दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आईतवारबाट स्ट्रीट फूड फेस्टिबल– २०८२ सुरु भएको छ । नयाँ बर्षको अवसरमा आयोजना गरिएको स्ट्रीट फूड फेस्टिबल– २०८२ तीन दिनसम्म चल्ने आयोजक दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीले बताउनु भएको छ ।
‘सडकमै खाऔं, सडकमै रमाऔंः रैथाने स्वाद र संस्कृतिसँग नयाँ बर्ष चरिकोटमा मनाऔं’ भन्ने नारा सहित दोलखा चेम्बर अफ कमर्स र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसाय संघको संयुक्त आयोजनमा सुरु गरिएको स्ट्रीट फूड फेस्टिबल– २०८२ को लागि चरिकोटको मुख्य बजारमा २० भन्दा बढी स्टल राखिएको छ भने धेरैले आफ्नै पसलबाट समेत रैथाने स्वादका बिभिन्न परिकारहरु बिक्रि गरिरहेका छन् ।

स्ट्रीट फूड फेस्टिबल– २०८२ को उद्घाटन गर्नुहुदै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रलाई ब्यवस्थित गर्न सकिए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउनु भयो ।
मन्त्री पाण्डेले नेपालमा पर्यटकले चाहे जस्तो सांस्कृतिक सम्पदा, धार्मिक परम्परा, प्राकृतिक सुन्दरता र शाहसीक स्थानहरु रहेको समेत बताउनु भयो ।
दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीको सभापतित्वमा सम्पन्न फेस्टिबल उद्घाटन कार्यक्रममा बागमति प्रदेश सांसद भरतबहादुर केसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्र दोलखाका प्रवक्त पुष्कर अधिकारी, नेकपा एकिकृत समाजवादी दोलखाका कार्यबहाक अध्यक्ष अशोक दहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाई, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य विष्णु श्रेष्ठ र दोलखा जिलला होटल तथा पर्यटन व्यवसाय संघका अध्यक्ष कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अवधिमा इन्द्रेणी परिवारको सांस्कृतिक प्रस्तुति, गायिका आस्था राउत, गायक कमल खत्री लगायतको सांगितीक प्रसतुति रहने आयोजक दोलखा चेम्बर अफ कमर्सका राजकुमार खड्काले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्