दोलखा/गौरीशङ्कर संरक्षण क्षेत्रले सिन्धुपाल्चोक जिल्लाको तीन गाँउका १५ घरमा होमस्टे (घरबास कार्यक्रम) सञ्चालनको लागि बिभिन्न सामग्रीहरु सहयोग गरेको छ ।
गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति लिस्तिकोटले संयुक्त रुपमा सिन्धुपाल्चोकको भैरवकुण्ड पदमार्गमा पर्ने लिस्तिकोटको पाँच घर, छगाम वगामको पाँच घर र दुगुनागढीको पाँच घर गरी १५ घरमा होमस्टे सञ्चालनको लागि आवश्यक पर्ने सिरक, डस्ना, सिरानी, टावेल, ऐना, कार्पेट, चप्पल लगायतका सामग्री उपलब्ध गराएको आयोजना प्रमुख सत्यनारायण शाहले बताउनु भयो ।
सिन्धुपाल्चोकको प्रसिद्ध लिस्तिमाई मन्दिर, उच्च भु भागमा रहेको बगाम छगाम गाँउ, पवित्र भैरवकुण्ड ताल, ऐतिहासीक दुगुनागढी र तातोपानी क्षेत्र भ्रमणको लागि पर्यटकहरु भैरवकुण्ड पदमार्ग हुदै जाने भएकोले तीन गाँउको १५ घरमा सञ्चालन गरिएको होमस्टे पर्यटन प्रवद्धनको लागि महत्वपूर्ण हुने आयोजना प्रमुख शाहले बताउनु भयो ।
कोरोना संक्रमणको अवस्था सामानय भएपछि होमस्टे सञ्चालन गर्ने घरका सदस्यहरुलाई पाहुना सत्कार, कुकिङ बेकिङ, फोहर व्यवस्थापन लगायतका होमस्टे सञ्चालनको लागि आवश्यक पर्ने आधारभुत तालिम सञ्चालन गरिने संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षेण कार्यालय सिन्धुपाल्चोकको इन्चार्ज बिष्णु पाण्डेले बताउनु भयो । होमस्टेको सामग्री वितरण कार्यक्रममा भोटेकोशी गाँउपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा, वडा नम्बर १ को वडा अध्यक्ष मुके शेर्पा लगायतको सहभागिता रहेको थियो ।
दोलखा, सिन्धुपाल्चोक र रामेछापको केहि भाग समेटेर बनाईएको गौरीशङ्कर संरक्षण क्षेत्रमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर १, भोटेकोशी गाँउपालिका वडा नम्बर १ देखि ५ सम्म, जुगल गाँउपालिका वडा नम्बर ३ र त्रिपुरासुनदरी गाँउपालिका वडा नम्बर १ (साविकका ६ वटा गाविस) पर्दछन् ।
प्रतिक्रिया दिनुहोस्