सामाजिक विकासका क्षेत्रमा अब्बल गायत्री र पार्वती गाउँपालिका उपाध्यक्षकाे उम्मेदवार

चरिकाेट, बैशाख ३० हुने निर्वाचन अहिले दलहरुलाई पर्व जत्तिकै लागिरहेको छ ।

गठबन्धनले महिलाहरुलाई उम्मेदवार बनाउन नसकेपनि दोलखामा एमालेले सबै पालिकाहरुमा महिलाको उम्मेदवारी दिएको छ ।

मेलुङ गाउँपालिकामा पत्रकारिता र सामुदायिक वनको क्षेत्रमा क्रियाशील गायत्री आचार्य उपाध्यक्ष पदको उम्मेदवार छिन्।

पत्रकारिता क्षेत्रमा क्रियाशील आचार्य दोलखा सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक सामुदायिक एफ एममा लामो समय कार्यक्रम प्रमुखको भूमिकामा रहिन्।

सरोकारवालासँग समन्वय, सहकार्यमा अत्यन्तै सिपालु उनी दोलखा र आसपासका क्षेत्रमा पत्रकारिताकै माध्यमबाट परिचित छिन् ।

सञ्चारिका समूह वागमती प्रदेश समिति सदस्य, क्रियाशील पत्रकार महिला समूह दोलखाको सल्लाहकार र पत्रकार महासंघको सदस्य भएर पत्रकारका हक अधिकारका लागि पनि काम गरेको अनुभव उनीसँग छ।

साथै उनीसँग सामुदायिक वनको क्षेत्रमा पनि ज्ञान रहेको छ । २०५२ सालमा सामुदायिक वन उपभोक्ता महासंघमा कर्मचारीको रुपमा प्रवेश गरी १२ वर्ष कर्मचारीको अनुभव पछि २०६५ सालदेखि महासंघमा जिल्ला कार्यसमितिको सदस्य भएर सक्रिय रहिन्।

विगत २ वर्षदेखि हालसम्म सामुदायिक वन उपभोक्ता महासंघ दोलखाको महासचिवको भूमिका निर्वाह गरिरहेकी छिन्।

उनको समन्वयकारी स्वभाव र विकासको अनुभवले अब गाउँपालिकामा पक्कै सिर्जनात्मक कामहरु गर्नसक्ने सबैले ठम्याएका छन्।

मेलुङ गाउँपालिका एमालेले निर्वाचन जित्ने पक्कापक्की भएसँगै उनलाई उपाध्यक्षको रुपमा सबैले हेरिसकेका छन्।

त्यस्तै शैलुङ गाउँपालिकामा पार्वती थापा कार्की उपाध्यक्ष पदमा उम्मेदवार छिन् । यो पालिका पनि नेकपा एमालेले जित्ने पक्का भएको क्षेत्र हो । पार्वती स्वास्थ्य, शिक्षा र उद्यमको क्षेत्रमा काम गरेकी अनुभवी अभियन्ता हुन्।

उनको यो अभियान अहिलेको चुनावी नारा पनि हो । उनले महिलाको स्वास्थ्यलाई पहिलो प्राथकितामा राखेर काम गर्ने उद्घोष गरेकी छिन् ।

राजनीतिसँगै आफ्नो अध्ययनलाई समेत निरन्तरता दिँदै उनले आएससी फरेष्टको अध्ययन पूरा गरी स्नातकसम्मको अध्ययन गरेकी छिन् ।

हाल उनी जनजाति कल्याण आश्रम आमाको माया छात्रवास रामकोट दोलखा, महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल दोलखा र विभिन्न सहकारी साथै अन्य सामाजिक क्षेत्रमा क्रियाशील छिन् ।

सामाजिक विकासका क्षेत्रको लामो अनुभव बटुलेकी पार्वतीको अनुभव र क्षमतालाई शैलुङ गाउँपालिकको विकासका लागि सदुपयोग गर्न नेकपा एमालेले उपाध्यक्ष पदमा उम्मेदवार बनाएको हो ।

सम्बन्धित समाचार