कला / साहित्यबिचार / ब्लगमुख्य समाचारयो पनिसमाचार

अध्ययनशील र क्षमतावान शेर बहादुर

जीवन लामा
अनलाईन न्यूज पोर्टलको जमाना नहुँदा छापा माध्यममै निर्भर हुनु पथ्र्यो । एक दिन अघिको समाचार भोलिपल्ट मात्र पत्रिकामा छापिन्थ्यो । र पढ्न पाइन्थ्यो । अझ कला साहित्यप्रेमीहरुका लागि कान्तिपुर कोशेली महत्वपूर्ण ठानिन्थ्यो । शनिबारको कोशेलीमा प्राय पहुँचवाला व्यक्तिहरुको मात्र कृतिको समाचार, समीक्षा र कथा, कविता प्रकाशन हुन्छ जस्तो लाग्छ अझै मलाई ।
मैले यो सन्दर्भ किन कोट्याएको भने शेर बहादुर भुजेल र म शनिबारको दिन सातदोबाटोमा काठमाडौबाट आउने सुपर गाडी घण्टौ कुर्दाको क्षण स्मरण हुन्छ शनिवारको कोशेली सम्झदा । हामी प्राय शनिबारको कोशेलीमा छापिएका किताबको बारेमा अध्ययन गरी ती किताब मगाउने, पढ्ने गथ्र्यौ । जो पहिला काठमाडौ जाने गर्छ उसैलाई फलानो किताब ल्याईदिनुस है भनेर मगाउथ्यौ । मलाई पनि किताब पढ्ने बानी बसेको उही शेरजीको संगतले हो ।
शेरजी र मेरो संगत जोडिएको पनि लगभग २०÷२१ वर्ष पुगको रहेछ । यही अवधिमा उनको कोठामा पुग्दा नयाँ नयाँ किताबहरु देख्थे । पछि मलाई पनि साहित्यिक किताब पढ्न उनैले सुझाए । संगत गुणानै मान्छेको व्यवहार हुन्छ भने जस्तै हामी साहित्यमा जोडियौ । मैले कविता लेख्न थालेको पनि उनैको संगतले हो । उनी प्राय गजल, कथा, हाइकु लेख्थे र बढी उपन्यास पढ्थे । महिनामा १÷२ वटा उपन्यास किन्थे पनि । म आफैले उनलाई ४÷५ हजारको किताब एकैपटक काठमाडौबाट ल्याई दिएको स्मरण ताजै छ । पछिल्लो दिनहरुमा फेसबुक, अनलाईनहरुमा पुस्तकको बारेमा प्रशस्तै समाचार, समीक्षा आउन थालेपछि झन सजिलो भयो । उनलाई कुन स्रष्टाको किताब कुन हो भन्ने कुरा राम्ररी थाहा हुन्थ्यो । स्रष्टाको बारेमा पनि पूर्ण जानकारी राख्थे । मलाई अहिले पनि कतिपय शब्दहरुको बारेमा शब्दकोषनै पल्टाउनु पर्छ तर उनलाई शब्दकोष आवश्यकता पर्दैन थियो ।
चरिकोटमा उनी पटक पटक डेरा सरेका थिए । उनको धेरै किताबहरु डेरा सर्दा हराएको मलाई सुनाउनु हुन्थ्यो । म प्राय उनको डेरामा पुग्दा धन सम्पत्तीनै किताब जस्तो देखिन्थे । हामी जिस्काउथ्यौ पनि, कसैले सोध्यो भने जागीरको पेन्सन चाहि यही किताब हो भन्नु पर्छ है भनेर । उनैको लहलहैमा पनि मैले धेरै किताबहरु किनेको छु । उनले नयाँ किताबको बारेमा अलिकति भन्ने बित्तिकै म पनि किन्न हौसिन्थे र किन्थे । हामी रेकर्डको लागि पनि किताब किन्ने गथ्र्यौ । प्राय पछिल्ला दिनमा मदन पुरस्कार प्राप्त किताबहरु हामीसँग सुरक्षित छ जस्तो लाग्छ । उनको त प्राय जागिरको १० प्रतिशत पैसा त किताबमै जान्थ्यो होला जस्तो लाग्छ । त्यसैले उनको साहित्य र अध्ययनमा विशेष रुची र क्षमता म ठान्दछु । मेरो बानी प्राय किताब अरुलाई दिन्न । उनी चाहि प्राय मन परेको मान्छेलाई दिन्थे पनि । उनी पनि अरुसँग मागेर पढ्थे । तर मलाई चाहि माग्दैन थियो, यसले दिदैन भन्ने थाहा थियो उनलाई । हामीमा फरक यति मात्र थियो । उनले हरेक किताबमा आफ्नो नामको स्ट्याम्प लगाउथे । मलाई शेर बहादुरले दिएको किताब यही हो भनेर सुरेश राउत दाईले देखाउनु भएको थियो । पुुरानो उपन्यास थियो त्यो किताब । त्यसमा पनि उसको नाम थियो स्ट्याम्प लगाएको । हामीले कुरा पनि गर्यौ उनको बानी व्यवहारको बारेमा । पछिल्ला दिनमा चिरञ्जीवी मास्के, उनी र मबीच किताबको कुरा हुन थालेको थियो । हामी तीन जना जम्मा हुँदा या चिया गफमा प्राय नयाँ किताब कुन पढिरहेको छ नि भनि सोध्ने गथ्र्यौ । शेरजी र मैले चरिकोटमा एउटा रिडर्स क्लव स्थापना गर्ने सोचमा थियौ । ती योजनाहरु अपूरो नै रह्यो ।
उनीसंग प्राय दिनमा एकपटक भेट हुने, नभएमा फोनमा मात्र भएपनि कुरा हुन्थ्यो । कतिपय योजनाहरु एक महिना अघिदेखि बनाउथ्यौ, सुनाउथ्यौ । भेटमा प्राय साहित्य र किताबको सन्दर्भ नउठेको कमै दिनहरु थियो होला । गत फागुनमा उनको निधन हुनुअघि केही हप्ता म काठमाडौ थिए । मलाई समभोग किताब मगाएको थियो । मैले भोटाहिटीका ६÷७ वटा किताब पसलहरु धाँए । कतै भेटिएन । उनलाई यी कुरा चरिकोट फर्केपछि भने, मसँग रिसाए उनी । तुरुन्तै ३ दिनभित्र अनलाईनबाट मगाई सकेको रहेछ किताब । पछि भन्दै थिए किताबको मूल्यभन्दा डेढ सय बढी पर्यो भनेर । उनलाई मन परेको किताब नभेटेमा अनलाईनबाटै मगाउने या अनलाईनमा पीडिएफ भएपनि पढ्ने बानी थियो उनको । हामी पढ्ने मात्र होइन, बेला बेलामा पढेको किताबको समीक्षा पनि गथ्र्यौ । जसले गर्दा पढेको किताबको बारेमा स्मरण रहिरन्थ्यो । चिया खाँदा पनि हामी किताबको सन्दर्भ जोड्थ्यौ । साहित्यको सन्दर्भ जोड्थ्यौ । कतिपय अवस्थामा देश विदेशमा अरुले गरेका साहित्यिक कार्यक्रमको बारेका गफिन्थ्यौ । दोलखामा यस्ता खालका कार्यक्रमको बारेमा कल्पना गथ्र्यौ । वार्षिकरुपमा पोखरामा आयोजना हुँदै आएको मिनी लिटेरेचर फेस्टिभलको बारेमा समीक्षा चल्थ्यो । दोलखाको साहित्यको विकास र प्रवद्र्धनको बारेमा चिन्तन, मनन गथ्र्यौ । कालिञ्चोक एफएमको बहसमुखी कार्यक्रम नागरिक बहसमा साहित्य कार्यक्रम दर्जनौ गर्यौ होला । कालिञ्चोक एफएमबाट हामीले साहित्यिक कार्यक्रम उत्पादन गर्यौ पनि । रेडियोबाट ३ अंक त्रैमासिक रुपमा पत्रिका बिसौनी प्रकाशन गर्यौ पनि । उनको धेरै पत्रपत्रिका र स्मारिकाहरुमा कविता, कथा, हाइकु र गजल प्रकाशन भएका छन् । उनले आफ्नो नामको टाइटलमा कहिले शेबभु त कहिले सिम्टेली लेख्थे ।
पछिल्ला केही वर्षहरुमा उनको लेखनमा कमि थियो । म भन्थे पनि तिमी लेखनमा अलि अल्छी गर्न थाल्यौ है लेख्नु पर्छ भनेर । अध्ययनमा भने निकै जाँगर चलाउथ्यो । अझै ६÷७ वटा किताबहरु लाईनमा छ पढ्न भन्थे उनी । मेरो पनि धेरै किताबहरु लाइनमै छ पालो पाको छैन । केही महिना भयो योजना बुनेको । मैले उनको एउटा किताब छपाई दिन्छु भनेको थिए । तर उनी आफैले अल्छि गरेकाले ती काम हुन सकेन । मान्छे मरेर जान्छ तर कृति कहिले मर्दैन है शेरजी भन्दाखेरी हो है भन्थे । ती काम अधुरो रह्यो । मलाई अहिले पनि खुटखुटी लागेको छ ।
तन, मन मिलेकै कारण होला । हामीले गत वर्ष असोजदेखि बुकलिंन्क स्थापना गर्यौ चरिघ्याङमा । बुकलिंन्क कसरी अघि बढाउने भन्ने बारेमा धेरै योजना निर्माण गरेका थियौ । पछि सफल हुन सकेन । उनले ३÷४ महिनापछि मलाई एक्लै चलाउन आग्रह गर्नुभयो । मासिक २० हजार खर्च हुन्थ्यो । गत वर्षको पुस, माघदेखि म आफैले घरभाडा र कर्मचारीलाई तलब दिदैं आएको छु । उनी भन्थे यसलाई बन्द गर्नुपर्छ तिमी एक्लै किन घाटा खान्छौ । मेरो लागि रहरको विजनेस ठान्थे र ठान्दै आएको छु । आशा लाग्छ कुनै दिन त कसो नहोला । तर खै कहिलेसम्म थाम्ने हो थाहा छैन ।
उनी हरेक विषयको अध्ययन गरेर होला क्षमतावान थिए । दोलखाको सन्दर्भमा फिचर राईटिङ राजेन्द्र दाई र शेर भुजेल मात्र लाग्दछ अहिले पनि मलाई । यदि म गलत रहेन छु भने अरुमा खासै देख्दिन । उनले धेरै पटक फेलोसीप पनि पाएका थिए । मैले पाएको फेलोसीपको लागि रिपोर्टिङमा जाँदा उनलाई छुटाउदिनथे । कहिलेकाही हामी झगडा गथ्र्यौ । कहिलेकाही घण्टौ गफिथ्यौ । उनी आफै भन्थे जसले गाली गर्छ उसैले धेरै माया गर्छ भनेर । मैले राखेको हरेक प्रस्तावमा उनको साथ सहयोग हुन्थ्यो । कालिञ्चोक एफएममा समाचार प्रमुख हुँदा धेरै राम्रा राम्रा तालिम, गोष्ठी उनले भ्याएका थिए । बीबीसी मिडिया एक्सनको सहयोगमा उत्पादन गरिने कार्यक्रम नागरिक बहसमा उनको स्किृप्ट लेख्ने जिम्मेवारी हुन्थ्यो । जाँगर चलाएर लेखेका स्किृप्ट मीठो हुन्थ्यो । बीबीसी मिडिया टिमले पनि उनको स्किृप्ट खुब मन पराउथे । प्रस्तावपत्र लेखन र प्रतिवेदन प्राय उनैको भागमा पथ्र्यो । चरिकोट मिडिया फाउण्डेशनको होस या अन्य संघसंस्थाको प्रस्तावपत्र र प्रतिवेदन उनैले लेखेका थिए । पत्रकार महासंघमा हुँदा पनि उनैले तयार पारेका प्रस्तावपत्र र प्रतिवेदनहरु छन् ।

आज तिम्रो १३ औं पूण्यतिथि । हार्दिक श्रद्धासुमन शेर बहादुर भुजेल । भगवानसँग यही प्रार्थना गर्दछु । स्वर्गमा बास होस । आत्मले शान्ति पाओस ।

सम्बन्धित समाचार