेका स्थानीयले ढुङ्गाले हिर्काउदा चितुवा घाईते भएको जिल्ला वन कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्