बागमतीमुख्य समाचारसमाचार

टाेपाटार पहिराे अपडेट- अझै दुई जना बेपत्ता

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्बुको टोपाटारमा विहिवार राति गएको पहिरामा परी बेपत्ता भएका दुई जनाको खोजि भै रहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
पहिरोमा परी टोपाटारका कृष्ण बहादुर मगर– ६०, उनको श्रीमती देवीमाया मगर–५०, हरिलाल श्रेष्ठ– ४९ र सिता थामीको छोरा १५ महिनाको बालक प्रिन्स थामी बेपत्ता भएका थिए । शुक्रवार देवीमाया मगर र प्रिन्स थामीको शव भेटिएको भएपनि कृष्ण बहादुर मगर र हरिलाल श्रेष्ठ अझै बेपत्ता रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
टोपाटार क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । सडक तथा गोरेटोबाटोमा समेत पहिरोले क्षेति पु¥याएकोले आवागमनमा समेत समस्या भएकोले बेपत्ताको खोजिकार्य प्रभावित बनेको छ– प्रहरी नायव उपरीक्षक खड्काले भन्नु भयो । बर्षा भै रहेपनि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलिले बेपत्ता दुई जनाको खोजि जारी राखेको प्रहरीले जनाएको छ ।
पहिरो प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, सुरक्षा निकायका प्रमुखहरु, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायत रेडक्रशका पदाधिकारीहरुले स्थलगत अवलोक तथा राहत वितरण गरेका थिए ।
पहिरोले स्थानीय कृष्णबहादुर मगरको घर पुरै बगाएको तथा हरिलाल श्रेष्ठ, यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घरमा समेत पूर्ण रुपमा क्षति पुगेको वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो । पहिरोमा परी यज्ञ थामी, उनको श्रीमती धनकुमारी थामी तथा बुहारी सिता थामी घाईते भएको वडा अध्यक्ष शेर्पाले बताउनु भयो ।
घाईते तीनै जनालाई उपचारको लागि काठमाडौँको केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाईते यज्ञ थामी र उनको श्रीमती धनकुमारी थामीलाई शुक्रवार विहानै हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो भने बुहारी सिता थामीलाई स्थानीय अस्पतालमा प्राथामिक उपचार पछि एम्बुलेन्सबाट थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
केएमसीमा उपचाररत विरामीको अवस्थाबारे जानकारी लिन पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, संघिय सांसद गंगा कार्की, प्रदेश सांसद कुन्दनराज काफ्ले, भरत केसी लगायत बिभिन्न दलका नेताहरु पुगेका थिए ।
विहिवार वडा नम्बर ८ सल्लेको ठाडोखोलामा बाढी आएर पहिरो गएको थियो । पहिरोले वडा नम्बर ८ सल्लेको ३०÷३२ घर उच्च जोखिममा रहेको स्थानीय समाजसेवी कुमार तमाङले बताए । सल्लेबाट सुरु भएको पहिरोलेनै टोपाटारको घर बगाएको तमाङको भनाई छ । यसै बीच संघिय सांसद इश्वरी रिजालले दोलखाको गौरीशङ्कर गाँउपालिकामा पहिरोमा परी मृत्यु भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको निशुल्क उपचार र घरवार विहिनलाई राहत तथा पुर्नस्थापनाको व्यवस्था गर्न सरकारसंग माग गर्नु भएको छ ।
पहिरोमा परी घाईते भएकाहरुको उपचारमा सहयोग गर्न दोलखाली पत्रकार समाजले राजधानिमा रहेका दोलखाली पत्रकारहरुबाट ३९ हजार एक सय रुपैया सङ्कलन गरेको पत्रकार मकर श्रेष्ठले बताए । त्यसैगरी एसएस फाउण्डेशनका संरक्षक समाजसेवी सोभित उप्रेतीले पहिरोमा परी घाईते भएकाहरुलाई आर्थिक सहयोग गरेको एसएस फाउण्डेशन दोलखाका संयोजक नवराज खड्काले बताए ।

सम्बन्धित समाचार