बागमतीमुख्य समाचारराजनितिसमाचार

गठबन्धनको फाईदा माओवादी केन्द्रलाई

दोलखा/स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउदा दोलखामा नेकपा एमाले दोस्रो दलमा खुम्चिएको छ । दुई नगरपालिका सहित नौ स्थानीय तह रहेको दोलखामा २०७४ को स्थानीय तह निर्वाचनमा दुई नगरपालिका सहित सात स्थानीय तह जितेर एमाले पहिलो दल बनेको थियो ।
यो पटक तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडा अध्यक्ष जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ भने दुई पालिका प्रमुख, पाँच उपप्रमुख र २४ वडा अध्यक्ष जितेर नेकपा एमाले दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले तीन पालिका प्रमुख, एक उपप्रमुख र २१ वडा अध्यक्ष जितेर जिल्लामा तेस्रो दल बनेको छ । नेकपा एकिकृत समाजवादीले एक पालिका प्रमुख र दुई वडा अध्यक्ष जितेको छ भने दुई वडा अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
नेकपा एमाले नेताहरुको व्यक्तिवादी चरित्र, गुटगत राजनीति र उम्मेद्ववार छनौटमा देखिएको विवादका कारण जिल्लामा दोस्रो दलमा खुम्चनु परेको विश्लेषण कार्यकर्ताहरुले गर्न थालेका छन् । सत्ता गठबन्धनको कारण जिल्लामा सबैभन्दा बढी फाईदा नेकपा माओवादी केन्द्रलाई भएको छ । नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले भने सत्ता गठबन्धनबाटै असहयोग भएको गुनासो गरेका छन् ।
प्राप्त अन्तिम मत परिणाम अनुसार जिल्लाको मेलुङ गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेको हिराकुमार थोकर विजयी हुनु भएको छ । उहाँले एक हजार एक सय ५९ मतको फराकिलो अन्तरसहित नेकपा एकिकृत समाजबादिका रविन्द्र कार्कीलाई पराजित गर्नु भएको हो । थोकरको पाँच हजार एक सय ५४ मत रहेको छ । उपाध्यक्षमा पनि नेकपा एमालेकै गायत्री आचार्य विजयी हुनु भएको छ । आचार्य पनि एक हजार चार सय ४७ मतको पराकिलो अन्तर सहित विजयी हुनु भएको छ । आचार्यले चार हजार सात सय ४९ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी दोलखाको जिरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी विजयी हुनुभएको छ । प्रमुख मित्र जिरेल दुई हजार नौ सय ४९ मतका साथ विजयी हुनुभएको हो । जिरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले दुई हजार छ सय ९२ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपप्रमुखमा कृष्ण माया बुढाथोकी तीन हजार चार सय ३४ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका तेजबहादुर तामाङ्गले तीन हजार एक सय २० मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा एकिकृत समाजबादीका प्रोण प्रताव केसी र उपाध्यक्षमा नेपाली कांग्रेसको सृजना सुवेदी विजयी हुनुभएको छ । केसीले पाँच हजार चार सय ९० मत प्राप्त गर्नु भएको थियो । उहाँको प्रतिद्वन्द्वि एमालेका अभिषेक सुवेदीले तीन हजार चार सय ६६ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा कांग्रेसका सृृजना सुवेदीले पाँच हजार चार सय ४२ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वि एमालेको अम्विका पोखरेलले तीन हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी बैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका छवि लामाले पाँच हजार दुई सय ९९ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वि एमालेका माधब प्रसाद घिमिरेले तीन हजार एक सय ७२ र नेकपा माओवादी केन्द्रका लक्ष्मण खड्काले दुई हजार आठ सय ७३ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै कल्पना उप्रेतीले पाँच हजार दुई सय ७३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वि एकिकृत समाजबादीका कल्याण दाहालले दुई हजार सात सय आठ र एमालेको सर्मथन रहेको स्वतन्त्र उम्मेदवार छवि लामाले दुई हजार ६७ मत प्राप्त प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रका विश्वास कार्की विजयी हुनु भएको छ । उहाँले चार हजार सात सय ५१ मत प्राप्त भएको छ भने नेकपा एमालेका जंग गुरुङ्गले तीन हजार सात सय ५७ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसको श्याम सुन्दर तामाङ्ग विजयी हुनु भएको छ । तामाङ्गले चार हजार सात सय ४१ प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वि एमालेका मुना शिवाकोटीले तीन हजार दुई सय ८१ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी शैलुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँले चार हजार नौ सय १८ मत प्राप्त गर्नुहुर्दा नेकपा एमालेका उम्मेदवार धन बहादुर तामाङले चार हजार आठ सय ५८ मत प्राप्त गर्नुभएको छ । पालिका उपाध्यक्षमा भने नेकपा एमालेकी पार्वती कार्की विजयी हुनुभएको छ । कार्कीले पाँच हजार एक सय ३५ मत प्राप्त गर्नु भएको छ भने लामाले चार हजार सात सय ४१ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी जिल्लाको विगु गाँउपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार सञ्जीव ओली चार हजार एक सय मतका साथ विजयी भएका छन् । उनको प्रतिद्वन्द्वि नेकपा एमालेका अच्युतम केसीले तीन हजार नौ सय ७३ मत प्राप्त गर्नु भएको थियो । ओली २०७४ को स्थानीय तहको निर्वाचनमा विगु गाँउपालिकामा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । विगु गाँउपालिकामा उपाध्यक्ष भने नेकपा एमालेको उम्मेद्वार देविका थामी निर्वाचित हुनु भएको छ । थामीले चार हजार १३ मत प्राप्त गर्नुहुदा उहाँको प्रतिद्वन्द्वि गठबन्धनको उम्मेद्वार नेपाली कांग्रेसका आङनिमा शेर्पाले तीन हजार आठ सय २६ मत प्राप्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार