दोलखा/नेकपा एमाले बागमति प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलको पहलमा दोलखाका स्थानिय तहहरुलाई ४५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
पूर्व मन्त्री पोखरेलको पहलमा चिनको तिव्वत सरकारले नेपाल चिन हिमालयन फ्रेन्डसीप समाजलाई उपलब्ध गराएको स्वास्थ्य सामग्रीहरु आवश्यकताको अनुसार दोलखाको नौ वटा पालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको समाजका सचिव रिनन पोखरेलले बताउनु भयो ।
चिनको तिव्वत सरकारको सहयोगमा अक्सिजन सिलिण्डर ५० थान, इसिजि मेशिन दुई थान, प्यासेन मनिटर दुई थान, अक्सिजन कन्सन्ट्रेटर चार थान, पेसेन्ट बेड १० थान, अक्सिमिटर २० थान, पिपिई सेट पाँच सय थान, एन–९५ मास्क १५ सय थान, मेडिकल ट्रलि दुई थान, सक्सन मेशिन दुई थान र डिजिटर थर्मोमिटर नौ सय थान गरी ४५ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको सचिव पोखरेलले बताउनु भयो ।
उक्त स्वास्थ्य सामग्रीहरु जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई हस्तान्तरण गरिएको र स्वास्थ्य कार्यालय दोलखाको सिफारीसमा शैलुङ, गौरीशङ्कर, विगु, कालिञ्चोक, तामाकोसी गाँउपालिका र जिरी तथा भीमेश्वर नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा आवश्यकताको आधारमा हस्तान्तरण गरिएको समाजका सचिव पोखरेलले बताउनु भयो ।
कोरोना संक्रमण दर केहि कम भएपनि जोखिम कायमै रहेकोले स्वास्थ्य संस्थाहरुलाई आवश्यक केहि स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको एमाले नेता एवं पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले बताउनु भयो । उक्त स्वास्थ्य सामग्रीहरु नेपाल चिन हिमालयन फ्रेन्डसीप समाजलाई चिनको तिब्बत सरकारले सहयोग गरेको पूर्व मन्त्री पोखरेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्