अर्थ र ब्यापारबागमती

मौलिक सीप संरक्षण गर्नुपर्छ– प्रदेश उद्योग मन्त्री श्रेष्ठ

दोलखा/बागमति प्रदेश सरकारको उद्योग बाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले प्रदेश र स्थानीय सरकार बीच समन्वय हुन नसक्दा प्रदेशका धेरै योजनाहरु प्रभावकारी नभएको उल्लेख गर्नुहुदै आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

उद्योगको लागि प्रदेश सरकारले दिदै आएको अनुदान एकै परिवारले पटक– पटक लिने गरेको कुरा सुनिन्छ, जसको कारण प्रदेशका योजनाहरु प्रभावकारी हुन सकिरहेको छैन मन्त्री श्रेष्ठले भन्नु भयो– त्यसैले पनि प्रदेश सरकार र स्थानीय सरकार बीच समन्वय आवश्यक छ ।

नेकपा एमाले दोलखाले पार्टी कार्यालयमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा प्रदेश सरकारको उद्योग बाणिज्य, भूमि तथा प्रशासन मन्त्री श्रेष्ठले परम्परागत मौलिक सीप हराउदै गएको उल्लेख गर्नुहुदै त्यसको संरक्षण र प्रर्वद्धनको लागि प्रदेश सरकारले योजना बनाई रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले स्थानीय स्रोत– साधनबाट सञ्चालन गरिने उद्योगलाई प्रथामिकता दिनुपर्ने पनि बताउनु भयो ।

उहाँले उद्योगीहरु दोहोरो करको मारमा परेको गुनासो धेरै सुनिने गरेको उल्लेख गर्नुहुदै त्यसको समाधानको लागि स्थानीय सरकारसंग बसेर छलफल गरिने बताउनु भयो ।

नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले ग्रामिण क्षेत्रमा फलामे हलो, जनै, मफलर बनाउने उद्योग, दुना– टपरी बनाउने उद्योग सञ्चालनमा प्रदेश सरकारको सहयोग आवश्यक हुने बताउनु भयो ।

प्रदेश सरकारले सानो– सानो कुरामै लगानी गर्नुस तर त्यो दिगो र स्थानीय आवश्यकताको आधारमा छनौट गर्नुस– एमाले अध्यक्ष नर बहादुर श्रेष्ठले भन्नु भयो ।

भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला वस्नेतले व्यवसायीहरुले दोहोरो कर तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुदै त्यसको अन्त्यको लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका नेता– कार्यकर्ता, पत्रकार, उद्योगी– व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार