दोलखा/दोलखा अस्पताल (धुलिखेल अस्पताल) ले गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको लागि विशेष सेवा सुरु गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– २ दोलखा बजारमा रहेको दोलखा अस्पतालमा मदर एण्ड चाईल्ड अस्पताल भवन निर्माण भएपछि गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको लागि विशेष सेवा सुरु भएको अस्पतालका प्रशासन प्रमुख श्याम बुढाथोकीले बताए ।
रोटरी इन्टरनेस्नल अस्ट्रेलिया र धुलिखेल अस्पतालको सहयोगमा भवन निर्माण भएको दोलखा अस्पताल (धुलिखेल अस्पताल) ले जनाएको छ ।
अस्पताल भवनको उद्घाटन भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले गरेका थिए । सो अवसरमा नगरप्रमुख मानन्धरले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा भौतिक, प्राविधिक र जनशक्तिको विकास भएपनि गाँउ– सहर सबैतिर जनसंख्या घट्दै गएको र युवाहरु विदेश पलायनको क्रम बढ्दै गएकोले सेवा उपभोग गर्ने मानिसको अभाव हुने खतरा देखिएको बताए ।
सेवा– सुविधा सहित जनसंख्या बृद्धि र युवा जनशक्तिलाई नेपालमै रोक्ने कुरामा समेत ध्यान दिनुपर्ने नगरप्रमुख मानन्धरको भनाई छ ।
भवन निर्माणका सहयोगी अस्ट्रेलियाका डा. रे हटसनले आफ्नो पहलमा स्वास्थ्य लगायतको क्षेत्रमा धेरै ठाँउमा सहयोग गरिएको भएपनि आफुलाई दोलखा अस्पतालमा गरिएको सहयोगले सबैभन्दा बढी सन्तुष्टि मिलेको बताए । उनले भने– दोलखा अस्पतालले भवन निर्माण पछि गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको लागि विशेष सेवा सुरु गरेर सकारात्मक काम गरेको छ । यो ग्रामिण महिला र बालबालिकाको स्वास्थ्य सेवाको लागि महत्वपूर्ण छ, त्यसैले म सबैभन्दा बढी सन्तुष्ट छु ।

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजुको सभापतित्वमा सम्पन्न अस्पताल भवन उद्घाटन कार्यक्रममा रोटरी क्लब नेपाल– भुटानका पास्ट गर्भनर बिष्णुबहादुर कार्की, रोटरी क्लब अस्ट्रेलियाका पास्ट गर्भनर डेबिट, दोलखा अस्पताल (धुलिखेल अस्पताल) का डा. अञ्जना डङ्गोल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दोलखा अस्पताल (धुलिखेल अस्पताल) मा मासिक ४०/५० जना गर्भवती तथा सुत्केरी महिलाहरु सेवाको लागि आउने गरेको अस्पतालका प्रशासन प्रमुख बुढाथोकीले बताए । स्वास्थ्य सेवाको लागि आउने बालबालिकाको संख्या पनि उल्लेख्य रहेको उनले बताए । छुट्टै मदर एण्ड चाईल्ड अस्पताल भवन निर्माण भएपछि सेवालन आउने गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको संख्या अझ बढ्ने बुढाथोकी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्