चरिकोट/दोलखा सदरमुकाम चरिकोटमा यो बर्षको लाखेनाच सुरु भएको छ । चरिकोटमा यो नाच गठेमङ्गल (घण्टाकर्ण) को भोलिपल्टबाट प्रर्दशन सुरु गरी कृष्ण जन्माष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले सुर्दशन चक्रले हानेर लाखेलाई मारेपछि अन्त्य गरिने आयोजक लालिगुँरास युवा क्लब चरिकोटका अध्यक्ष प्रविण श्रेष्ठले बताए ।
लाखे नाच प्रर्दशन सुरु गर्नु अघि गठेमङ्गलको दिन राति नाट्यश्वरीको पुजा गरी नेवार समुदाय र पाहुनाहरु समेत जम्मा भएर प्रसाद खाईएको क्लबका सचिव विपिन श्रेष्ठको भनाई छ ।
नाट्यश्वरीको पुजा गरेपछि परालको राक्षस बनाएर बाजा गाजा सहित बजार घुमाउने र चोकमा ल्याएर उक्त परालको राक्षसलाई जलाउने प्रचलन समेत रहेको छ । घण्टाकर्ण राक्षसले बच्चलाई दुध दिने भएकोले यसरी सबैको अगाडि जलाउने गरिएको किंवदन्ति समेत पाईन्छ ।

कंसले कृष्णलाई मार्न पुतनालाई पठाएको तर उल्टै कृष्णलेनै पुतनालाई मारिदिएको पौराणीक कथावस्तुमा आधारीत भै चरिकोटमा २०१५÷०१६ सालदेखि लाखेनाच प्रर्दशन गर्दै आएको चरिकोटका स्थानीय जेष्ठ समाजसेवी रामदास श्रेष्ठले बताए । यो नाच सांस्कृतिक सहर दोलखाको सिको गर्दै चरिकोटमा सुरु गरिएको जेष्ठ समाजसेवी रामदास श्रेष्ठको भनाई छ ।
लाखेलाई पुतनाको रुपमा हेरीने यो नाच गठेमङ्गलको भोलिपल्ट देखि मुख्य बजार क्षेत्रहरुमा प्रर्दशन गरिन्छ । यसको लागि लालिगुँरास युवा क्लबले नाच प्रर्दशन तालिका सार्वजनिक गरेको अध्यक्ष प्रविण श्रेष्ठले बताए ।
सदरमुकाम चरिकोटमा झण्डै डेढ सय बर्ष अघिदेखि नेवार समुदायको बसोबास रहदै आएको स्थानिय जेष्ठ नागरिकहरुको भनाई छ । कुनै लिखित दस्तावेज नभएपनि भक्तपुरको सुकुल ढोकाबाट काभ्रेपलाञ्चोक जिल्लाको नाङ्ग्रे हुदै सुरुमा पञ्चवीर श्रेष्ठ र कृष्णवीर श्रेष्ठ दुई दाजुभाइ अहिलेको पुरानो बजारमा आएर बसोबास गरेको इतिहास प्रचलनमा रहेको पाईन्छ । त्यसपछि भक्तपुरकै दत्तात्रयबाट ब्यापारको सिलसिलामा हरिकृष्ण श्रेष्ठ समेत आएपछि चरिकोट पुरानो बजारमा नेवार समुदायको बसोबासमा बृद्धि हुदै गएको थियो ।

चरिकोट बजारमा नेवार समुदायको बसोवासमा बृद्धि हुदै गएपछि त्यतिबेलाको संस्कृत प्रेमि युवाहरु नारायणकृष्ण श्रेष्ठ, हिरालाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, फत्तबहादुर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, नारायणलाल श्रेष्ठ, अर्जुनबहादुर श्रेष्ठ, टंक मास्के लगायतको अगुवा तथा अभिभावकहरु रत्नबहादुर श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, हर्कसुन्दर श्रेष्ठ, रत्ननारायण श्रेष्ठ लगायतको प्रेरणामा लाखेनाच, हिलेजात्रा, मारुनी नाच जस्ता सांस्कृतिक पर्वहरु मनाउदै आएको जेष्ठ समाजसेवी रामदास श्रेष्ठ बताउछन् ।
प्रतिक्रिया दिनुहोस्