कला / साहित्यसमाचार

दोलखाली गीतकारलाई उत्कृष्ट राष्ट्रिय भाव गीतकारको अवार्ड

काठमाडाैँ/ गत आईतवार सम्पन्न सातौ नेसनल क्यापिटल अवार्ड २०७७ मा गीतकार रमेश दहालले उत्कृष्ट राष्ट्रभावको गीतकारको अवार्ड हात पारेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री माननिय पार्वत गुरुङको उपस्थितिमा नेपाल पर्यटन बोर्डको सभा हलमा सम्पन्न क्यापिटल इन्टरटेन्मेन्ट प्रा.लि. र शुभकामना मिडिया सोलुसनद्वारा आयोजित अवार्डमा विगत लामो समयदेखि गीत तथा कविता लेखनमा सकृय जिल्लाको मैनापोखरीका गीतकार रमेश दहालले उत्कृष्ट राष्ट्रिय भावको गीतका लागि अवार्ड प्राप्त गरेका छन् । सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजनमा तयार गरिएको गीत ‘ए झण्डा तिमी सधै फर्फराउनु’ मा रामकृष्ण ढकालको स्वर रहेको छ भने गीतमा भोला पौडेलले ध्वनी सम्पादन गरेका छन् ।

यसै गीतबाट भोला पौडेललाई समेत उत्कृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । ‘ए झण्डा तिमी सधै फर्फराउनु’ गीत नेपाली राष्ट्रिय झण्डाका बारेमा लेखिएको राष्ट्रिय गीत हो । राष्ट्रिय झण्डा नेपाली जनताको एकताको प्रतिक हो र यसले नेपाली नेपाली बिचको भाइचारा सधै कायम राख्न आग्रह गरेको छ । विश्वमा धेरै ओटा झण्डाहरु छन् जसका माझमा नेपाली राष्ट्रिय झण्डाको उचाई सधै उच्च रहनुपर्छ भन्ने चाहना गीतमा ब्यक्त गरिएको छ । नेपाली झण्डाले हरेक नेपाली बिचको सम्बन्ध कायम राख्न सक्नुपर्छ भन्ने सन्देश दिएको छ ।

काम विशेषले अवार्ड कार्यक्रममा उपस्थि हुन नसकेका रमेशको अवार्ड तथा प्रमाणपत्र यसै गीतका सङ्गीतकार सन्तोष श्रेष्ठले बुझेका थिए । रमेश राष्ट्रिय भाव, आधुनिक तथा पप विधामा गीत लेख्ने चर्चीत दोलखाली गीतकार हुन् । उनलाई गत बर्ष विष्णुलक्ष्मी÷तुलसीमाया साहित्यिक पुरस्कार समेत प्रदान गरिएको थियो । उत्कृष्ट गीत लेखेकैले रमेशले एकपछि अर्को राष्ट्रिय स्तरका साङ्गितिक अवार्ड चुमीरहेका छन् ।

सम्बन्धित समाचार