बागमतीमुख्य समाचारस्वास्थ्य

कोभिड अस्पतालका स्वास्थ्यकर्मी माथि हातपात

दोलखा/शनिवार राति मादक पर्दाथ सेवन गरेका युवाहरुले दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा रहेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि हातपात गरेका छन् ।
शनिवार राति १२ वजे तिर स्थानिय केहि युवाहरुले मदिरा सेवन गरी अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारलाई हातपात गरेको वडा नम्वर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठले बताउनु भयो । गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा शनिवार राति मदिरा सेवन गरेका युवाहरु प्रवेश गरी हुलहुज्जत सहित अन्य विरामीलाई पनि उपचार गर्नुपर्छ भन्दै डाक्टर माथि हातपात भएको गाउँपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताउनु भयो ।
अस्पतालमा कार्यरत डाक्टर कार्कीले उनीहरुलाई कोरोनाका विरामी भएकोले भित्र नपस्न आग्रह गर्दै केहि समस्या भए कोरोनाका विरामी भएको ठाँउभन्दा छुट्टै ठाँउमा स्वास्थ्य परिक्षण गरिदिने भनेको तर उनीहरुले पर्खाल नाघेर भित्र प्रवेश गरी आफुमाथि हातपात गरेको बताउनु भयो । मदिरा सेवन गरेका चार जनाको समूहमा रहेको युवाहरुले आफुमाथि हातपात गरेको पनि डाक्टर कार्कीले बताउनु भयो ।
डाक्टर माथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ । प्रहरीले तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका गोपाल तिमलसिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भई रहेको र कानुन अनुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनु भयो । पीडित स्वास्थ्यकर्मीले कोरोनाका विरामीको उपचारमा खटिने क्रममा हातपात भएकोले सोहि अनुसार उजुरी दिने तयारी गरिरहेका छन् ।

सम्बन्धित समाचार