जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै आएको छ । सदस्यहरुको आवश्यकता, बजारको अवस्था र सामाजिक परिस्थितिलाई आँकलन गरेर ऋण लगानी गरेकैले आम रुपमा सहकारी प्रति विश्वास कायम रहेको देखिन्छ ।
चिरञ्जीवी मास्के
दोलाखमा प्रभावकारी ढङ्गले सहकारी सञ्चालन भएको ३० बर्ष नाघेको छ । २०५० साल पछि सदरमुकाम चरिकोट, मैनापोखरी लगायतका ठाँउमा सञ्चालन भएका सहकारीहरुले विशेषगरी ग्रामीण भेगका व्यवसायी, कृषक, मजदुरहरुलाई बचतमा अभिप्रेरीत गर्दै व्यवसायमा सहुलियत ऋण प्रवाह गर्न थालेपछि यसको लोकप्रियता विस्तारै उकालिएको हो ।
सहकारीलाई समान आर्थिक स्तर, इच्छा, रुची र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोबास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरुले आपसि हितका लागी आर्थिक कारोवार गर्न स्थापना गरिएको संस्था भनेर बुझिन्छ । अर्थात सहकारी भनेको सहकार्य हो । सदस्य, सञ्चालक र कर्मचारी बीच विश्वासले बनेको सहकार्य ।
दोलखामा सञ्चानमा रहेका सहकारी संस्थाहरुले यहि सिद्धान्तलाई आत्मसाथ गरेकै कारण यसको लोकप्रियता उकालिएको मान्न सकिन्छ । हैन भने देशभरीका सयौ सहकारी संस्थाहरु विवादित भै रहदा पनि दोलखाका सहकारी संस्थाहरु (अपवादलाई छोडेर) लोकप्रिय ढङ्गले अघि बढी रहेका छन् ।
त्यसैले लोकप्रिय छ जनकल्याण
दोलखामा लगभग पाँच सय सहकारी संस्थाहरु रहेका छन् । यो संख्यात्मक हुलमा सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था पनि छ, जसले लोकप्रियताको छुट्टै पहिचान बनाएको छ । २०५४ सालमा स्थापना भएको यो सहकारीमा नौ हजार भन्दा बढी सदस्य रहेको र त्यसमध्य १२ सय ६० जनाले बिभिन्न व्यवसायको लागि ऋण लिएको तथ्याङ्क प्रमुख कार्यकारी अधिकृत दिपक वस्नेतसंग छ ।
जनकल्याण सहकारी संस्थाले विशेषगरी कृषि, पशुपालन, साना व्यवसाय, लघु उद्यम जस्ता व्यवसायीक तथा आर्थिक गतिविधिमा सहुलियत दरमा ऋण लगानी गर्दै आएको छ । सदस्यहरुको आवश्यकता, बजारको अवस्था र सामाजिक परिस्थितिलाई आँकलन गरेर ऋण लगानी गरेकैले आम रुपमा सहकारी प्रति विश्वास कायम रहेको देखिन्छ ।
जनकल्याणले अहिले हरित अभियानलाई सहयोग गर्न इलेक्ट्रिक गाडीलाई ९ प्रतिशत ब्याजमा ऋण लगानी सुरु गरेको र पर्यटन, कृषि, पशुपालन जस्ता व्यवसायमा समेत स्कीम सहित ९ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिरहेको प्रमुख कार्यकारी अधिकृत वस्नेतले बताए ।
सञ्चालक, सदस्य र कर्मचारीको विश्वास
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको पूर्व सञ्चालक (कोषाध्यक्ष) अर्जुन कार्कीको भनाईमा सहकारी संस्थाहरुले सहकार्यको सिद्धान्त अनुसार काम गर्ने हो भने कहिल्यै बदनाम हुन पर्दैन् । उनको भनाईमा देशभर जतिपनि सहकारी संस्थाहरु बद्नाम भै रहेका छन् उनीहरु सहकार्यको सिद्धान्त विपरति अघि बढेको परिणाम हो ।
जनकल्याण सहकारी संस्था सहकार्यको सिद्धान्त अनुसार अघि बढेको र सहकारीको सदस्यहरुलाई केन्द्रीत गरी आवश्यकताको आधारमा ऋण लगानी गरिरहेकोले सफल भएको पूर्व सञ्चालक एवम् व्यवसायी अर्जुन कार्कीको भनाई छ । अहिले म आफै पनि जनकल्याण सहकारीबाट ऋण लिएर व्यवसाय गरिरहेको छु, पूर्व सञ्चालक कार्कीले भने– मेरो व्यवसायमा जनकल्याणको लगानी महत्वूर्ण बनेको छ । सहकारीलाई इमान्दारीता पूर्वक अघि बढाउने हो भने यो बैङ्क भन्दा राम्रो हो– कार्कीले भने ।
सहकारीका पूर्व सञ्चालक (लेखा संयोजक) भरत खतिवडा सहकारीको सफलताको लागि सञ्चालक, सदस्य र कर्मचारी बीच आपसि विश्वास र सहकार्य महत्वपूर्ण हुने बताउछन् । जनकल्याण सहकारी संस्थाको सफलता भनेकै सञ्चालक, सदस्य र कर्मचारी बीचको आपसि विश्वास हो– पुर्व सञ्चालक खतिवडाले भने । म जनकल्याण सहकारी संस्थामा सदस्य भएको २५ बर्ष नाघिसक्यो, सञ्चालकको रुपमा १८ बर्ष काम गरे, यो बीचमा मेरो अनुभव के रह्रयो भने सहकारीलाई सफल बनाउन सञ्चालकको नियत राम्रो हुनुपर्छ र सदस्य तथा कर्मचारीले विश्वास गर्ने वातावरण बन्नु पर्छ– पुर्व सञ्चालक खतिवडाको भनाई छ ।
देशभर विवादमा परेका सहकारीहरुमा सञ्चालकलेनै ऋण लिएको भन्ने सुनिन्छ, तर जनकल्याणमा सञ्चालकलाई ऋण लिने छुट छैन । जनकल्याणले जतिपनि ऋण लगानी गरेको छ वास्तविक कृषक, व्यवसायी र उद्यमीहरुलाई नै गरेको छ त्यसैले यो सफल छ पुर्व सञ्चालक खतिवडाले भने ।
राष्ट्रसेवक कर्मचारीको रुपमा निवृत्तिभरण भएका हेमबहादुर खड्काले पनि जनकल्याणमा लामो समय सञ्चालकको रुपमा काम गरेका छन् । उनको अनुभवमा सहकारीलाई लोकप्रिय र सदस्य मैत्री बनाउन सञ्चालकको भूमिका महत्वपुर्ण हुन्छ । सञ्चालकमा इमान्दारीता र अनुशासन भयो भने सदसयहरुको विश्वास जित्न सकिने र यसले सहकारीलाई सफल बनाउने पुर्व सञ्चालक खड्का बताउछन् ।
सहकारीको मुल उदेश्य भनेको आर्थिक समस्याका कारण कृषि, पशुपालन, उद्योग र व्यवसाय गर्न नसकेका सदस्यहरुलाई प्राथामिकताका साथ सुलभ ब्याजदरमा ऋण दिनु हो । यसको लागि सञ्चालक र कर्मचारीको इमान्दारीता र अनुशासन आवश्यक हुन्छ जुन कुरा जनकल्याण सहकारीमा पाएको छु– खड्काले भने ।
जनकल्याणले सुरु देखिनै सदस्यहरुलाई केन्द्रीत गरेर बिभिन्न शीर्षकमा सुलभ ऋण प्रवाह गर्दै आएको छ, सदस्यहरुले पनि सहकारीको सञ्चालक र कर्मचारीलाई विश्वास गरेका छन्, त्यसैले यो सधै सफल छ– पुर्व सञ्चालक खड्काको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्