काेशीशिक्षा

साहित्यकार शान्ति निहारिका सम्मानित

भोजपुर/ श्री सालेवा माध्यमिक विद्यालय, दोभाने, भोजपुरको ६४औँ वार्षिक उत्सवको अवसरमा साहित्यकार शान्ति निहारिका सम्मानित हुनुभएको छ। आफ्नाे कृति “चट्याङको मूर्च्छना” ले पाएको सम्मानले थप हौसला मिलेको प्रतिक्रिया दिनुहुँदै उहाँले यस सम्मानलाई साहित्यिक यात्राको महत्वपूर्ण उपलब्धि बताउनुभएको छ।

नव–निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम वन सन्यासीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी गाउँपालिका प्रमुख दौलथ कुलुङ, उपाध्यक्ष अस्मिता राई विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा पाँचवटा वडाका वडाध्यक्षहरू गणेश बुढाथोकी, गणेश खत्री, विनोद राई, शिवकुमार राई र विक्रम वन, चर्चित लोकगायक कमलिकान्त भेटवाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, पूर्व गाविस अध्यक्ष, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, चन्दादाता तथा समाजसेवी चन्द्रबहादुर खत्री, बलराम खत्री, राम खत्री, साहित्यकार शान्ति निहारिका, विश्व राईलगायतको उपस्थिति रहेको थियो।

व्यापारी, बुद्धिजीवी, अभिभावकवर्ग र विद्यार्थीहरूको बाक्लो सहभागिताले कार्यक्रमलाई ऐतिहासिक बनाएको आयोजकले बताएका छन्। कार्यक्रममा दिवंगत मदनबहादुर खत्रीका साइँला छोरा–बुहारी चन्द्रबहादुर खत्री र निर्मला खत्रीले आफ्ना बुबाआमाको नाममा “मदन–नरमाया पुस्तकालय भवन” निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो। उक्त भवन केवल संरचना मात्र नभई विद्यार्थीहरूको भविष्य निर्माणका सपनाहरूको उज्यालो प्रतीक भएको वक्ताहरूले उल्लेख गरे। कार्यक्रमले शिक्षा, साहित्य र समाजसेवाको संगम प्रस्तुत गर्दै सबैलाई आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ भन्ने प्रेरणा थपेको सहभागीहरूको भनाइ छ।

सम्बन्धित समाचार