काठमाडौँ/नेपाल र चीन बिच गम्भीर सीमा समस्या नरहेको अध्ययनमा देखिएको छ। नेपाल–चाइना मिडिया फोरमले नेपाल–चीन सीमा सन्धि सम्पन्न भएको ६० वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको अध्ययन रिपोर्टले यस्तो निष्कर्ष निकालेको हो।
सो प्रतिवेदन अनुसार विगतमा नेपाल र चीन बिच उत्पन्न भएका सीमा विवाद र त्यसको समाधानका दृष्टान्त समेत सो रिपोर्टमा समेटिएको छ। नेपाल–चीन सीमा विवाद सम्बन्धमा गरिएको यो अध्ययनको खास दुई वटा कारणहरू रहेको नेपाल –चाइना मिडिया फोरमले उल्लेख गरेको छ । जसमा भनिएको छ– एक, बितेका ६ दशकमा नेपाल र चीन बिच सीमा सम्बन्धी के कस्ता समस्याहरु देखा परे र त्यसलाई कुन विधि मार्फत कसरी समाधान गरियो भन्ने आम चासोलाई पुरा गर्नु दुई मुलुकबिचको सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाको क्षेत्रगत विषय हुनाले । दोस्रो हो, नेपालमा सरकार परिवर्तन भए सँगै वर्तमान सरकारले चीनसँगको सीमामा रहेका समस्याबारे अध्ययन गर्ने भनी गरेको घोषणा र सो सम्बन्धमा नेपालको सार्वभौम संसद्मा नै प्रमुख प्रतिपक्षी दलका नेताले त्यो विषयमा गरेको आपत्तिले उब्जाएको अस्पष्टतालाई अन्त्य गर्न तथ्यगत अध्ययनको आवश्यकता देखिनु ।
त्यसो त यो अध्ययन जारी नै रहेको बेला नेपाल सरकारले चीनसँग सीमा विवाद रहेको भन्ने विषयमा अध्ययन गर्न गठन गरेको समितिले सरकार समक्ष आफ्नो प्रतिवेदन बुझाई सकेको छ । तर, सो प्रतिवेदन सरकारले सार्वजनिक गरी नसकेको अवस्थामा त्यसमा के कस्तो तथ्य र त्यसको आधारमा निष्कर्ष निकालिएको छ भन्ने विषयमा थप चासो बढेको छ । त्यसैले नेपाल–चीन मिडिया फोरमले गरेको यो स्वतन्त्र अध्ययनका क्रममा फेला परेका तथ्यहरू आम नेपाली र बिशेषगरि नेपाल–चीन सीमा सम्बन्धका विषयमा अध्ययन गर्ने अध्येता, पत्रकार र सबै सरोकारवालाहरूका लागी महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्छ भन्ने हाम्रो विश्वास छ ।
छोटो समय र सीमित स्रोतमा गरिएको यो अध्ययनका केहिसीमा छन् । सामान्यतया यस्ता विषयमा गरिने बितृत अध्ययनमा जस्तो यसमा सबै विधि र प्रक्रिया पुरा गर्न सकिएको छैन । तथापि, विषयवस्तुको गहनता र संवेदनशीलता प्रति भने अध्ययनको क्रममा पूर्ण रूपमा सचेतता अपनाइएको छ । त्यसैले यो अध्ययनलाई वस्तुनिष्ठ र तथ्यपरक बनाउन आवश्यक सबै मापदण्ड यस क्रममा पुरा गरिएको छ ।
विगतमा सगरमाथाको स्वामित्व देखी सीमाका विभिन्न भागमा देखिएका अन्य समस्याको निराकरण कसरी सहजपुरमा भएको थियो भन्ने कुरालाई यो अध्ययनमा महत्त्वका साथ उल्लेख गरिएको छ । चरन देखि खर्कको उपभोग र त्यसको स्वामित्व निर्धारणका लागि गरिएका अन्य सम्झौता र स्थानीय रूपमा चली आएका व्यवहारिक सम्बन्धको समेत यसमा चर्चा गरिएको छ ।
नेपाल र चीन बिचको सीमाको मात्र कुरा गर्दा यी दुई मुलुकबिचको ऐतिहासिक सम्बन्धको चर्चा नगर्ने हो भने त्यस्तो अध्ययन अपुरो हुन्छ । त्यसैले नेपाल र चीन बिच ऐतिहासिक काल देखि नै के कस्तो सम्बन्ध रही आएको छ भन्ने विषयलाई समेत यो अध्ययनको एक महत्त्वपूर्ण अङ्ग बनाइएको छ । सो क्रममा नेपाल र चीन बिचको सम्बन्धमा आएका आरोह–अवरोहलाई ऐतिहासिक तथ्यमा आधारित पूर्व साहित्यहरूले के कसरी प्रस्तुत गरेका छन् भन्ने कुरालाई आधार बनाएर यहाँ त्यसको ऐतिहासिकतालाई पुनर्स्थापित गर्ने प्रयास गरिएको छ । नेपाल र चीन के र कति कारणले सुख–दुखका असल छिमेकी हुन् भन्ने तथ्य समेत यहाँ प्रस्तुत छ । त्यसका लागी नेपाल–चीन आर्थिक सम्बन्धको चर्चा विशेष रूपले यो अध्ययनको दोस्रो भागमा गरिएको छ ।
सन् २०१५ मा नेपालमा आएको महाभूकम्प पछिको पुनर्निर्माणमा चीनले दिएको साथ, कोरोना महामारीबाट नेपाललाई बाहिर निकाल्न र सङ्कटमा परेका बेला एक जिम्मेवार छिमेकीको नाताले चीनले गरेको सहयोगबारे पनि तथ्यगत प्रस्तुति यसमा समेटिएको छ । त्यसैगरी, चीनले निकै महत्त्वका साथ अघि बढाएको ’रोड एण्ड बेल्ट इनिसिएटिभ’ (बीआरआई)बाट नेपालले लिन सक्ने लाभ र त्यसका लागी अवलम्बन गर्नुपर्ने मार्गका बारेमा समेत यो प्रतिवेदनमा उल्लेख छ ।
यस क्रममा विवाद रहेको भनी प्रचारित क्षेत्रहरूको स्थलगत भ्रमण गरी स्थानीय बासिन्दाको भनाई सङ्कलन गरिएको फोरमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर, यो अध्ययनको उद्देश्य सीमा समस्या छ वा छैन भन्ने कुरालाई तथ्यहरूको आधारमा विश्लेषण गर्नु रहेकोले अन्य विषय वा सन्दर्भमा प्रवेश नगरिएको प्रतिवेदनमा जनाइएको छ ।
यो अध्ययनमा केही महत्त्वपूर्ण र ऐतिहासिक दस्ताबेजहरूलाई अनुसूची खण्डमा राखिएको छ । जसले नेपाल–चीन सम्बन्धलाई थप गहन रूपले अध्ययन गर्न चाहनेहरूलाई एक महत्त्वपूर्ण स्रोत सामग्रीका रूपमा काम गर्न सक्ने नेपाल–चाइना मिडिया फोरमले विश्वास व्यक्त गरेको छ ।
बि.स. २०१६ चैत्र ८ गते‘नेपाल–चीन सिमाना सम्बन्धी सम्झौता हुँदा त्यसले राखेका प्रमुख तीन उद्देश्यहरू यी मुलुकको सीमारेखामा रही आएका केही अस्पष्टतालाई निरूपण गर्ने, सम्पूर्ण सिमानाको वैज्ञानिक सीमा रेखाङ्कन र औपचारिक सीमा स्तम्भ खडा गर्ने तथा दुवै देशबिचको मैत्री सम्बन्धलाई सङ्गठित र अभिवृद्धि गराउने लक्ष यसबिच पुरा भए की भएनन् भन्ने विषयलाई समेत गहन रूपमा अध्ययनको क्रममा विश्लेषण गरिएको छ ।
समग्रमा नेपाल–चाइना मिडिया फोरमले गरेको संछिप्त अध्ययनको आधारमा तयार भएको यो अनुसन्धानात्मक सामग्रीले हाल नेपाल र ची बीच रहेको सिमा समस्याको गहनता के कति हो भन्ने कुरालाई स्पष्ट पारेको छ । नेपालको चीनसँग छ भनिएको सिमा समस्याको बिषयमा पछिल्ला दिनहरुमा कतिपय स्वदेशी तथा बिदेशी संचारमाध्यम र अन्य सामाजिक संजाल एवम् इन्टरनेटका अन्य प्लेटफर्ममा सम्प्रेषित समाचारको सत्यताबारे बुझ्न, त्यहाँ उल्लेखित तथ्यहरुको परिक्षण गर्न र आफ्नो धारणा तथा बुझाइलाई तथ्यको आधारमा निर्माण वा संसोधन गर्न १०९ पृष्ठको यो रिपोर्ट उपयोगी अध्ययन सामग्री बन्नसक्छ।
प्रतिक्रिया दिनुहोस्