अर्थ र ब्यापारकृषि र सहकारीबागमतीसमाचार

कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको प्राथामिकता– मन्त्री श्रेष्ठ

दोलखा/विगत ११ बर्षदेखि कृषकहरुसंग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलवा स्वरोजगारमूलक तालिम, विउ– विजन वितरण, कृषि प्रविधि सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गाँउघर साना किसान कृषि सहकारी संस्था लि.मेलुङ दोलखाले बुधवार १२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सो अवसरमा बागमति प्रदेशका कृषि तथा पशुपंक्षि विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि क्षेत्रको विकासको लागि प्रदेश सरकारले उच्च प्राथामिकता दिएको उल्लेख गर्नुहुदै सहकारीहरुको भूमिका पनि प्रशंसनिय रहेको बताउनु भयो ।
मन्त्री डा. श्रेष्ठले कृषि उत्पादनमा बृद्धि, घरेलु तथा साना उद्योगको विकास तथा स्थानीय स्तरमा रोजगारी सृजना गर्ने कुरामा स्थानीय पालिकाहरुसंगै सबै क्षेत्रको सहभागिता आवश्यक रहने बताउनु भयो ।
दोलखाको मेलुङ गाँउपालिका अध्यक्ष हिराकुमार थोकरले कृषि तथा पशुपालको क्षेत्रलाई उत्पादन मूलक र रोजगारी मूलक बनाउने कुरामा पालिकाको पूर्ण सहयोग रहेको उल्लेख गर्नुहुदै किसानहरुलाई पालिकाको तर्फबाट आवश्यक कृषि प्रविधि, प्राविधिक सहयोग र विउ– विजनहरु समेत उपलब्ध गराउदै आएको बताउनु भयो ।
गाँउघर साना किसान कृषि सहकारी संस्था लि.मेलुङका अध्यक्ष श्रीराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य गोपाल न्यौपाने, केन्द्रीय विभागका सदस्य रविन्द्र कार्की, मेलुङ गाँउपालिकाका उपाध्यक्ष गायत्री आचार्य, वडा नम्बर– ६ को वडा अध्यक्ष कुसुम लामा, नेकपा एकिकृत समाजवादी मेलुङ पालिका कमिटी अध्यक्ष ललितवहादुर वस्नेत, त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठ, गाँउघर साना किसान कृषि सहकारीका प्रबन्धक भुप प्रसाद आँपागाई लगायतले मन्तवय व्यक्त गर्नु भएको थियो ।


विगत ११ बर्ष देखि दोलखाको मेलुङ, शैलुङ र तामाकोसी गाँउपालिका कार्यक्षत्र बनाई युवाहरुलाई स्वरोजगार बनाउन, स्थानीय कृषि व्यवस्था परिर्वतन गर्न, उन्नत जानका पशुपालन तथा नश्ल सुधार गर्न तथा ग्रामिण अर्थ व्यवस्था परिर्वतन गर्न गाँउघर साना किसान कृषि सहकारी संस्था लि.ले महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष श्रीराज पोखरेलले बताउनु भयो ।
ग्रामिण क्षेत्रमा साना उद्योग, व्यवसाय र कृषि उत्पादनमा बृद्धि जस्ता कुरालाई प्राथामिकता दिदै गाँउघर साना किसान कृषि सहकारी संस्था लि. ले १४ प्रतिशत ब्याजदरमा १२ लाखसम्म व्यवसायीक तथा लघुउद्यम कर्जा, नौ प्रतिशत ब्याजदरमा पाँच लाखसम्म पशु कर्जा, पाँच प्रतिशत ब्याजदरमा ५० हजारसम्म जिविकोपार्जन कर्जा, नौ प्रतिशत ब्याजदरमा दुई लाखसम्म तरकारी खेती कर्जा, तीन प्रतिशत ब्याजदरमा पाँच लाखसम्म बागमति प्रदेश सहुलियत कर्जा, आठ प्रतिशत ब्याजदरमा दुईलाखसम्म युवा स्वरोजगार कर्जा, १० प्रतिशत ब्याजदरमा ५० लाखसम्म ग्रामिण स्वाबलम्बन कर्जा र निर्वाजी ५० हजारसम्म उपचार खर्च कर्जा उपलब्ध गराउदै आएको अध्यक्ष पोखरेलले बताउनु भयो ।
सहकारीले गत बर्ष १८ जना सदस्यलाई इजरायलमा कृषि सम्बन्धि तालिमको लागि पठाएको अध्यक्ष पोखरेलले बताउनु भयो । इजरायल– गाजा युद्धको कारण यो बर्ष भने तालिमको लागि पठाउन नसकिएको पोखरेलले बताउनु भयो ।

सम्बन्धित समाचार