दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको गौरीशङ्कर बालगृहलाई सर्लाहि नेत्रगञ्ज – ३ को अशल प्रयास सेवा समाज नेपाल र दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ को अर्पण फर्निचर उद्योगले संयुक्त रुपमा केहि खाद्यान्न लगायतका सामग्रीहरु प्रदान गरेको छ ।
कोरोना संक्रमणका कारण बालगृहमा रहेका बालकहरुलाई दैनिक गुजारामा समेत समस्या हुनसक्ने अवस्था भएपछि आफुहरुले प्रभु यशुख्रिष्टको नाममा चढाएको भेटिको रकमबाट खाद्यान्न लगायतका सामग्रीहरु प्रदान गरेको अर्पण फर्निचर उद्योगका सालिम तमाङले बताउनु भयो ।
अर्पण फर्निचर उद्योग स्थापना भएको एक बर्ष पुगेको अवसर समेत पारेर बालगृहलाई चामल १५ बोरा, दाल २० केजी, तेल २ कार्टुन, चाउचाउ ३ कार्टुन, मन्जन र ब्रस ६० वटा, साबुन १ कार्टुन र मिठाईहरु समेत गरी ४० हजार भन्दा बढीको अत्यावश्यक सामग्री उपलब्ध गराईएको सालिमले बताउनु भयो ।
उक्त सामग्री नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति दोलखाका सभापति एवं गौरीशङ्कर बालगृहका अध्यक्ष रामप्रसाद सापकोटालाई अर्पण फर्निचर उद्योगका सञ्चालक चन्द्रबहादुर तमाङले हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष सापकोटाले बालगृहलाई नेपाल बाल सङ्गठनले उपलब्ध गराउने रकममात्र प्रयाप्त नहुने भएकोले बिभिन्न दाताहरुको सहयोग महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा पत्रकार गोकर्ण भण्डारी, अर्पण फर्निचर उद्योगका मार्था तमाङ, अर्पण तमाङ लगायतको सहभागिता रहेको थियो । बालगृहमा हाल दोलखा लगायत देशको बिभिन्न जिल्लाबाट आएका २९ जना बालक रहेको गौरीशङ्कर बालगृहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्