दोलखा/बाँस तथा चोयाका बिभिन्न सामग्री बुन्ने परम्परागत पेशा भएका लोपोन्मुख सुरेल जातिका मानिसहरु अहिले कृषि पेशामा आर्कसित भएका छन् । घर आगनमै सडकको पहँुच विस्तार भएपछि आफुहरु कृषि पेशामा आर्कसित भएको सुरेल समुदायका अगुवा हर्क बहादुर सुरेल बताउनु हुन्छ ।
दोलखाको गौरीशङ्कर– ५ सुरी मुख्य थलो रहेको सुरेल समुदायका मानिसले साग, लसुन, बन्दा, प्याज, आलु, काउली, खुर्सानी लगायतका तरकारी खेती सुरु गरेको भूमेथान खाद्यान्न उत्पादन कृषि समूहका अध्यक्ष यम कुमारी सुरेलले बताउनु भयो ।
झण्डै ६० घरधुरीमा जम्मा दुई सय ३० जनसंख्या रहेको सुरेल समुदायको अधिकांश परिवार कृषि पेशामा लागेका छन् । २५ घर परिवार अहिले भूमेथान खाद्यान्न उत्पादन कृषि समूहमा आवद्ध भएर बिभिन्न प्रकारका तरकारी खेती गरिरहेको अध्यक्ष यम कुमारी सुरेलले बताउनु भयो । सुरेल समुदायका मानिसहरु भर्खर– भर्खर व्यवसायीक कृषि खेतीमा लागेका छन्, अहिले आलु लगायतका तरकारी खेतीबाट बालबालिका पढाउन र घरको सामान्य गर्जो टार्न सक्ने आम्दानी गर्दैछन्– यम कुमारी सरेलले भन्नु भयो ।
घर आँगनमै सडक पुगेपछि उत्पादीत तरकारी बिक्रिको लागि बजारसम्म पु¥याउन सहज भएको छ, अब यहि पेशालाई थप विस्तार गर्ने सोचमा अधिकांश सुरेल समुदाय पुगेका छन्– स्थानीय अगुवा हर्र्क बहादुर सुरेलले भन्नु भयो । तर आफु लगायत केही जेष्ठ सुरेलले भने परम्परागत रुपमा गर्दै आएको बाँस तथा निगालोबाट बनाईने नाङ्लो, चाल्नो, डोको, फुङ्लो बुन्ने कामलाई समेत निरन्तरता दिई रहेको हर्क बहादुर सुरेलको भनाई छ ।
सुरेल समुदायले व्यवसायीक तरकारी खेतीसंगै गहुँ, मकै, कोदो, जौ, फाँपर लगायतका रैथाने बाली समेत लगाई रहेको स्थानीय अगुवा तीर्थ बहादुर सुरेलले बताउनु भयो । सुरेलहरुको माग अनुसार कृषि व्यवसायको लागि वडा तथा गाँउपालिकाले विउ विजन लगायतका सहयोग समेत गरिरहेको तीर्थ बहादुर सुरेलको भनाई छ । गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरीका वडा अध्यक्ष सुनदर खड्का वडाको गौरवको रुपमा रहेका लोपोन्मुख सुरेल समुदायको संरक्षणको लागि वडाले कृषि, शिक्षा, स्वास्थ्य लगायतमा आवश्यकता अनुसार सहयोग गर्दै आएको बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्