दाेलखा/दोलखाको भिमेश्वर नगरपालिकास्थित एपेक्स स्कूलले आयोजना गरेको ‘एपेक्स ओलम्पियाड (जुनियर तथा सिनियर)’ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका साना विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित यस प्रतियोगितामा कक्षा यूकेजीका सलिन बुढाथोकी र सिराक्रिनब श्रेष्ठ सबैभन्दा धेरै ५/५ स्वर्ण जित्ने खेलाडी बनेका छन्।
प्रतियोगितामा प्ले-ग्रुपदेखि कक्षा ५ सम्मका जुनियर ब्लक र कक्षा ६ र ७ का सिनियर बलका विद्यार्थीहरूले विभिन्न २१ वटा खेल विधामा प्रतिस्पर्धा गरेका थिए। खेलकुदका माध्यमबाट बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास विद्यालयले लिएको छ। खेलकुदले बढाउँछ आत्मविश्वास: प्रतियोगिताका बारेमा जानकारी दिँदै प्रिन्सिपल नशीब कायस्थले साना उमेरदेखि नै खेलकुदमा सहभागी हुँदा बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य अब्बल हुने बताउनुभयो। उहाँका अनुसार वार्षिक परीक्षाको पूर्वसन्ध्यामा खेलकुद आयोजना गरिनुको मुख्य उद्देश्य विद्यार्थीहरूमा हुन सक्ने परीक्षाको तनाव कम गर्नु र उनीहरूको मनोबल उच्च राख्नु हो।
राष्ट्रपति कपमा ऐतिहासिक सफलता: एपेक्स स्कूलले यसै वर्ष खेलकुदको क्षेत्रमा अर्को ठूलो फड्को मारेको छ। भिमेश्वर नगरपालिकाद्वारा आयोजित राष्ट्रपति कपमा पहिलो पटक सहभागी भएको एपेक्सले सानदार प्रदर्शन गर्दै ४ स्वर्ण र १ कास्य पदक सहित समग्र प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। “हामी विद्यार्थीको चौतर्फी विकासका लागि केवल किताबी ज्ञानमा मात्र सीमित नभई नयाँ-नयाँ रचनात्मक गतिविधिहरू आयोजना गर्दै आएका छौँ,” प्रिन्सिपल कायस्थले भन्नुभयो। सिनियर तर्फ पुरस्कार वितरण १३ गते हुने: प्रतियोगिता सम्पन्न भए पनि सिनियर तर्फका विजेताहरूको सम्मान भने बाँकी नै रहेको छ।
विद्यालय प्रशासनका अनुसार सिनियर तर्फका विजयी खेलाडीहरूलाई यही चैत १३ गते एक विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिने कार्यक्रम तय भएको छ। दोलखा जिल्लाको शिक्षा क्षेत्रमा उदाहरणीय क्रियाकलाप गर्दै आएको एपेक्स स्कूलले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शैक्षिक गुणस्तरसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्