धर्म/संस्कृतिबिचार / ब्लगसमाचारसुचना

त्रिशुलधाराबाट बनेको गोसाईकुुण्ड

सुन्दर दहाल
तीर्थाटन र पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको ठाउँहरु मध्येको रसुवा एउटा महत्वपूर्ण जिल्ला हो । यस पटक भाद्र ३ गते जनै पूर्णिमा परेको थियो । श्रद्धालु तीर्थयात्रीहरुको यात्रा चलिरहेको थियो । खास गरी जनै पूर्णीमा नजिकिन थालेपछि रसुवा र गोसाइ कुण्डको चर्चा नचल्ने वर्षै हुँदैन । त्यहिं सुनेर पनि होला, गोसाईकुण्ड पुग्ने मेरो अभिलाषा मृगतृष्णा बनिरहेको थियो । किनभने काम र ब्यस्त जीवन समस्या बन्थ्यो । आघौं जसरी पनि जान्छु भन्यो जाने समय आए पछि एउटा अड्चन, अर्को साल फेरी जान्छु भन्ठान्यो उस्तै अड्चन आइहाल्ने । सोचेको कुरा पूरा हुन सकिरहेको थिएन ।
साँच्चै जान खोज्दा खाने मुखलाई जुँगाले छेक्दैन रहेछ । भुवन घिमिरे (दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर– ५ को वडा अध्यक्ष) भतिजले २०८१ भदौ ३२ गते गोसाईकुण्ड जानु पर्छ काका भनेर प्रस्ताव राख्नु भयो । मलाई के खोज्छस कानो आँखा भने झैं भयो र म श्रावण ३१ गते नै काठमाडौं पुगे । भोलिपल्ट हामी दुई जना समेत ९ जना, सन्तोष श्रेष्ठ (प्रधानाध्यापक, त्रिभुवन मावि मेलङु), गोविन्द श्रेष्ठ (व्यवसायी), शिव खडका, सुनिल कार्की, नारायण ढुंगेल, कल्पना खड्का (स्वास्थ्यकर्मी) लगायतका साथीहरू माछापोखरी पुग्योे । यात्राकै क्रममा गल्छी, महादेवफाँट, देवीघाट, बट्टार, ढुंगे र नुवाकोटको सदरमुकाम विदुर, उत्तरगया वेत्रावतीहुँदै हाम्रो बस घुमाउरो बाटोबाट उकाली चढ्यो ।


पौराणीक किंवदन्ति अनुसार समुद्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्किए । यसै क्रममा कालकुट विष पनि निस्कियो । कालकुट विष सहन नसकेर देवता र दानव कोही मूर्छा परे भने कोही मर्न लागे । जसलाई शान्त नपारे यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो । यो अवस्था देखेपछि सबै देवता र दानव भगवान् शिवको शरणमा पुगेपछि, देवाधिपति महादेवले उक्त विष स्वयम् आफैँले सेवन गरे । विषले गर्दा उनको घाँटी नीलो भएकाले महादेवलाई नीलकण्ठ पनि भनियो । विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे । त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भयो र त्यही त्रिशूलधाराबाट पानी बगेर गई हालको गोसाईकुण्ड उत्पत्ति भएको हो भनिन्छ ।
गोसाईकुण्डको बीचमा अहिले पनि भगवान शिव अर्थात महादेव विराजमान भएको विश्वास गरिँदै आएको छ ।
समुद्री सतहदेखि ४३८० मिटरको उचाइमा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिक तीर्थस्थल गोसाइँकुण्ड रसुुवाको गोसाईकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ । गोसाइँकुण्डमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । गोसाईकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब १०८ वटा कुण्ड रहेको अनुमान गरिएको छ । विभिन्न मार्गमार्फत गोसाईकुण्ड पुग्न सकिन्छ । उकालै भएपनि छिटो हुने भएकोले काठमाडौं–धुन्चेहुँदै गोसाइँकुण्ड जाने पदमार्ग सबैभन्दा बढी चल्ती हुने पदमार्ग हो ।


त्यहि मार्गलाई पछ्याउँदै हामी गन्तव्य तर्फ अघि बढ्यौ । बाटो प्रायः सबै नै उकालो थियो । मान्छेको लस्कर आँखाको डिकोले भ्याएसम्म देखिन्थ्यो । बाटैभरि जय शम्भु र जय भोलेको आवाज, ढ्याङ्ग्रेको आवाजले जोकोहीको मनमा जय भोले गुञ्जिन्थ्यो । बाटैभरी गोसाईकुण्ड महादेवप्रतिको असीम श्रद्धा उब्जिरहन्थ्यो । १० जनाको टोली गोसाईकुण्ड यात्राको लागि साथमा लैजानुपर्ने समानहरू न्यानो ज्याकेट, रेन्कोट, पानीका बोतल, छाता, चकलेट र केही अदुवा–लसुन, कागती टिमुरको अचार तथा केहि औषधीहरु बोकेर काठमाडौंबाट प्रस्थान गरेको थियोे ।
रसुवा जिल्ला बाग्मती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा कम वडा र कम जनसंख्या तथा नगरपालिका नभएको पहाडी जिल्ला हो । यसको सदरमुकाम धुन्चे आफैं गाउँपालिका हो । स्थानीयले भनेअनुसार धुन्चेको पुरानो नाम ‘धुङलाङ’ रहेछ । जसको अर्थ ठडियर बसेको सङ्खभन्ने बुझिन्छ । त्यही धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे, रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिने रहेछ । स्थानीय तामाङ भाषामा भेडाच्याङग्रालाई ‘र’ र चरन क्षेत्रलाई ‘सोवा’ भनिँदो रहेछ । त्यही ‘र’ र ‘सोवा’ शब्द अपभ्रंश भएर ‘रसुवा’ उच्चारण बढी प्रचलनमा रहेकोले यस जिल्लाको नामाकरण रसुवा नै रहन पुगेछ ।
धुन्चेको अन्नपूर्ण होटलको बासपछि भोलीपल्ट विहान हामी गन्तव्यतिर लागेका थियौं । भोलिपल्ट बिहान चिया नास्ता गरेपछि हाम्रो यात्रा फेरि सुरु भयो । प्रहरी चेकिङमा कार्ड चेकजाँच गरियो । हिँड्नुपर्ने उकालो बाटो अझै बाँकी थियो । देउराली–ढिस्सा–चन्दनवारि–चोलाङपाटी–लौरीबिनायक–बुद्ध मन्दिर, त्यसपछि सिधा बाटो देखाइएको थियो । कस्तो होला घट्टेखोला, कति माथी होला खेन्दी, कस्तो होला देउराली, कति माथी होला ढिम्सा, कहिले पुग्नु चन्दनबारी, चोलाङपाटी, किन भनेको होला लौरी विनायक, कस्तो छ बुद्ध मन्दिर र कति बेला पुगिएला गोसाइकुण्ड, यात्रामा रहेका हामी सबैले मनमनै गम्यौं ।
दिनभरमा त कसो नपुगिएला ? ढिस्सा–चन्दनवारिहुँदै चोलाङपाटी पुग्दा कुहिरोले हामीलाई ढाकिसकेको थियो । हाम्रो यात्रा नजिकैबाट बगिरहेको त्रिशुलीमा अस्थायी पुल पार गरी पूर्वतर्फ मोडियो । वर्षायाम भएकोले पनि त्रिशुली मजैसङ्ग छङ्छङि रहेको थियो । त्यहाँबाट केही पर पुगेपछि महादेवको सानो मूर्तिसहितको पोखरी रहेछ । त्यसलाई मिनी गोसाइँकुण्ड भनिँदो रहेछ । यो ठाउँ गोसाइँकुण्ड पुग्न नसक्नेका लागि त्यहीँ नुहाएर मनको सान्त्वना लिने ठाउँ रहेछ । गोसाइँकुण्ड मेला भर्ने विषेश समय भएर होला, होटलमा खाना बस्नको लागि केहि महङ्गै रहेको पाइयो ।

चिया नै खाउन त भन्दा पनि एक सय रुपैया । यो अलिक महङ्गो नै लाग्यो । हुन त निश्चित समयमा त्यो पनि निकुञ्जभित्र थापेको पर्थु र झ्याउली सहितको पसल भएर पनि होला !
भदौ महिनाको बिचोबिच भएर पनि न झरी न बादल, न जाडो, न त जुका कुनै डर र पीडा ब्यहोर्न परेन । गोसाइकुण्डको यात्रालाई तन्काउने क्रममा १०ः३० मा देउराली पुगेका थियौं जुन समुद्र सतहबाट २६५० मिटर उचाइमा अवस्थित थियो । थकाइ र उकालीको स्याँस्या र फ्याँफ्याँले लखतरान थियौं । विश्राम पछि साथमा लगेका ड्राइफुडहरू झिक्यौं । गुलीया र चाँडो तागत दिने चकलेटहरुले बेला बेलामा मर्न लागेको पललाई बढाई दिन्थ्यो । चिसो पानीका साथ भोक, तिर्खा र थकाइ सबै मेट्यौं । उकालो लाग्न शुरु गरेपछि आर्मी क्याम्पहरु र स्वास्थ्य शिविरहरु देखिन थाले । तीर्थयात्रीलाई आइपर्ने समस्या र सावधानीका उपाय अपनाउन सुझाव दिँदै केही जवान भने तातोपानी खान आग्रह गर्दै थिए, कोही प्रेसर जाँच्दै थिए । देउरालीको केहिबेरको बसाई र दृश्यावलोकनपछि हाम्रो यात्रा निरन्तर अगाडी वढिरह्यो । समय १ः०० बजेको हुँदो हो, हामी ढिम्सा पुग्न सफल भयौं । त्यहाँको एउटा होटलमा खाना भनियो । तयारै रैछ, खाइयोपनि । केहि बेर थकाई मारेर पुनः यात्रालाई निरन्तरता दिइयो । अलिक अगाडी के वढिएको थियो, फापर तथा कोदोको ढिंडो यहाँ पाइन्छ लेखेको होटल देख्दा बिस्मात लाग्यो । बिस्मातबाट निरुत्साहित बनिएन । फर्कंदा यहिं आएर फापरको ढिंडो खाने अठोट गरियोे । चन्दनवारीलाई स्थानीय भाषामा सिङ्गोम्पा पनि भनिँदो रहेछ । त्यो चिज उत्पादनको लागि प्रसिद्ध रहेछ । त्यहाँ त्यस्तै पाँच सात वटा राम्रा होटलहरू पनि देखियो । वातावरण मन छुने खालको थियो । केही पर डाँडामाथि निकुञ्ज सुरक्षार्थ आर्मी पोष्ट पनि रहेछ । चन्दनवारी समुद्र सतहबाट ३३३० मिटर उचाइमा अवस्थित रहेछ । सफा टकटकाउँदो सेता कपडाजस्ता बादलका स–साना टुक्रा कतै पर चुलिँदो पहाडसँगै अंकमाल गरिरहेका जस्ता देखिन्थे । पानी नपरेकोले हल्का कुहिरोसंग मधुरो घामको रंग उस्तै प्राकृतिक थियो । खुला आकाशमुनि सुर्य किरणले दिएको न्यानो तापमा आनन्दको अनुभूति भइरहेको थियो ।


निःस्वार्थ भावमा लीन भएपछि उकाली र ओरालीका अप्ठ्याराहरू पनि हवाइजहाजका यात्राभन्दा सरल र सहज लाग्दो रहेछ । मानसिक थकाई मात्र जीवनको सबैभन्दा ठूलो थकाइ रहेछ भन्ने लाग्यो । केही उकालो उक्लिएपछि अलि सजिलो बाटोले मोड लियो । करिब आधा घण्टाको हिँडाइ तेर्सो भएकोले थकाइमा केही राहत मिल्यो । तेर्सो बाटो सकिएलगतै चोलांगपाटी (३६५४ मि उचाई) स्थित एउटा होटल पुगियो । बुद्धको मन्दिर र गोसाइकुण्डमा होटहरु प्याक । प्लाष्टिक र त्रिपालले बेरिएका थर्पु समेत प्याक भइरहेको अवस्थामा भाग्यवश एउटा ढुंगामाटोले बनेको पूरानो घरजस्तो होटलको बुईंगलमा सुत्नको लागि ठाउँ पाइने देखियो र कुरा गरियो । प्रति व्यक्ति १ हजारमा सुत्न र खान पाइने गरी कुरा मिल्यो । खाना खान मन छैन र खान्न भन्दापनि पैसाचाहिं उतिनै बुझाउनुपर्ने शर्तमा ।
भोलीपल्ट विहान सबेरै लौरीविनायकको त्यो उकालो यात्रा तय गरियो । ७०–७५ वर्षमा वृद्धवृद्धाहरुलाई पनि यात्राको क्रममा फाट्टफुट्ट भेटिने गरिन्थ्योे । त्यस हिसाबले सोचेजति कठिन नलागेपनि उचाई बढ्दै जाने क्रममा अक्सिजनको कमीले पहिलेको ऊर्जामा केही शिथिलताको अनुभव चाही हुन थाल्यो । हिँडाइलाई केही सुस्त बनायौं । २–४ पाइलाअघि सर्दै, बस्दै जाने क्रममा हामीले ७ बजे मात्र ३९१० मिटर उचाईमा अवस्थित लौरी विनायकको उकालो छिचोल्यौं । बुद्ध मन्दिर पुगेपछि उकालो लगभग सकिंदो रहेछ । त्यहाँबाट फलामको रेलिङ्ग समात्दै अगाडी वढ्न थाल्यौ । अगाडी वढ्ने क्रममा करिब १ देखि डेढ घण्टाको बाटो लाईन नलागरै पनि लाईन बसेको महसुश हुँदो रैछ । लाईनकै इसारामा हामी ४३८० मिटर उचाईमा अवस्थित गोसाइँकुण्डमा पुग्यौं ।


हिन्दुहरू, आराध्यदेव शिव विषले निश्लोट भएपछि जमिनमा गाडेको त्रिशुलबाट गोसाँकुण्ड सिर्जना गरेको विश्वास गर्दा रहेछन् । त्रिशुली नदीको श्रोत पनि यही कुण्ड रहेछ । राष्ट्रिय विभूति काजी अमरसिंह थापाले अंग्रेजसँग भएको सुगौली सन्धिको चोट सहन नसकी प्रायश्चितका लागि यही ठाउँमा तपस्या गर्दागर्दै आफूलाई ब्रह्मलिन गराएका रहेछन् ।
गोसाईकुण्डमा जम्मा १०८ कुण्ड रहेछन् । तीमध्ये गोसाईकुण्डलाई विशेष महत्वका साथ हेरिंदो रहेछ । भैरव कुण्डको दर्शन गर्ने कुरालाई त्यति प्रभावकारी मानिंदो रहेनछ । सरस्वती कुण्ड गोसाईकुण्ड भन्दा १ घण्टाको अर्को यात्राभित्र पर्ने रहेछ । त्यहाको लोकेशन ख्याल गरियो तर जान सकिएन । गोसाइँकुण्ड पदमार्गबाट मनास्लु, गणेश, लाङटाङग हिमाल लगायतका थुप्रै हिउँ चुचुराहरू देख्न सकिने रहेछ । कतिपय पैदल यात्रीहरू सुन्दरीजल, हेलम्बुबाट पनि गोसाईकुण्ड दर्शन गर्न पुुग्दा रहेछन् । फर्कंदा भने ट्रेकिङका यात्रीहरू हेलम्बु भएर जान रुचाउँदा रहेछन् । हेलम्बु प्राकृतिक सौन्दर्य, सांस्कृतिक अध्ययन र जैविक विविधताको अर्को क्षेत्र हो, जहाँबाट हिमाल र हिमाली जनजीवन नियाल्न सकिने भएकोले पनि पैदलयात्रीको लागि रोजाइको ठाँउ हुन सक्छ । गोसाईकुण्ड धार्मिक र पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण छ ।

सम्बन्धित समाचार