दोलखा/चार जना नेपाली र एक जना जापनिज नागरिकले दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने गौरीशङ्कर रेन्चको बेदिङ गो हिमालको सफल आरोहण गरेका छन् ।
दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने ६,१२५ मिटर उँचाईको बेदिङ गो हिमालको उत्तर– पश्चिम तर्फको कठिन मोहडाबाट दोलखाका एक जना र सोलुखुम्बुका तीन जना गरी चार जना नेपाली र एक जना जापनिज नागरिकले कार्तिक ८ गते विहान ११ः३५ बजे सफल आरोहण गरेको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष निमगेली शेर्पाले बताए ।
माउन्टेन एक्सपेरिन्स कम्पनिबाट सोलुखुम्बु नाम्चेका पेमा ग्याल्जेन शेर्पाको टिममा रहेको सोलुखुम्बुकै निङमा नोर्वु शेर्पा र आङनुरु शेर्पा, दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का छोलाक्पा शेर्पा तथा जापानका सिम्बा गरी पाँच जनाले बेदिङ गो हिमालको कठिन मोहडाबाट सफल आरोहण गरेको वडा अध्यक्ष निमगेली शेर्पाले बताए ।
बेदिङ गो हिमालको उत्तर– पश्चिम तर्फको कठिन मोहडाबाट आफुहरुले दोस्रो पटक सफल आरोहण गरेको टिम लिडर पेमा ग्याल्जेन शेर्पाले बताए । यो निक्कै कठिन थियो पेमा ग्याल्जेनले भने– तर हामी सफल भयौ । एक जना जापनिज नागरिक भने बेसक्याम्पसम्म मात्र पुगेको उनले बताए ।
बेदिङ गो हिमालको उत्तर– पश्चिम तर्फको कठिन मोहडाबाट पहिलो पटक गत बर्ष (सन् २०२४ मा) दोलखाका पासाङ किदर शेर्पा र अमेरीकी नागरिक डेनिका गिल्बेटले सफल आरोहण गरेका थिए । तर यो हिमालको पहिलो आरोहण भने दोलखाकै छिरिङ पेम्बा शेर्पाको टिमले सन् २०१५ मा गरेको पासाङ किदर शेर्पाले बताए ।
बेदिङ गो हिमालको सजिलो रुट (दक्षिणी मोहडा) बाट पहिलो आरोहण सन् २०१५ मा छिरिङ पेम्बा शेर्पाको टिमले गरेको हो । तर उत्तर– पश्चिम तर्फको कठिन मोहडाबाट रुट बनाएर पहिलो आरोहण भने गतबर्ष मैले नै गरेको हो– पासाङ किदर शेर्पाले भने ।

बेदिङ गो हिमालको पहिलो आरोहण गर्ने छिरिङ पेम्बा शेर्पा आफुलगायत चार जना नेपाली र तीन जना विदेशी (नर्वेजियन, ब्राजिलियन र आईरिस) नागरिकले सन् २०१५ मा दक्षिणी मोहडाबाट हिमालको सफल आरोहण गरेको बताउछन् । त्यसको नेतृत्व आफुलेनै गरेको छिरिङ पेम्बाले बताए । आफुले पहिलो पटक बेदिङ गो को आरोहण गरेपछि अरु धेरै नेपाली र विदेशीले यो हिमाल आरोहण गरेको उनले बताए ।
दोलखाको गौरीशङ्कर गाँउपालिकामा पर्ने रोल्वालिङ क्षेत्रमा बेदिङ गो को अलवा डोल्मा खाङ, चेकिघोस, राम्दुङ, यलुङ रि, खाङकार्बु लगायतका हिमालको आरोहण हुदै आएको छिरिङ पेम्बा शेर्पाले बताए ।
दोलखाको रोल्वालिङ क्षेत्रमा आरोहण योग्य धेरै हिमाल र च्छो– रोल्पा हिमताल तथा दुधकुण्ड रहेकोले बर्षेनी धेरै स्वदेशी एवम् विदेशी पर्यटक आउने गरेको र उनीहरुको सहजताको लागि वडा, गौरीशङ्कर गाँउपालिका तथा स्वीस सरकारले समेत बाटो निर्माण लगायतको सहयोग गर्दै आएको वडा अध्यक्ष निमगेली शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्