काठमाडाैँ/ प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो । सो अभियानको सुरुवात मङ्गलबार गोरखापत्र संस्थानबाट गरिएको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले केही हुँदैन भन्ने गलत भाष्य हटाइ आशाको सञ्चार गर्न सञ्चारकर्मीको विशेष भूमिका हुने बताउनुभयो । गोरखापत्र नेपालको पत्रकारिताको मानक भएकाले यहीँबाट ‘न्युज रुम’ मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनमानसमा कुनै बेला पत्रिका भनेको गोरखापत्र नै हो भनेर बुझिन्थ्यो । दक्षिण एसियाकै पुरानो सञ्चार संस्थामा पर्ने यसका प्रकाशन मार्फत रचनात्मक पत्रकारिताको अभियानलाई जोडिएको हो।”
सन् ६० को दशकदेखि रचनात्मक पत्रकारिता कुनै न कुनै तवरले आएपनि नेपालमा फाट्टफुट मात्रै यसको प्रयोग भएको उहाँले बताउनुभयो । अहिले मूलधारको पत्रकारितामाथि चुनौती रहेकाले मिडिया बचाउनुपर्ने, संस्थागत र विश्वासनीय बनाउनुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस काउन्सिल नेपालले विज्ञसँगको छलफल र सम्पादक संवादपछि अहिलेको पत्रकारिताको धार बढी सिर्जनात्मक र रचनात्मक बनाउन सकिएन भने पत्रकारितामाथि प्रश्न उठीरहने देखिएको छ ।”
अहिले काउन्सिलले ‘न्युज रुम’ मा जाने र त्यहाँको रचनात्मक पत्रकारिताको अभ्यास बुझ्ने र त्यसलाई बढुवा दिन ‘न्युज रुम’, राज्य, सम्पादक र व्यवस्थापनले के गर्नुपर्छ भनेर काउन्सिल केन्द्रमा बसेर बहस सिर्जना गरिरहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र संस्थानका प्रकाशनमा भइरहेको रचनात्मक पत्रकारिताको प्रयोगबारे काउन्सिलको हलमा अरू पत्रकार बोलाएर छलफल गर्न पाइयोस भन्ने काउन्सिलले चाहेको उहाँले बताउनुभयो ।
रचनात्मक पत्रकारितामा कुनै पनि पक्षलाई गाली नभएर सृजनात्मक रूपमा विशेष खोज र अध्ययन गरेर समाधान दिइनुपर्ने उहाँले बताउनुभयो ।
गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले रचनात्मक पत्रकारिता वा विकास पत्रकारिता जे भनिएपनि अबको पत्रकारिताले समस्या मात्रै उजागर गर्ने नभएर समाधानको खोजी गर्नुपर्ने बताउनुभयो । गोरखापत्र विरासत र साधनस्रोतका हिसाबले अरू सञ्चारमाध्यमभन्दा समृद्ध भएको उहाँले बताउनुभयो । गोरखापत्रले सुधारका लागि कार्ययोजनसहित अघि बढीरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संस्थानले गरिरहेको सुधारको प्रयत्न गोरखापत्र, द राइजिङ नेपाल र यहाँका अरू प्रकाशनमा पढ्न पाइन्छ ।”
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा विश्वास कायम राख्नका लागि पनि समाधानमुखी पत्रकारिताको महत्व रहेको बताउनुभयो । अहिलेको समाजको अपेक्षाअनुसारको पत्रकारिता भइरहेको छ छैन भनेर समीक्षा गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गोरखापत्र जेठो र पुरानो अखबार भएपनि यसले पनि समाजले खाजेको विषय समाचारमा पस्कन नेतृत्वदायी भूमिका निभाइरहन निरन्तर छलफल आवश्यक छ ।”
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले निरन्तर रूपमा रचनात्मक पत्रकारिताको छलफल अघि बढाइरहेको बताउनुभयो । पत्रकारिताको पाठ्यक्रममा नै यसलाई समेट्न पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलले सञ्चारमाध्यममा रचनात्मक पत्रकारिताका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराइले काउन्सिलले गोरखापत्रले रचनात्मक पत्रकारिताको नेतृत्व गर्नसक्छ भनेर सोच्नु संस्थानका लागि महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले रचनात्मक पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत भुसालले गर्नुभएको थियो । सो कार्यक्रममा संस्थानका विभिन्न प्रकाशन, अनलाइनका सम्पादक र समाचारदातालगायगको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्