रामचन्द्र गिरी
दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ मा आईतवार औषधि सहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुमेरु सिटी अस्पतालको सहयोगमा भीमेश्वर नगरपालिका वडा नम्बर– ५ ले आयोजना गरेको शिविरमा पाँच सय एक जनाले सेवा लिनु भएको थियो ।
शिविरमा जनरल फिजिसियन दुई सय पाँच जना, नसा तथा हाडजोर्नी र स्त्री रोग एक सय ८५ जना, मृगौला तथा पिसाब सम्बन्धि र नाक, कान, घाटी ५५ जना, भिडियो एक्स– रे एक सय ८७ जना तथा युरीन, प्रोटिन र सुगर जाँच दुई सय ४५ जनाको भएको वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठले बताउनु भयो ।
परिक्षणको क्रममा चार जना महिलाहरुमा जटिल प्रकृतिको स्वास्थ्य समस्या देखिएकोले उनीहरुको थप उपचार सुमेरु सिटी अस्पतालमै लगेर गरिने वडा अध्यक्ष श्रेष्ठले बताए ।
आर्थिक अभाव, समयको अभाव तथा सहयोगिको अभावमा सामान्य स्वास्थ्य परिक्षणको लागि समेत असपताल जान नसक्ने नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको र यसलाई निरन्तरता दिईने वडा अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।

शिविर उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष श्रेष्ठले आफ्नो पारिश्रमीक बापतको रकमले हरेक बर्ष वडा भित्रका निश्चित उमेर समूहका जेष्ठ नागरिकहरु लाई राजधानिका तथा देशका बिभिन्न धार्मिक स्थलहरुको भ्रमण समेत गराउदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्