काठमाडौँ/नेकपा एमालेका बैचारीक नेता आनन्दप्रसाद पोखरेलले काठमाडौँमा जारी पार्टीको ११ औ केन्द्रीय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा सचिवको आकांक्षि रहेका पोखरेलले अन्तत् स्वतन्त्र ढङ्गले उपमहासचिव पदमा उम्मेदवारी दिएका हुन् ।
पूर्व पर्यटन मन्त्री समेत रहेका पोखरेल चितवनमा सम्पन्न १० औ केन्द्रीय महाधिवेशनमा पार्टीको केन्द्रीय पोलिटब्युरो सदस्य चुनिएका थिए । त्यस यता पार्टीको काठमाडौँ जिल्ला इन्चार्जको रुपमा कुशलतापूर्वक काम गरेका उनले संस्थापन पक्षबाट सचिव पदमा उम्मेदवार बनाउने अपेक्षा गरेका थिए । आफुलाई केपी शर्मा ओलीको टिममा नराखेर अन्याय गरेको बताउने पोखरेलले स्वतन्त्र ढङ्गले उपमहासचिव पदमा उम्मेदवारी दिएका हुन् ।
कक्षा ७ मा अध्यन गर्दैगर्दा २०२९ सालमा अनेरास्ववियुको सदस्यता लिएका पोखरेल २०३२ सालमा अखिल नेपाल कोअर्डिनेशन केन्द्र युथ लिगमा संलग्न भै राजनीतिमा क्रियाशिल भएका राजनीतिज्ञ हुन् ।
२०३५ साल पौष ११ गते नेकपा माले गठन भएदेखिनै (सदस्यता नम्बर– ३६३) युवाहरुको नेतृत्वगर्दै आन्दोलनमा सक्रिय बनेका पोखरेल अनेरास्ववियुको चितवन जिल्ला समिति अध्यक्ष, नारायणी अञ्चलको सचिव र सातौ राष्ट्रिय अधिवेशन आयोजक समितिको सदस्य, नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च दोलखाको सचिव र जनपक्षिय मञ्चको केन्द्रीय सदस्य, २०४३ देखि २०४६ सम्म तत्कालिन नेकपा मालेको जिल्ला संगठन समिति दोलखाको सदस्य, २०५४ देखी २०५९ सम्म नेकपा एमाले दोलखाको सचिव, २०६० देखि २०७० सम्म नेकपा एमाले बागमति अञ्चल (बागमति प्रदेश) संगठन कमिटी सदस्य, २०७५ सालमा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा बागमति प्रदेश संगठन कमिटीको सचिव, २०७७ सालमा नेकपा एमाले बागमति प्रदेश संगठन कमिटी अध्यक्ष र २०७८ देखी हालसम्म नेकपा एमालेको केन्द्रीय पोलिटब्युरो सदस्य तथा संगठन विभाग सदस्य रहेका थिए ।
२०४३ देखी २०४५ सालसम्म दोलखाको जफे गाउँपञ्चायतमा जनपक्षिय उम्मेदरवारको रुपमा प्रधानमञ्चमा निर्वाचित भएका पोखरेल २०५६ देखि २०५९ सम्म प्रतिनिधि सभा सदस्य, २०६३ देखि २०६४ सम्म पुर्नस्थापित संसद सदस्य र २०७० सालमा संविधान सभाको सदस्यमा निर्वाचित भएका थिए । २०७० सालको संविधान सभा निर्वाचन पछि २०७२ सालमा संविधान निर्माणसंगै गठन भएको पहिलो सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री समेत बनेका थिए ।
कम्युनिष्ट विचार, संगठन निर्माण, विकासका अवधारणा, जलवायु परिर्वतन, पर्यटन, संस्कृति लगायत विविध विषयमा बिभिन्न सञ्चारमाध्यमहरुमा दजनौ लेख प्रकाशन गरिसकेका पोखरेलले ‘गन्तव्य समाजवाद’ र ‘कम्युनिष्ट पार्टी निर्माणको आधार’ नामका दुई वटा पुस्तक समेत प्रकाशीत गरिसकेका छन् । उनको पछिल्लो पुस्तक ‘कम्युनिष्ट पार्टी निर्माणको आधार’ कम्युनिष्ट कार्यकर्ताहरुले अत्यधिक रुचाएका पुस्तकहरु मध्यको हो ।
बुद्ध दर्शनमा एमफील/पिएचडिको तयारीमा रहेका पोखरेल पार्टीको उपमहासचिव पदमा रहेर वर्तमान संक्रमणकालिन राजनीतिक अवस्थमा पार्टीलाई थप संगठित, उर्जाशिल र एकतावद्ध बनाउने कुरामा सक्रियतापूर्वक काम गर्ने प्रतिवद्धता सहित उम्मेदवार बनेको बताउछन् ।
पोखरेल जतिको बौद्धिक संगठकलाई संस्थापन पक्षले टिममा नराखेर अन्याय गरेको बताउने पार्टीका पुराना नेता– कार्यकर्ता, युवा– विद्यार्थी लगायत अहिले उनको पक्षमा माहौल बनाउन अधिवेशन स्थल र सामाजिक सञ्जालहरुमा सक्रिय बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्