अर्थ र ब्यापारकृषि र सहकारीबागमतीमुख्य समाचारसमाचार

आलुको लागि पानी कुर्दै

दोलखा/दोलखाको शैलुङ स्थित झोर र मनगाँउका किसानहरु यतिबेला आकाशे पानीको प्रतिक्षामा दिन कटाउने गर्छन । आलु खेतीको लागि उर्वर शैलुङ गाँउपालिका वडा नम्बर ८ को झोर र मनगाँउका किसान पानीको अभावमा आलु बिग्रने हो की भन्ने चिन्ताले पिरोलिएका छन् ।
आलुको बोट भर्खर टुसाउदै छ, माघ देखिनै पानी चाहिने जमिन फागुन सकिन लाग्दा समेत सुख्खा बनेकोले आलु उत्पादन घट्ने चिन्ताले पिरोलिएका छौ – शैलुङको मनगाँउका किसान सविन श्रेष्ठले भने ।
अघिल्ला बर्षहरुमा पुष देखिनै हिमपात पनि भएको थियो र पानी पनि परेको थियो, तर यो बर्ष न हिमपात भयो, न पानी नै प¥यो सविनले भने – पानी र हिमपात नभएपछि जमिन सुख्खा बनेकोले आलु बिग्रने सम्भावना धेरै छ । चैत्रको पहिलो हप्तासम्म जमिन भिज्नेगरी पानी प¥यो भने आलु उत्पादन राम्रै होला, नभए यो बर्ष उत्पादन घट्ने सविनको भनाई छ ।
शैलुङ्को झोर र मनगाँउबाटमात्र बर्षमा चार करोड भन्दा बढीको आलु काठमाडौँ लगायतको बजारमा निर्यात हुने गरेको छ । समयमै पानी परेन भने यो बर्ष आलु उत्पादन आधानै कम हुनसक्ने सविनको चिन्ता छ ।
शैलुङको झोर र मनगाँउका झण्डै दुई सय किसान व्यवसायीक आलु खेतीमा सक्रिय रहेकोमा अधिकांश किसानको आलुबारी पारीलो ठाँउमा रहेकोले समयमै पानी नपर्दा उत्पादन घट्ने चिन्ता देखिएको झोरका किसान दिपेश श्रेष्ठ बताउछन् । झोरको केही किसानहरुको आलुबारी सेप्जीलो ठाँउमा भएकोले पानी नपर्दा पनि खासै समस्या हुदैन तर अधिकांशको बारी पारीलो ठाँउमा भएकाले चैत्र पहिलो हप्ता सम्मपनि पानी नपरे उत्पादन घट्ने दिपेशको भनाई छ ।
आलु लगायत बिभिन्न तरकारी खेतीमा सक्रिय झोर र मनगाँउका झण्डै दुई सय घरधुरीका किसानहरु आलु उत्पादनबाट मात्रै बर्षमा डेढ देखि १०/१२ लाखसम्म कमाउने गर्छन । आलुको सिजन सकिएपछि झोर र मनगाँउमा काउली र बन्दाको खेती समेत राम्रो हुने स्थानीयको भनाई छ ।
झोरका स्थानीय लालबहादुर श्रेष्ठ अहिले सबै किसानको बारीमा आलुको विरुवा राम्रोसंग टुसाएकोले चैत्र पहिलो हप्तासम्म पानी प¥यो भने यो बर्ष आलु उत्पादन राम्रो हुने बताउछन् । असिना प¥यो भने आलु बिग्रने चिन्ता हुन्छ तर जमिन भिज्ने गरी पानी प¥यो भने हिमपात नभएपनि आलु राम्रो हुन्छ – लालबहादुरले भने ।
झोर र मनगाँउका किसानहरु आलु प्रतिधार्नी ८० देखि एक सय २० रुपैयासम्ममा बिक्रि गर्ने गर्छन् । बिउको आलुभने एक सय ४० रुपैयासम्ममा बिक्रि हुने गरेको सविनको भनाई छ । आलुको सिजनमा काठमाडौँबाटै व्यापारीहरु झोर र मनगाँउका किसानको घर– घरमै पुग्ने भएकोले बजारको भने समस्या नभएको स्थानीय बताउछन् ।

सम्बन्धित समाचार