जीवन लामा
मेरो गाउँ झ्याँकुमा प्रायः गईरहन्छु । कार्यक्रम बाहेक महिनामा एक पटक पुग्नुपर्छ भन्ने लाग्छ । बाबा, आमा अलि धेरै उमेर पुगेको हुनाले पनि भेटघाटको निहुँ बनाएर गाउँ पुग्ने गर्छु । कुनै वर्षको चाडपर्व टुटेको छैन । पहिला पहिला धेरै कार्यक्रमहरु लिएर जाने गर्थे । पछि पछि मलाई गाउँमा भेट्नेहरुले के कार्यक्रम छ यसपटक भनेर सोध्ने गर्नुहुन्थ्यो ।
यसपटकको दर्शैंमा घर पुग्दा फोटोग्राफी गर्ने भूत चढ्यो । आफ्नै गाउँका केही नयाँ तस्बिरहरु कैद गर्ने इच्छा जाग्यो । फुलपातीको अघिल्लो दिन घर पुगेको थिए । भोलिपल्टदेखि गाउँ घुम्न थाले ।
दोलखाका धेरै ठाउँहरु पुगेको छु । फोटोको लागि दोलखाका अधिकांश ठाउँमा पुगेको छु । कतिपय ठाउँमा पत्रकारको नाताले म मात्र पुगेको छु जस्तो लाग्छ । कतिपय ठाउँमा दोहो¥याई, तेहे¥याई पनि पुगेको छु । मलाई इच्छा लागेको ठाउँमा ऋणनै गरेर पनि घुमेको छु । कहिलेकाही गर्व लाग्छ, त्यस ठाउँको फोटो त मसँग मात्र छ भनेर । समय मिल्दा मेरो ल्यापटप, कम्प्यूटरमा भएको फोटो फोल्डरहरु खोलेर हेर्ने गर्छु । त्यति बेला कुन मोडमा खिचेको फोटो अहिले हेर्दा आफैलाई अचम्म लाग्छ । मेरो जिन्दगीको कमाई, सम्पत्तिनै यहि हो जस्तो लाग्छ ।
गोर्पाङ, यार्सा मेरो घरदेखि आधा घण्टा टाढा छ । यस पटक क्यामेरा हातमा बोकेर हिड्दा छुट्टै आनन्द आयो । कतिपय अवस्थामा मेरो गाउँमा क्यामेरा बोकेर हिड्दा लाज पनि लाग्छ । खुब ठूलो मान्छे भएछ भनेर कसैले कुरा पो काट्छ कि भनेर । त्यसैले म प्रायः गाउँमा त्यति धेरै क्यामेरा बोक्दिन/खिच्दिन । तर पनि टोल टोलको, मौसम मौसमको फोटोहरु कैद गरेको छु । १२/१३ वर्षअघिदेखिको फोटोहरु मसँग सुरक्षित छ । मेरो कम्प्यूटरले साथ दिएसम्म । प्रविधि हो त्यति भर लाग्दैन ।
२०५३ साल भदौमा झ्याँकुमा ठूलो पहिरो गयो । म कक्षा ८ मा पढ्थे । याद छ अहिले पनि । १४ जनाको ज्यान गयो । ठूलो पहिरो चाहि गोर्पाङमा गयो । धेरै जन धनको क्षति भयो । गोर्पाङ समथर भूभाग हो । पहिरो जाने कुनै आधारनै थिएन । तर प्रकृतिको खेल मान्छन क्यारे । शेर्पा जातिको बसोबास रहेको ठाउँ हो । आफ्नै भाषा, धर्म, संस्कृतिको धनी मानिन्छ यस गाउँलाई ।
धेरै समय भाको छैन यस ठाउँका मान्छेले आँगनमै गाडि देख्न र चढ्न पाएका । आफूले उत्पादन गरेका आलु, तरकारी पनि निर्यात गर्न सजिलो भएको छ । बत्तीको सुविधा छ । गाउँमै पसलको व्यवस्था छ । बारिभरी तरकारी, फलफूल प्रशस्तै । अन्नपातमात्र उत्पादन हैन । नगदेबालीको पनि प्रशस्तै सम्भावना बोकेको गाउँ । अहिले किवी र चिया बगानले पनि गाउँकै रुप फेरिएको छ । साना साना घरहरु । बारीको पाटाभरि तरकारी, फलफूल ।
विकासको लहर देख्दा मेरो क्यामेराले फुर्सद पाएन । एक घर, एक किवी जस्तै भएछ गोर्पाङ । कतिपयले व्यवसायिक रुपमा खेती गरेका छन्, कतिपयले घरको सो बढाउन । किवी फल्ने समय हो अहिले । घरको आँगननै ढाक्ने गरी किवीको बोट फैलिएको छ । लटरम्मै फलेको छ किवी ।
समाजशास्त्री विरमान शेर्पाले गाउँमै नयाँ पेशा अपनाएका छन् । गाउँकै सुन्दरता थपिने गरी चिया बगान बनाएका छन् । म पुग्दा एक जना दिदी चियाको मुना टिप्दै हुनुहुन्थ्यो । पहिला पहिला मलाई चिया भनेकै इलाम हो जस्तो लाग्थ्यो । इलाम पुग्नुअघि त झन् चियाको बोट कस्तो हुन्छ होला । कसरी फल्छ होला भन्ने मेरो जिज्ञासा । २ पटक इलामको चिया बगान घुमेपछि नेपालमै रहेछ भन्न थाले । तर, यस पटक गोर्पाङ पुग्दा इलामको चिया बगानको झल्को लाग्यो । सोचेको थिईन यति धेरै चिया खेती छ भनेर । बेला बेलामा विरमान शेर्पाको फेसबुक वालमा चाहि देख्ने गर्थे । जापान निर्यात गरेको भन्ने विरमान शेर्पाको स्टाटस पनि नदेखेको होईन । तर, विश्वास लाग्यो कि गरे के हुन्न र । के पढे लेखेका मान्छेले चाहि खेती गर्न हुँदैन र । जागिर नै खानु पर्छ र ? गाउँमा बारी बाँजो राखेर वेरोजगारको नाममा विदेशिनु पर्छ र ? १०/ १५ हजारको जागिरमा जिन्दगीनै खेर फाल्ने र ? कतै माटोले त सरापेको छैन ? लाखौ युवाहरु किन विदेशिएका होलान ? किन नेताको पछाडी जागिर, जागिर भन्दै दौडिने होला ? भन्ने मेरा मनमा प्रश्नहरु उब्जिन थाल्यो । मनमनै सोचे । अब स्थानीय सरकारले स्वदेशमा फर्केका युवाहरुलाई भेला गरेर कृषि पेशामा लाग्न बाटो देखाउन आवश्यक छ । वास्तविक किसानलाई अनुदानको व्यवस्था गरेर कृषि पेशाप्रति आकर्षित गर्न ढिला गर्नु हुँदैन । नयाँ नयाँ प्रविधिको प्रयोग गरेर कृषिनै उत्तम र सम्मानित पेशा हो भनेर स्थानीय सरकारले घोषणा गर्नुपर्छ जस्तो मेरो मनमा आईर¥यो । चुनावमा झण्डा बोक्न मात्र सिकाउने होइन । जागिरको प्रलोभन दिने होइन । उच्च शिक्षाको नाममा विदेश धपाउने होइन । अहिले शहर, विदेशबाट हजारौ युवाहरु गाउँ फर्केका छन् । तिनीहरुको लागि तुरुन्तै नयाँ योजना, नीति, कार्यक्रम किन ल्याउन नसकेका होलान भन्ने मेरो मनमा प्रश्नहरु उब्जिन थाल्यो । मैले क्यामेरा खोल्न छाडे । करिब २/३ घण्टाको यात्रामा यिनै प्रश्नहरुले मन घुमाई र¥यो ।
गाउँ अहिले सुरक्षित छ । जस्तासुकै महामारीले पनि गाउँका मान्छेहरु भोकै मर्नु पर्दैन । कुनै रोगब्याधी लाग्दैन । अर्गानिक उत्पादन गाउँमा छ । सुरक्षित बास गाउँमा छ । किन कि यातायातको सुविधा छ । बत्ती, टेलिफोन, इन्टरनेटको सुविधा छ । घरहरुनै भौतिक दुरीमा निर्माण गरेका छन् । नजिकै जंगल छ । ठूला ठूला बारीका पाटाहरु छन् । गौरीशंकर हिमालको चिसो हावाले सामान्य रोगहरु उडाउछ जस्तो लाग्छ । घर नजिकैको मुहानमा उम्रेको पानी पिउन पाएका छन् । घर आँगनमै उब्जेका तरकारी खान पाएका छन् । आफैले पालेका भैसीको पानी नहालेको दूध, मही, घीउ खान पाएका छन् । बेसार, कागती आफ्नै बगैचामा फलेको छ । हँसिला अनुहार देख्न पाएका छन् । यस पटकको यात्राले गाउँमै केही गर्न सकिन्छ । सम्भावनानै सम्भावनाका खानी देखें गाउँमा । अब बेलै.मा कृषि खेती अपनाएर आत्मनिर्भर हुने वातावरण देख्छु । बेलैमा स्थानीय सरकारको ध्यान जाने हो भने पक्कै पनि गाउँ आएका युवाहरु फर्किने छैनन् ।
लामा नेपाल पत्रकार महासङ्घ दाेलखा शाखाका अध्यक्ष हुन्
प्रतिक्रिया दिनुहोस्