दोलखा/निर्वाचन सुरक्षाको लागि सेना परिचालन गर्ने सरकारको निर्णय अनुसार दोलखामा बुधवारबाट चरिकोट स्थित गरुड दल गणबाट सेना परिचालित भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने नेपाल सरकारको निर्णय अनुसार दोलाखमा बुधवारबाट सेना परिचालित भएको गरुड दल गण चरिकोटका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।
सरकारले निर्वाचन पूर्वको अवधि, निर्वाचनको अवधि र निर्वाचन पश्चातको अवधि गरी तीन चरणको सुरक्षा योजना बनाएको छ । सोहि अनुसार दोलखामा निर्वाचन पूर्वको अवधिको लागि एक महिना अघिबाटै सेना परिचालन गरिएको हो ।
सरकार र निर्वाचन आयोगको विश्लेषणमा निर्वाचनको लागि दोलखा संवेदनशिल जिल्लामा पर्दछ । सोहि अनुसार सरकारले दोलखा जिल्लामा निर्वाचन सम्पन्न गर्न विशेष सुरक्षा नीति तयार गरेको जनाएको छ ।
दोलखालीले निर्वाचनमा शान्तिपुर्ण ढङ्गले आफ्नो मताधिकार प्रयोग गर्न सक्दैनन् भन्ने भाष्य निर्माण भै रहेको अवस्थामा दोलखा जिल्लामा निर्वाचन घोषणा लगतै नेपाली सेनाले नेपाल प्रहरीसंग समन्वय गर्दै गस्ती सुरु गरेको थियो ।
सरकारको निर्णय अनुसार दोलखा जिल्लामा निर्वाचन पूर्वको अवधिमा बुधवारबाट करिब एक हजार नेपाली सेना परिचालन गरिएको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए । सेनाले नौवटै पालिकामा रहेका मतदान केन्द्रहरु र मुख्य– मुख्य ठाउँहरुमा गस्ति गर्ने गणपति कटुवालको भनाई छ ।
दोलखामा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने सरकारको प्राथामिकता तथा स्थानीय प्रशासनको सक्रियता अनुसारनै नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसंगको समेत सहकार्यमा जिल्लाको नौवटै पालिकाका मतदान केन्द्रहरुको सुरक्षा अवस्थाको विश्लेषण, भौगोलिक अवस्था लगायतका कुराहरुको अवलोकन सहितको नियमित गस्ति गर्ने गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखा जिल्लामा मतदान स्थल ९५ वटा र मतदान केन्द्र दुई सय सात वटा रहेका छन् । सुरक्षाको हिसाबले ९५ मतदान स्थलमध्य ५२ वटा मतदान स्थल अतिसंवेदनशिल, २८ वटा मतदान स्थल संवेदनशिल र १५ वटा मतदान स्थल सामान्य भनि बर्गिकरण गरिएको छ । त्यसैगरी दुई सय सात वटा मतदान केन्द मध्य एक सय १५ मतदान केन्द्र अतिसंवेदनशिल, ५२ वटा मतदान केन्द्र संवेदनशिल र २९ वटा मतदान केन्द्र संवेदनशिल भनि बर्गिकरण गरिएको छ ।
दोलखामा महिला ८३ हजार एक सय ६० र पुरुष ८७ हजार एक सय ६१ गरी एक लाख ७० हजार तीन सय २१ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्