दोलखा/दोलखाको शैलुङ गाँउपालिका– ८ भैसेका तेजबहादुर कार्कीले आलु खेती गर्न लागेको निक्कै समय पछि पहिलो पटक ठूलो आलु फलाएर पुरस्कार पाएका छन् । दोलखाको शैलुङ गाँउपालिकाले वडा नम्बर ८ को संयोजनमा सोमवार आयोजना गरेको प्रथम आलु प्रर्दशनी कार्यक्रममा तेजबहादुरले फलाएको आलु प्रथम भएको थियो ।
आलु बेचेरमात्र पैसा पाएको थिए, पहिलो पटक ठूलो आलु फलाएर ४५ सय नगद सहित प्रमाणपत्रनै पाए – तेजबहादुरले भने । उनले २६ सय ७६ ग्रामको एउटा आलु फलाएर प्रथम पुरस्कार पाएका थिए । यो पुरस्कारले आफु थप उत्साहित बनेको तेजबहादुरको भनाई छ ।
२५ सय ७४ ग्रामको एउटा आलु फलाएर द्धितिय भएका शैलुङ ८ ढाडेका भोला कोईराला पनि यो प्रतियोगीताले आफुलाई आलु खेती गर्न थप उत्साहित बनाएको बताउछन् । स्थानीय सरकारले किसानलाई प्रोत्साहित गर्न यस्तै रचनात्मक कार्यक्रम र सहयोगी कार्यक्रम गर्नुपर्ने भोलाको भनाई छ ।
प्रतियोगीतामा शैलुङ ८ पैतीका टिका बहादुर कार्कीले फलाएको २५ सय ६२ ग्रामको आलु तृतिय र शैलुङ ८ तमाखुबारीका भीमबहादुर वस्नेतले फलाएको २५ सय ३० ग्रामको आलु सान्त्वना भएको वडा नम्बर ८ का कर्मचारी दिपेश श्रेष्ठले बताए । प्रतियोगीतामा द्धितिय हुनेलाई नगद तीन हजार र प्रमाणपत्र, तृतिय हुनेलाई नगद एक हजार पाँच सय र प्रमाणपत्र तथा सान्त्वना हुनेलाई नगद एक हजार र प्रमाणपत्र दिईएको वडाका कर्मचारी दिपेशले बताए ।
शैलुङबाट जाने आलु मुडेको आलुको नामले देशभरीनै प्रसिद्ध रहेकोले त्यसलाई शैलुङकै ब्राण्ड बनाउन र आलु उत्पादन गर्ने किसानलाई थप प्रोत्साहित गर्न पुरस्कार सहितको आलु प्रर्दशनी कार्यक्रम आयोजना गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर तमाङले बताए । आलु प्रर्दशनी कार्यक्रममा शैलुङ वडा नम्बर ८ का २७ जना आलु उत्पादक किसानको सहभागिता रहेको र प्रर्दशनिमा राखिएका सबै आलुहरु उत्कृष्ठ रहेको वडा अध्यक्ष धनबहादुर तमाङले बताए ।
पछिल्ला बर्षहरुमा शैलुङ ८ को बिभिन्न टोलका किसानहरु ले व्यवसायीक रुपमा ठूलो परिमाणमा आलु उत्पादन गर्दै आएका छन् । वडा नम्बर ८ का किसानले बार्षिक झण्डै पाँच हजार मेट्रिक टन आलु उत्पादन गर्दै आएको स्थानीय किसानहरुको भनाई छ । शैलुङमा उत्पादन हुने आलुको मुख्य बजार राजधानि काठमाडौ हो । त्यसको अलवा दोलखा सदरमुकाम चरिकोट लगायत जिल्लाका अन्य बजार र छिमेकी जिल्लाहरुमा समेत शैलुङको आलु पुग्ने गरेको स्थानीय किसानहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस्