समाचारस्वास्थ्य

सहयोगीको खोजिमा मिर्गौला पीडित राजुप्रसाद

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ६ रामकोटका ४५ बर्षिय राजुप्रसाद न्यौपाने मिर्गौला प्रत्यारोपणको लागि सहयोगीको खोजिमा रहेका छन् । विगत १० महिना देखि दुबै मिर्गौला फेलभै अशक्त बनेका न्यौपानेलाई अहिले भाइ नातापर्ने श्रीकृष्ण न्यौपानेले आफ्नो घरमा एउटा कोठा दिएर आश्रयमा राखेका छन् ।

पेशाले सवारी चालक रहेका राजुप्रसादले आफ्नो कमाईबाट सिंगो परिवारको रेखदेख गर्दै आएका थिए । २०७१ सालमा उनको श्रीमती, छोरा र छोरीले अङ्श लिएर छुट्टै बसेपछि हाल उनी एक्लै रहेका छन् । दुबै मिर्गौला फेल भएर विरामी परेपछि अहिले उनीसंग हेरचाह गर्ने सहारा पनि नभएको र सम्पत्ति पनि नरहेको श्रीकृष्ण न्यौपानेले बताए ।

नियमित डाइलसिस गराउदै आएका राजुप्रसाद न्यौपानेको दुबै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएको भएपनि आर्थिक अभावका कारण त्यो सम्भव नभएको श्रीकृष्णको भनाई छ ।

मिर्गौला फेल भै विरामी परेका राजुप्रसाद आफुलाई अझै बाँच्ने चाहना भएपनि परिवारका सदस्यले सहयोग नगरेको र आफुसंग सम्पत्ति नभएकोले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताउछन् । उनले सहयोगी मन भएकाहरु लाई मिर्गौला प्रत्यारोपणको लागि आर्थिक सहयोग गर्न आग्रह पनि गरेका छन् ।

मिर्गौला पीडित राजुप्रसादलाई नियमित डाइलसिस गर्न समेत कठिन भै रहेकोले आर्थिक सहयोगको लागि सबैलाई आग्रह गरिएको श्रीकृष्ण न्यौपाने बताउछन् । राजुप्रसादलाई सहयोग गर्न चाहनेले पौरखी कृषि सहकारी संस्था दोलखामा उनको नाममा रहेको खाता नम्बर ००१००५८३९ मा सहयोग रकम जम्मा गरिदिन सक्ने श्रीकृष्ण न्यौपानेले बताए ।

सम्बन्धित समाचार