दोलखा/जिल्ला समन्वय समिति दोलखाको चौथो जिल्ला सभामा स्थानिय सरकारका प्रमुखहरुले प्रदेश सरकारले दोलखालाई पर देशको जस्तो व्यवहार गरेको भन्दै गुनासो गरेका छन् ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले प्रदेश सरकारले बजेट विनियोजन देखी हरेक कुरामा दोलखा जिल्लालाई पर देशको जस्तो व्यवहार गरेको गुनासो गरे । दोलखा जिल्ला भरी प्रदेश सरकारले काठमाडौँको एउटा पालिकालाई जति पनि बजेट पठाएको छैन नगरप्रमुख केसीले भने – के यो दोलखाको कोहि पनि प्रदेश मन्त्री नभएको परिणाम हो ? या दोलखा प्रदेश राजधानि हेटौडाबाट टाढा भएकोले हो ?
नगरप्रमुख केसीले संघियताको अर्थ जनताको घर आगनमा सरकार पुग्नु पर्ने भएपनि दोलखाको लागि सहकारी, खानेपानी, सडक आदीको काम गर्न सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक धाउन बाध्य हुनुपरेको बताए ।
शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलाल, तामाकोसी गाँउपालिकाको उपाध्यक्ष उर्मिला केसी र जिरी नगरपालिकाको उपप्रमुख कृष्णमाया बुढाथोकीले पनि प्रदेश सरकारले दोलखालाई विभेद गरेको बताए । उनीहरुले प्रदेश सरकारले कानुनी सहजकर्ता नराख्ने निर्णय गरेकोले न्यायीक समितिलाई समस्या भएको गुनासो समेत गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एवं नेकपा नेता पशुपति चौलागाईले जनसंख्या, विकासको अवस्था आदीका कारण दोलखालाई बजेट कम दिईएको हो की भनेर ब्यङ्गे गरेका थिए । नेता चौलागाईले कोरोना महामारी लगायत दैवी विपत्तिको बेला स्थानिय सरकारले गरेको कामको प्रशंसा गर्दै त्यसैको कारण जनताले घर आगनमा सरकार भएको महसुश गर्न सकेको बताए ।
प्रदेश सांसद हिमाली गोलेले प्रदेश सरकारले गरेका कतिपय निर्णयमा आफुहरुको पनि सहमति नरहेको उल्लेख गर्दै पालिका प्रमुख एवं उपप्रमुखहरुले उठाएको विषयलाई गम्भीरतापूर्वक प्रदेश संसदमा राख्ने बताए ।
चौथो जिल्ला सभाले दोलखाको कालिञ्चोक, भीमेश्वर, विगु गुम्बा, शैलुङडाँडा, जिरी उपत्यका, च्छो रोल्पा हिमताल र गौरीशङ्कर हिमाल पदयात्रा मार्गको विकासको लागि स्थानिय तहबाट प्राथामीकता पुर्वक बजेट र कार्यक्रमको व्यवस्था गर्ने, दोलखाको समृद्धिको लागि भीमेश्वर नगरपालिकाको वडा नम्बर ९ लाकुरीडाँडामा प्रारम्भ भएको फिल्मशिटी निर्माण कार्यलाई तिब्रता दिन संघिय तथा बागमति प्रदेश सरकारलाई आवश्यक बजेट व्यवस्था गर्न ध्यानाकर्षण गर्ने, भुकम्पबाट पीडित दोलखा बासिको नीजि आवास पुर्ननिर्माण कार्यलाई चालु आर्थिक बर्ष ०७७÷७८ भित्रै सम्पन्न गर्न पहल गर्ने, जिल्लामा रहेको ७४ वडा को केन्द्र र नौ वटा स्थानिय तहको केन्द्रमा हेलिप्याड निर्माणको लागि पहल गर्ने लगायतका निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका उपप्रमुख मनमाया जिरेल, जिल्ला विकास समिति दोलखाका पुर्व उपसभापति शिवप्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी टङ्क पाण्डे लगायतले मन्तवय व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्