काठमाडौं । बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२ खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कार मनोजादित्य न्यौपानेलेप्राप्त गरेका छन् । उनको ‘अन्तिम अतिथि’ शीर्षकको कथा प्रथम भएको छ ।
यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छन् भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरेकी छन् । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँ रहेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता घोषणासँगै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७८’ कोपनि लोकापर्ण गरिएको छ ।
प्रमुख अतिथि रक्षामन्त्री डा.मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरण तथा पुस्तकको लोकार्पण गरेका थिए । प्रमुख अतिथि डा. रिजालले प्रथम तीनसहित उत्कृष्ट २२ कथाकारहरूलाई पनि प्रमाणपत्रसहित पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे ।
उत्कष्ट कथाकारलाई मन्त्री रिजालसँगै डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसीलगायतले खादा, पुष्पगुच्छा, प्रमाणपत्र, नगद र ट्रफी वितरण गरेका थिए ।
डिश होम बाह्रखरी कथाको टाइटल स्पोन्सर रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंक, अजोड इन्स्योरेन्स र नेपाल आयल निगम प्रायोजक रहेका थिए ।
बाह्रखरी बुक्सले शुक्रबार डिशहोम १२खरी कथा प्रतियोगिता–२०७८ मा उत्कृष्ट २५ मा परेका र तीमध्येबाट प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल कथाकारहरूको नाम तथा कथाको शीर्षक सार्वजनिक गरेको हो ।
यस वर्षका उत्कृष्ट २२ कथाकारहरूमा आन अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले रहेका छन् ।
कथा प्रतियोगिताका लागि देश–विदेशबाट प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरूकोे सँगालो ‘१२खरी उत्कृष्ट कथा–२०७८’ को सम्पादन साहित्यकार राजेन्द्र पराजुलीले गरेका हुन् ।
१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा वरिष्ठ आख्यानकार नारायण ढकाल संयोजक तथा समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल सदस्य रहेका थिए । आन्तरिक समिति बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको थियो ।
प्रतियोगितामा प्राप्त ४०० बढी कथाहरूमध्येबाट ५० वटा कथा चयन गरी बाह्य निर्णायक समितिलाई बुझाइएको थियो । उक्त ५० कथाहरूमध्येबाट समितिले उत्कृष्ट २५ कथासहित प्रथम, द्वितीय र तृतीय घोषित गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री डा. मीनेन्द्र रिजालले समकालीन साहित्यले समाजको अध्ययन गर्न सहयोग गर्ने बताए ।
रिजालले समाज प्रतिबिम्बित गर्ने साहित्य सधैँ सार्वकालिक हुने भन्दै मुनामदन खण्डकाव्य अझै पनि उत्तिकै लोकप्रिय रहेको बताए ।
रक्षामन्त्री रिजालले अझै पनि मुनामदनले ठूलो परिमाणमा रोयल्टी प्राप्त गरिरहेको भन्दै समाज र संस्कृति झल्किने विषय साहित्यमा सशक्त रूपमा आउनुपर्नेमा जोड दिए ।
बाह्रखरीको यस प्रतियोगिताले नेपाली कथा लेखनको उन्नयनमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको भन्दै उनले यस्ता प्रतियोगिताहरूको आवश्यक रहेकोमा जोड दिए । सो अवसरमा उनले उत्कृष्ट कथाकारहरूलाई पुरस्कार प्रदान गरेका थिए ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले साहित्यले राष्ट्रियता, भाषा र संस्कृतिको विकास गर्ने बताए । देशलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउने काम साहित्यले गर्ने भन्दै उनले यसको विकास र विस्तारका लागि बाह्रखरीले कथा प्रतियोगिता आयोजना गरिरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्