दोलखा/दोस्रो लहरको कोरोना संक्रमणका विरामी दैनिक बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव हुन थालेकोले जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्न स्थानिय तहहरुले सक्रियता देखाएका छन् ।
पालिका प्रमुखहरु समेत सहभागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र दोलखाको शनिवार सम्पन्न बैठकले सदरमुकामको चरिकोट अस्पतालमा अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने र त्यसको लागि नौ वटै पालिकाले १२/१२ लाख रुपैया साँझ कोषमा जम्मा गर्ने सहमति भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनु भयो ।
पालिकाहरु बाट आर्थिक सहयोग प्राप्त भएपछि चरिकोट अस्पतालले छोटो प्रक्रियाबाट तत्कालै अक्सिजन ग्याँस प्लान्ट खरीद गरी स्थापना गर्ने समन्वय प्रमुख पाण्डेले बताउनु भयो ।
दोलखाको उत्तरी भेगमा पर्ने कालिञ्चोक, विगु र गौरीशङ्कर गाँउपालिकाले स्वास्थ्य जनशक्ति र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराई सिंगटीमा संयुक्त आईसोलेसन केन्द्र सञ्चालन गर्ने र त्यसको लागि तीनवटै पालिकाका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय समेत जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको छ ।
बैठकले काठमाडौँ लगायत अन्य जिल्लाबाट दोलखा भित्रिएका नागरिकलाई होम आईसोलेसनमा बस्ने व्यवस्था गरिएकोमा अब अनिर्वाय रुपमा सामुदायीक आईसोलेसनमै बस्नु पर्ने र त्यसको व्यवस्थापन सम्बन्धित पालिकाहरुले गर्ने निर्णय गरेको छ । बाहिरी जिल्लाबाट आएका कोहि नागरिक सामुदायीक आईसोलेसनमा बस्न नमाने प्रहरीले पक्राउ गरी कानुन अनुसार कार्वाहि गर्ने निर्णय समेत जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको छ ।
संघिय तथा प्रदेश सांसदहरुको सहयोगमा यस अघि चरिकोट अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गरिएको र त्यसले दोलखा लगायत छिमेकी जिल्लाहरुका समेत कोरोना संक्रमणको अवस्था थाहा पाउन स्वाव परिक्षणमा सहज भएको चरिकोट अस्पतालले जनाएको छ ।
पिसिआर प्रयोगशालामा काम गरिरहेको माईक्रोबायोलोजिस्ट नसाना सुवाल, ल्याब टेक्निसियन सञ्जु थामी र बिएमएलटी रमिता श्रेष्ठले उत्कृष्ठ काम गरिरहेको चरिकोट अस्पतालका प्रमुख एमडिजिपि डाक्टर विनोद दंगालले बताउनु भयो । उनीहरुको सक्रियतामा पिसिआर प्रयोगशालामा एक हप्तामा एक हजारको स्वाव परिक्षण सम्भव भएको पनि डाक्टर दंगालले बताउनु भयो ।
अस्पतालमा जिल्लाको सबै पालिकाबाट कोरोना संक्रमित विरामी आउने गरेको र अस्पतालले कोरोना संक्रमित तथा संक्रमित नभएका विरामीहरुलाई समेत उचित व्यवस्थापन सहित उत्कृष्ठ सेवा दिदै आएको डाक्टर दंगालको भनाई छ । तत्कालै अस्पतालमा अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्न सकिए कोरोना संक्रमितहरुको उपचारमा थप सहयोग पुग्ने डाक्टर दंगाल बताउनु हुन्छ ।
अहिले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्ला प्रसाशन, जिल्ला प्रहरी, च्छो रोल्पा जनरल अस्पताल लगायतको सक्रियतामा अक्सिजन सिलिण्डर जम्मा गरेर चरिकोट अस्पतालमा उपलब्ध गराउदै आएको छ । तर अक्सिजन भर्न काठमाडौँ लगायतका ठाँउमा रहेको ग्याँस प्लान्टमा पठाउदा चार/पाँच दिनमा पनि पालो नआउने भएकोले समस्या देखिएको सरोकारवालाहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्