मुख्य समाचारयो पनि

यलुङ रि हिमाल आरोहण- ८ जनाको सकुशल उद्दार ७ को मृत्यु

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहण गर्न गएका १५ जना मध्य ८ जनाको सकुशल उद्दार भएको छ । सोमवार विहान यलुङ रि हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको थियो भने ८ जना बेपत्ता भएका थिए ।

मंगलवार विहान घाईते चार जना सहित आठै जनाको हेलिकप्टर मार्फत सकुशल उद्दार भएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताउनु भयो । उद्दार गरिएका आठै जनालाई काठमाडौँ लगिएको ना गाँउमा रहेका ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जीले बताउनु भयो । मृतक मध्य दुई जनाको शव हिउँबाट निकालिएको र बाँकी शव निकाल्ने काम भै रहेको उहाँको भनाई छ ।

मृतकहरुमा दुई जना नेपाली दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का पदम तमाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरा कार्की रहेको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पाले बताउनु भयो । मृत्यु भएका पाँच जना विदेशीमा फ्रान्सका दुई जना, इटलिका एक जना, जर्मनका एक जना र क्यानेडियन एक जना रहेको र उनीहरुको नाम खुल्न बाँकी रहेको वडा अध्यक्ष शेर्पाले बताउनु भयो ।

उद्दार गरिएका चार जना घाईते मध्य नेपाली दुई जना लाक्पा तमाङ र सुन बहादुर गुरुङको महाराजगञ्ज स्थित हेम्स अस्पतालमा र विदेशी दुई जना आईसबेल्ड सोलङ्ग (महिला) र डिडिर आरमन्ड विफरोन (पुरुष) को सोह्रखुट्टे स्थित ईरा इन्टरनेस्नल अस्पतालमा उपचार भै रहेको नेपाली सेनाको गरुण दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो ।

बेपत्ता र घाईतेको उद्दारको लागि सोमवार दिउँसो ना गाँउमा हेलिकप्टर पुगेको भएपनि मौसमका कारण खोजि र उद्दारको काम हुन सकेको थिएन । सोमवार हेलिकप्टरले खोजि तथा उद्दारको लागि ना गाँउबाट एक जना विदेशी र तीन जना शेर्पालाई यलुङ रि हिमाल क्षेत्रमा पु¥याएको थियो ।

गत कार्तिक ११ गते बिभिन्न समुहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणको लागि दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । सोमवार विहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि प्रस्थान गरेको उक्त टोलि विहान ८ बजेतिर यलुङ रि हिमालको चुचुरोमा पुग्ने क्रममा हिमपहिरोमा परेका थिए ।

सम्बन्धित समाचार