धर्म/संस्कृतिबिचार / ब्लगयो पनिसमाचारस्वास्थ्य

ओछ्यान पर्दा गुमनाम

दिलबहादुर केसी

अभयपुर अर्थात द्वाल्खा सहरलाई मन्दिरै मन्दिरको सहरको रुपमा चिनिन्छ । भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको यो पुरातात्विक सहर मन्दिर, चैत्य, स्तुपा, हरेक टोल र घरहरुसँग नै इतिहाँस जोडिएको छ । 

नेवारहरुको बसोबास रहेको यो सहरमा भाषा पनि आफ्नै मौलिक छ । काठमाडौं र तिब्बत बीचको व्यापार हुने परम्परागत पदमार्ग चल्दा यो सहरको चहलपहल बढेको पाइन्छ । त्यही भएर द्वाल्खाका तत्कालिन राजा इन्द्रसिंह देवले नेपालमै १६ औं सताब्दीमै पहिलो पटक सिक्का प्रचलनमा ल्याए । 

द्वाल्खामा हरेक महिना र पर्वमा पूजा जात्रा देखाउने प्रचलन छ । गाई जात्रा, हिले जात्रा, भैरवकुमारी जात्रा, खड्ग जात्रा, मछिन्द्रनाथको रथ तान्ने जात्रा अहिले पनि धेरैको ध्यान तान्ने जात्राहरु हुन् । यि जात्रामा हजारौं बाहिरबाट मेला हेर्न आउँछन् । 

हरेक मन्दिर र चैत्येको आ–आफ्नै इतिहास र महत्व छ । टोलैपिछे मुर्ती, पाटी, डबली छन् । जात्रा पर्वमा बजाउने बाजा पनि फरक फरक छन् । त्यही भएर स्थानीय संस्कृतिविद् शान्तकृष्ण श्रेष्ठ दोलखाको इतिहाँस नलेखी नेपालको इतिहास अपूर्ण हुने बताउँदै आएका छन् । 

द्वाल्खा सहर बाहिरबाट हेर्दाभन्दा भित्र पुगेपछि यहाँको परम्परा, संस्कृति, रीतिरिवाज, भाषा, जात्रा पर्व, मठमन्दिरको इतिहाँस र महत्व धेरै छ । तर यसको बारेमा जानेका र बुझेका कमै छन् । तिनै मध्येका एक हुने द्वाल्खाका जीउँदा इतिहास तीर्थनारायण जोशी । यही सहरको नामबाट जिल्लाको नाम दोलखा रहन गयो । यहाँको प्रशिद्ध भीमेश्वर मन्दिरको नामबाट नगरपालिकाको नामाकरण भीमेश्वर नगरपालिका भयो ।

तीर्थनारायण जोशी द्वाल्खा जानेका इतिहाँसकार हुन् । पुराना पुस्ता वितेर गएकाले द्वाल्खाका बारेमा धेरै अध्ययन गरेर जानकारी दिन सक्ने अहिलेका एक मात्र जिउँदा इतिहासकार जोशी आफैं ओछ्यान परेका छन् । जिवन र मृत्युसँग संघर्ष गरिरहँदा केही महिनादेखि जोशी आफैं गुमनाम झैं छन् ।

जोशी अहिले उमेरले ६४ वर्ष पुगे । ४२ वर्ष शिक्षण पेशामा बिताए । खारे, लापिलाङ, राम्पा, फुलपापछि अन्तिम १६ वर्ष घर नजिकैको एतिहासिक राजकुलेश्वर निमाविमा शिक्षण गरेर सेवा निवृत्त भए । हरेक जात्रापर्वमा भेटिने जोशी अहिले आफ्नै निवास भीमेश्वर नगरपालिका वडा नं. २ डोकलुङ्गामा ओछ्यानमा भेटिन्छन् । 

घाँटीको क्यासरबाट पीडित जोशी ४ महिनादेखि उठेर समेत बस्न नसक्ने अवस्थामा छन् । खाना पनि पाइपको माध्यमबाट खुवाउनु पर्छ । बोल्दा पनि कस्ट हुने भएपछि धेरै बोल्दैनन् । खाना र ओषधी खाएपछि उनी ओछ्यानमै ऐतिहाँसिक पुष्तक र दस्तावेजहरु पढ्ने र लेखनमै लागेको भेटिन्छ । घाँटीमा समस्या देखिएपछि गत माघमा अस्पतालमा जचाउँदा घाँटीमा क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेर औषधी सेवन गर्दै आएका छन् ।

लेखनमा जोशी

लेखनमा रुची राख्ने जोशीले जन्मदेखि मृत्यु संस्कार, दोलखाको चाडपर्वहरु, भीमेश्वर एक आस्था विश्वास अनेक, देवीकोट (त्रिपुरा सुन्दरी) भगवती, जोशीखलक काश्यप गोत्रीको बंशावली, दोलखाको खेतीमा फेर प्रथा आदीको लेखहरु प्रकाशन गरेका छन् । दोलखा महोत्सवमा दोलखाको हिलेजात्रा (गुुल्लापर्व) को बारेमा कृति प्रकाशित गरेका छन् । केही व्यक्तिहरुले आफूले लेखेका इतिहाँस आफ्नै नाममा छापेको समेत गुनासो गरे ।

अध्ययन र लेखनमा रुची राख्ने जोशी पत्रकारितामा जोडिए । द्वाल्खा भाषामा प्रकाशित कुल्सी मासिक हवाइ पत्रिकाको सम्पादक भए । ऐतिहासिक पत्रिकाहरु चिमाल, आँखा, खोतलखातल, जिरी दीप, भीम मावि स्मारिका लगायतका दजर्न पत्रिकाहरुमा आफ्नो लेख प्रकाशित गरेका छन् । नेपाल पत्रकार महासंघको साधारण सदस्य भएर दोलखा शाखाको दोस्रो कार्यकालका लागि २०५५ सालमा कार्य समिति सदस्य पनि भएको नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धरले बताए । द्वाल्खा सहरको बारेमा केही लेख्नु पर्दा जोशी धेरै पत्रकार र अनुसन्धानकर्ताहरुको स्रोत हुन् । 

दोलखाको कम्युनिष्ट जगका खम्बा 

भीमेश्वर नगरपालिका वडा नं. २ लाई अहिले पनि कम्युनिष्ट किल्लाकै रुपमा चिनिन्छ । २०७४ को स्थानीय तहको निर्वाचन बाहेक साविक दोलखा गाविस र हालको वडा नं. २ मा हरेक पटक नेकपा एमालेले जितेको छ । २०५२ सालमा जनयुद्ध सुरु हुनुपूर्वका नेकपा माओवादी भूमिगत हुनु पूर्वका दोलखाका ५ भाई मध्ये हेमबहादुर श्रेष्ठ तीर्थनारायणकै छिमेकी हुन् । त्यही पृष्ठभूमिले श्रेष्ठ संविधान सभाको सभासदसम्म भए ।

जोशी शिक्षणसँगै राजनीतिमा विद्यार्थी जीवनदेखि नै सक्रिय राख्थे । २०३६ सालमा महेन्द्ररत्न क्याम्पस काठमाडौंमा विद्यार्थी आन्दोलनदेखि उनी राजनीतिमा लागेका हुन् । दोलखा बजारमा कम्युनिष्ट विजारोपण गर्ने र हुर्काउने उनैले गरेको नेकपा एमाले भीमेश्वर नगर कमिटी इञ्चार्ज ज्ञानेन्द्र प्रधान दाबी गर्छन् । ‘अहिले एमालेको दोलखामा जुन बलियो संगठनको रुपमा छ, त्यसको जग तीर्थनारायण नै हुन्’ उनले भने ‘म पनि उनकै प्रशिक्षणबाट कम्युनिष्ट भएँ, यो अवस्थामा छु, म जस्ता धेरै छन् ।’ तिलिञ्चो परिवार भन्ने सामाजिक संस्था खोलेर त्यही मार्फत जोशीले पञ्चायती कालमा तत्कालिन नेकपा मालेको संगठन विस्तार गरे ।

दोलखाका कम्युनिष्ट नेतहरु स्व. पशुपति चौलागाई र आन्द प्रसाद पोखरेलका समकालिन हुन् । भूमिगत कालमा तत्कालिन नेकपा मालेका नेताहरु अमृत बोहोरा, माधव पौडेल, सुरेश कार्की लगायतका नेताहरुको सदरमुकाम नजिकको आश्रयस्थल जोशीकै घर थियो । दिनभरी घर भित्र बसेर बच्चा हेरेर रातभर संगठन विस्तार गर्ने काम यही घरमा बसेर गरेको तीर्थनारायणकी श्रीमती विनीता जोशीलाई सम्झना छ । तर अहिले दुःखका बेला कसैले पनि नसम्झेको उनको दुःखेसो छ । जोशीले जोखिम मोलेरै शिक्षण पेशासँगै पार्टी संगठनका लागि गरे । भीमेश्वर नगर कमिटीको एक कार्यकाल शिक्षक हुँदै अध्यक्षको भूमिका पनि निर्वाह गरे । त्यस बाहेक पेशागत संगठनको आजिवन सदस्यता लिए अरु केही पदीय लोभ पनि गरेको देखिन्न ।

सम्बन्धित समाचार