दोलखा/प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जीवी मास्केले राज्यले प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्नु पर्र्ने बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा दोलखा सदरमुकाम चरिकोटमा आयोजित डिजिटल अधिकार अबको पत्रकारिता सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै मास्केले संञ्चारकर्मीहरुले अहिले पनि विभिन्न प्रकारका दमनको सामना गरिरहेकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाउने वातावरण बनाउन राज्यले पहल गर्नु पर्ने बताउनु भयो ।
उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा नागरिक अधिकार सुनिश्चितताको वातावरण बनाउन प्रेस काउन्सील नेपालले संवैधानिक अधिकारको संरक्षण तथा पत्रकार आचार संहिताको पालनामा सक्रियता पूर्वक काम गरिरहेको बताउनु भयो ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहयोगमा संचालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि एफएचआई ३६० संगको सहकार्यमा हुराडेक नेपाल दोलखाले चरिकोट मिडिया फाउण्डेसनसंगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा जिल्लामा रहेका क्रियासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना दोलखाका संयोजक शेर बहादुर भुजेलले डिजिटल अधिकारको बर्तमान अवस्था, डिजिटल स्पेश प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा, प्रेस स्वतन्त्रताको हक र गोपनीयताको हक लगायतको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा चरिकोट मिडिया फाउण्डेसनका अध्यक्ष जिवन लामा, पत्रकार तारा बहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि घोषणापत्र’ जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्