अर्थ र ब्यापारमुख्य समाचारराजनितिसमाचार

तिब्बत जोड्न लामाबगरमा नमुना सुरुङमार्ग– मन्त्री गुरुङ

दोलखा/सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दोलखामा निर्माणको क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुलाई संघिय सरकारले उच्च प्राथामिकतामा राखेर आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुनुभएपछि पहिलो पटक शनिवार गृह जिल्ला दोलखामा भीमेश्वर नगरपालिकाले आयोजना गरेको रङ्गशाला निर्माणको सिलान्यास कार्यक्रममा सहभागि हुनु भएका मन्त्री गुरुङले दोलखामा निर्माणको क्रममा रहेको माथिल्लो तामाकोसी जल विद्युत आयोजना, उत्तर दक्षिण राजमार्ग जोड्ने लामाबगर लप्ची सडक, खरीढुङ्गामा रहेको म्याग्नेसाईट, डाँङडुङे डाँडामा रहेको फिल्मशिटी जस्ता राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथामीकतामा राखेर काम गरिरहेको बताउनु भयो ।
उत्तर दक्षिण जोड्ने लामाबगर लप्ची सडकको लागि लामाबगरमा सुरुङ मार्ग बनाउन यहि माघ महिना भित्र निर्माण कम्पनि छनौट गरेर काम सुरु हुने मन्त्री गुरुङले बताउनु भयो । यो सुरुङ मार्ग नेपालकै पहिलो नयाँ प्रविधि सहितको नमुना मार्ग हुने र यसले समग्रमा नेपालकै विकास र समृद्धिको अभियानमा सहयोग पु¥याउने मन्त्री गुरुङले बताउनु भयो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गुरुङले नेपालको जलश्रोत विकासमा ठूलो महत्व राख्ने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम यहि आर्थिक बर्ष भित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य सहित काम भै रहेको र निर्धारति समयमा काम सम्पन्न गर्न सरकारले आवश्यक सहयोग गरिरहेको बताउनु भयो । उहाँले माथिल्लो तामाकोसी आयोजनाको काम बिभिन्न मितिमा सम्पन्न हुने भनेर हल्लामात्र चलिरहेको सन्र्दभमा यो आर्थिक बर्ष भित्र जसरी पनि सम्पन्न गर्न सरोकारवाला पक्षलाई निर्देशन समेत दिनु भएको छ । कार्यक्रममा प्रदेश सांसद सरस्वती वस्नेत, भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे लगायतको सहभागिता रहेको थियो ।
नेकपा फुट्दैन
सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गुरुङले नेकपा अहिले गम्भीर मोडमा रहेको भएपनि कुनै हालतमा बिभाजन नहुने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाले पार्टी जिल्ला कमिटी सदस्य एवं दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धावा वाङ्देल (प्रेम) लामाको स्मृतिमा आयोजित श्रद्धान्जली सभामा नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री गुरुङले नेकपाका नेता कार्यकर्ताहरुले पार्टी विभाजन हुन नदिने विश्वास व्यक्त गर्नु भयो । मन्त्री गुरुङले पार्टी भित्र देखिएको समस्या समाधान गर्न आफु जस्तो सकै त्याग गर्न तयार रहेको समेत बताउनु भएको छ । कार्यक्रम नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
शनिवार विहान गृहजिल्ला आउनु भएका मन्त्री गुरुङ शनिवारनै आफ्नो जन्म स्थान गौरीशङ्कर गाँउपालिकाको सुरीमा आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुनु भएको छ । आईतवार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागि हुने र सोमवार नेपाल पत्रकार महासंघ दोलखा शाखाले आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागि भै राजधानि फर्कने कार्यक्रम रहेको जनाईएको छ ।

सम्बन्धित समाचार