बागमतीमुख्य समाचारराजनितिसमाचार

दोलखाका तीन वडाको मत परिणाम सार्वजनिक

दोलखा/दोलखा जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले एक÷एक वडामा जित हातपारेको छ ।
जिल्लाको जिरी नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आङपासाङ शेर्पा कर्साङ विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका साङ्गे शेर्पालाई पराजित गरेका थिए । वडा नम्बर १ मा आङपासाङ शेर्पाको टिमनै विजयी भएको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।
त्यसैगरी जिल्लाको कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा नेकपा एमालेका पद्म थामी विजयी भएका छन् । उनले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बाबुलाल थामीलाई पराजित गरेका हुन् । बाबुलाल थामी २०७४ सालमा उक्त वडाका विजयी वडा अध्यक्ष हुन् । वडा नम्बर १ मा पद्म थामीको टिमनै विजयी भएको नेकपा एमाले दोलखाले जनाएको छ । थोरै मतान्तरले विजयी पद्म थामी विजयी भएपछि नेपाली कांग्रेसले पुनः मतदानको माग गर्दै केहि समय परिणाम घोषणा गर्न अवरोध गरेको थियो ।
त्यसैगरी जिरी नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका निम्पलदोर्जे शेर्पा विजयी भएका छन् । उनले नेकपा एमालेको उम्मेदवार पासाङ रेन्जी शेर्पालाई हराएका हुन् ।
दुई नगरपालिका र सात गाँउपालिका भएको दोलाखका सबै पालिकाहरुको मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लाको शैलुङ गाँउपालिका वडा नम्बर १ मा चार सय मतगणना पछि विवाद भएर रोकिएको गणना पुनः सुचारु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनु भयो । उक्त पालिकामा आफ्नो पार्टीकोे एकजना कार्यकर्तालाई कुटपिट गरी सख्त घाईते बनाएको नेकपा एमाले दोलखाले जनाएको छ ।
विगतका निर्वाचनको तुलनामा यो पटकको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको स्थानीयले बताएका छन् । २०५१ साल यताको निर्वाचनहरु मध्य यो पटकको निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको स्थानीय बताउछन् ।
तर जिल्लाको केहि पालिकाहरुमा एक तर्फि मत खसेको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलले एकले अर्कोलाई आरोप लगाउदै विञ्प्ति जारी गरेका छन् । नेकपा एमालेका अध्यक्ष नरबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै जिल्लाको बैतेश्वर गाँउपालिका वडा नम्बर १, तामाकोशी गाँउपालिका वडा नम्बर ३ र ४, मेलुङ गाँउपालिका वडा नम्बर ५, कालिञ्चोक गाँउपालिका वडा नम्बर ७ र विगु गाँउपालिका वडा नम्बर २ र ७ मा हुलहुज्जत तथा बुथ कब्जा गरी स्वतन्त्रता पुर्वक मतदान गर्ने अवसरबाट मतदाताहरु बञ्चित भएकोले पुनः मतदान गर्न माग गर्नु भएको छ ।
त्यसैगरी नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जिल्लाको मेलुङ गाँउपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको वडा अध्यक्षको उम्मेदवार राजेन्द्र भण्डारी सहित एजेन्टलाई कुटपिट गरी लखेटेर मतदान गरेको आरोप लगाउनु भएको छ ।

सम्बन्धित समाचार